हुन् क्यारे भोटे शङ्कर बस्छन् कैलास भोटमा।
भोटेका नाउँ प्रेमले बज्यो मधेशी ओठमा।।
लुम्बिनी तराई–मधेशमै पर्छ बुद्ध हुन् मधेशी ?
बस्तछन् क्यारे भोटेका मनमा मारेर पलेटी।।
(साभार: आफ्नै ‘पर–लोकतन्त्र’ महाकाव्यबाट)
मुक्तिनाथ बौद्धका हुन् कि हिन्दूका? हलेसी किरातका हुन् कि हिन्दूका? लुम्बिनी क्षेत्र र पाशुपत क्षेत्र हिन्दूका हुन् कि बौद्धका? देवी–मन्दिरका पूजारी मगर, बज्राचार्य र कर्माचार्यहरू बौद्ध हुन् कि हिन्दू? म पनि मष्टो पूजक हुँ, मेरा कुलदेवता क्षेत्रपाल र विन्ध्यवासिनी हिन्दू हुन् कि मष्टो?
अज्ञानवश हो कि पर–प्रभाववश हो? अचेल टिकटक, फेसबुक र युटुबहरूमा मच्चिएको खलबलीले सहिष्णु नेपाली संस्कृतिमा भूकम्प मात्रै ल्याउन चाहेको बुझिन्छ।
मैले बुझेसम्म माघे संक्रान्ति र साउने संक्रान्ति हामी अधिकारी थरी अथवा तागाधारीहरूका शास्त्रीय पर्व हुँदै होइनन् तर अब यी पर्वहरू हाम्रा साझा संस्कृति भएका छन्। साउन एक गतेदेखि दक्षिणायन लाग्ने हुनाले आउँदो ६ महिनासम्म कसैको मृत्यु नहोस् भन्ने कामना गरिन्छ; माघ एक गतेपछि उत्तरायण हुने हुनाले निर्धक्कसँग भन्छौँ, मरे पनि माघदेखि असारभित्रै मरिन्छ !
माघी विशेषतः थारू जातिको महान् पर्व हो। साउने संक्रान्तिमा हामीहरू अनेक वनस्पति र ऋतुफल बटुलेर भिन्न–भिन्न दिशातिर अगुल्टो हुत्त्याउँदै लुतो फाल्थ्यौँ, बाहुन–गाउँमा आएको त्यो संस्कृति त गुरुङहरूले पठाइदिएको उपहार पो रहेछ !
जनैपूर्णिमा तागाधारीको जनैपर्व भन्ठानेको, कहाँ पाएर हुनु? रसुवा र धादिङका तामाङहरू यस पर्वलाई आफ्नै सर्वश्रेष्ठ चाड मान्दा रहेछन् !
भगवान् शिव तन्त्रशास्त्रका अधिष्ठाता अनि धादिङ र रसुवाका झाँक्री तामाङहरू तान्त्रिक ! सृष्टिकालदेखि नै भोटमा बस्दै आएका भोटे आदिवासी शिवजी बलदेवका इष्टदेव हुन्। तामाङ गाउँको सिरानमा लम्पसार परेका गोस्वामी नीलकण्ठ शिव भगवान्को थर तामाङ पनि होइन र अधिकारी पनि होइन। उसो भए के होला हँ?
गत वर्ष शिवलोक कैलास पुग्ने अवसर जुर्यो; बाहुन–क्षेत्रीका परम–आराध्य शिवको आदिभूमिमा बाहुन–क्षेत्रीको घर एउटै पनि थिएन। भगवान् शिवको एउटा नाम आर्य हो; भगवती शिवाको नाम आर्या हो। आदिवासी तिब्बतीहरू आर्य नभएर को हुन् त?
