विचार

कोदो: बाली सीमान्त कि सोच ?

'असार पन्ध्र खाने खही र च्युरा, साउन पन्ध्र खाने खिर...' यो गीतले खानपानमा कृषि संस्कृतिको मौलिकता अंगीकार गर्छ। असार र साउन भनेको किसानहरूको मानो रोपेर मुरी उब्जाउने र त्यसका लागि कडाश्रम गर्ने महिना हो। असार महिनामा हिलोमा धान रोपेर थकित अवस्थामा रमाइलो स्वरूप असार १५ गतेलाई दही च्युरा खाने र धानबालीलाई प्रोत्साहन गर्दै धान दिवस मनाउने चलनको विकास भएपश्चात विशेषगरी साउनमा रोप्ने कोदो र कोदो वर्गमा पर्ने कागुनो, चिनो, जुनेलोजस्ता बाली सीमान्त बालीका रूपमा चिनिन बाध्य भएका छन्।  

नेपालमा कुल ३०,९१,००० हेक्टर (२० प्रतिशत) जमिन खेतीयोग्य छ भने १०,३०,००० हेक्टर (७ प्रतिशत) खेतीयोग्य भएर पनि खेती नगरिएको जमिन छ। विगत लामो समयसम्म हाम्रा पुर्खाले पहरो फुटाउँदै माटोमा रूपान्तरण गर्दै कोदो रोप्दै कोदोको ढिँडो, रोटी, पुवा, खोले जस्ता परिकार बनाएर खाने र कडाश्रम गर्ने गर्दै आएका यथार्थता हामीसँग छर्लंग छँदैछ। पहिला पहिला कोदोलाई पौष्टिक बालीका रूपमा लिएर उत्पादन र उपभोग