तिब्बती बालकहरूले साष्टाङ्ग दण्डवत् गर्दै कैलासको पूरा परिक्रमा गरेको दृश्यले मलाई भावुक बनायो; एकजना बालकलाई साक्षात् शिव सम्झिएर प्रणाम गरेँ तर नाक चाहिँ नापिनँ। उनी र उनका अभिभावकले मुसुक्क हाँसेर प्रणामको पैँचो तिरे।
बौद्धहरूको ‘ॐ मणिपद्मे हुं अथवा ॐ मानेपिमे हुं’ लाई मैले वेदमन्त्रभन्दा भिन्न मानेकै छैनँ, शिव–सहस्र–नाममा बुद्धका नाम बग्रेल्ती छन्। हामी गौतम बुद्धलाई विष्णुका प्रमुख दश अवतारमध्येका एक मान्दै छौँ, स्वयम्भूनाथमा पुग्दा मैले पशुपतिनाथमा पाएकै आनन्द पाएको छु।
अचेल सहिष्णु नेपाली नागरिकहरूका बोली तथा व्यवहारहरू नकारात्मक र प्रतिक्रियात्मक मात्र किन भइरहेका छन्? यो संवत्सरको नाम रौद्र हो। रौद्रावतार पशुपतिनाथले जे गरिरहेका छन्, भलो मात्रै गरिरहेका छन्, मेरो आध्यात्मिक चेतना शिवपाउमा पुगेर मौन बस्छ।
वैदिक सनातन संस्कृतिले भोक्ताब्रह्म समष्टि जीव शिव, भोग्यब्रह्म प्रकृति अर्थात् माया अनि प्रेरक ब्रह्म परब्रह्म गरी तीन प्रकारका ब्रह्मको अस्तित्व स्वीकार गर्दछ। परस्परका पूरक हुनाले यी तीन ब्रह्म तीन नभएर एक हुन्। समष्टि जीव शिव र परब्रह्म तत्त्वतः अभिन्न हुन्, अद्वितीय हुन्। प्रकृति ब्रह्म यी दुईका साझा शक्ति हुन्।
शिव अद्वितीय एवं सर्वश्रेष्ठ वैष्णव हुन् भने श्रीकृष्ण अद्वितीय एवं सर्वश्रेष्ठ शैव हुन्। प्रकृति यिनै दुई मायावीकी साझा शक्ति हुन्। यसकारण शैव, शाक्त र वैष्णव सम्प्रदायले एक–अर्कालाई पूरक र अभिन्न मान्दछन्।
अरुण सुवेदीजी २०४७ सालदेखि मेरा निकटस्थ मित्र हुनुहुन्छ। उहाँका कतिपय कुरा म बुझ्दै बुझ्दिनँ। उहाँले सांस्कृतिक राष्ट्रवादका कुरा उठाउनुभएको भिडियोचाहिँ धेरैपल्ट हेरेँ। राष्ट्रभाषाको रक्षणमा उहाँ र म अभिन्न छौँ। उहाँले भन्नुभएको नेपाल–केन्द्रित परराष्ट्र–नीति एवं सांस्कृतिक राष्ट्रवादका कुरासँग मैले असहमत हुनुपर्ने कारण देखिनँ।
परराष्ट्र सम्बन्धका कुरा गर्दा नेपाल पहिलो हुनुपर्छ भन्नेमा शतप्रतिशत समर्थन गर्छु। नेपालको परराष्ट्र–नीति निर्धारण गर्नुपहिले विश्वभर छरिएका नेपालीहरूका बाध्यतालाई ध्यानमा राख्न बिर्सनु हुँदैन; सशक्त छिमेकी मित्रराष्ट्र चीन र भारतसँगको हाम्रो सम्बन्ध व्यावहारिक र वस्तुनिष्ठ भएर स्थापित हुनुपर्छ।
हाम्रो सांस्कृतिक राष्ट्रवादले दुई छिमेकीहरूलाई प्रसन्न पार्न सक्ने कुरामा मलाई शङ्का छैन। परन्तु पाश्चात्य मित्रराष्ट्रहरूले चाहिँ मन नपराउन सक्ने हाम्रो कुरो सांस्कृतिक राष्ट्रवाद नै हो भन्ने लाग्छ। परराष्ट्र सम्बन्ध जटिलतम छ, यसकारण पनि हामीले नेपाल र नेपालीमै केन्द्रित भएर परराष्ट्र–नीति बनाउनुपर्छ।
पाश्चात्य मित्रराष्ट्रहरूले विविधतामा एकता रहेको हाम्रो सांस्कृतिक विशिष्टतालाई पचाउन नसकेको आभास हामी धेरैलाई भएको छ। हामी हाम्रो अद्वितीय विशिष्टतालाई छोड्न सक्तैनाैं; यो छोडेको दिन हामीले नेपालीलाई नेपालीसित जोड्न पनि सक्तैनौँ।
मर्यादा पुरुषोत्तम भगवान् श्रीरामका भाइ लक्ष्मणले भाउजू सीताजीलाई भाउजू मानेनन्; बरु माता माने; लक्ष्मणले भाउजू–आमाका पाउ र पाउजूको मात्र दर्शन गर्नुपर्छ भन्ने सनातन संस्कृति जाने। उता श्रीरामका मीत सुग्रीव चाहिँ भाउजू–बुहारीसित बिहा नै गर्थे। श्रीरामले सुग्रीव मित्रलाई उनको वांशिक संस्कृति परिवर्तन गराउन सुझावसम्म पनि दिएनन्।
जब एक थरीले अर्का थरीको आस्था र विश्वासमाथि आक्रमण गर्छ तब युद्धको सम्भावना प्रबल हुन्छ; नेपालीलाई नेपालीसितै लडाएर निकृष्ट अभीष्ट पूरा गराउने सपना कुनै पनि मित्रराष्ट्रका लागि शोभनीय र श्रेयष्कर हुनेछैन।
जब म आफ्नो समाजमा प्रवेश गर्छु; तब भीडमा हराएको मेरो राष्ट्रियता खोज्छु। सनातन शास्त्रका कुनै पनि पानामा चुरा र पोतेलाई सौभाग्यको सामग्री भनेको पाउँदिनँ। चुरा फुट्नु र पोते फुकालिनु वैधव्यका प्रमाण मान्ने चलन चल्यो। इस्लामहरूका चुरा र पोतेहरू सनातन धर्मीहरूका आमा, दिदी–बहिनीहरूबाट किनिएका छन्; चुरा विक्रीलाई व्यवसाय बनाएका पहाडी मुसलमानहरू चुरौटे नामले चिनिएका छन्।
गोर्खा, तनहुँ आदि जिल्लामा चुरौटेहरूको बस्ती निकै बाक्लो छ। पहाडी मुसलमानहरूले गोमांस–भक्षण गरेको कुरो मैले कहिल्यै पत्तो पाइनँ। यो हो, हाम्रो सांस्कृतिक सहिष्णुता र एकताको अर्को हुनुमान्–प्रमाण।
विदेशी इसाईहरूलाई निस्सङ्कोच मैले मेरो घरको भान्सामा पसाएको छु; उनीहरूसित कुम जोडेर दालभात खाएको छु।
श्रद्धापूर्वक दर्शन गर्न आएका गोरो अनुहारधारी हिन्दूलाई प्रवेश निषेध गरिएको पशुपतिनाथको मन्दिर परिसरमा नेपाली अनुहारका इसाईहरू पसेका छन् कि छैनन् होला? खोज्दै जाने हो भने पशुपतिनाथ परिसरमा पुगेर विचित्रको आनन्दानुभूति गरी फर्किएका नेपाली इसाईले पुनः सनातन संस्कृतिकै शरण लिएको दृष्टान्त पनि भेटिएला।
मेरा नाति–नातिनाले धेरै वर्षसम्म अष्ट्रेलियाको सिड्नीस्थित इसाईहरूकै विद्यालयमा अध्ययन गरे तर त्यहाँका इसाई शिक्षकहरूले मेरा वंशजलाई आस्था परिवर्तन गर्न बाध्य बनाएनन्। यद्यपि चर्चमा गएर जिजस क्राइष्टलाई मैले पनि नमस्कार गरेको छु।
नेपाली काङ्ग्रेसका सर्वश्रेष्ठ नास्तिक नेता विश्वेश्वरप्रसाद कोइरालाका नाममा ‘महामानव’ भन्ने मन्त्र पढिरहेँ; कम्युनिष्ट पार्टीका प्रायः सबै केन्द्रीय नेताहरू अनीश्वरवादी भए। मैले माल्यार्पण गर्दै उनीहरूलाई अभिनन्दन गरिरहेँ। स्वदेशी नेतालाई तह लाउन नसक्ने मैले विदेशी दातृसंस्थालाई कसरी धपाउन सक्छु?
मैले नेताजीहरूको नास्तिकतालाई प्रश्न पठाउने साहससमेत गरिनँ। धर्म नमान्ने अधर्मीहरूभन्दा त जुनसुकै धर्म अथवा सम्प्रदायका विधर्मीहरू नै आस्तिकका लागि आदरणीय र स्वीकार्य हुनुपर्ने होइन र? यो प्रश्न मैले आफैँसित गर्ने गरेको छु।
रैथाने मुसलमानले खाँदै नखाने गोमांस नयाँ नेपाली इसाईहरूलाई नखाई नहुने बाध्यता कसरी आइलाग्यो? गोपूजक सनातनीहरूलाई देखाउनकै लागि गोमाताको बीभत्स वध गर्नेहरू र तिनका दाताहरूलाई सोधिरहन आवश्यक र उचित ठान्दिनँ।
करोडौँ सनातनीहरूका मनमा लुकेको यस मौन प्रश्नको उत्तर चाहिँ मेरै नेपाल सरकारले वैधानिक व्यवहारबाट दिनुपर्छ; उत्तर दिनुपहिले गोलोक, गोविन्द, गोपाल, गोकुल, गोवर्द्धन, गोदान, पञ्चगव्य आदि सनातन संस्कृतिसित गाईको अभिन्न सम्बन्ध छ भन्ने कुरा अवश्य सम्झिनुपर्छ !
प्रकाशित: १ भाद्र २०८३ ११:२५ सोमबार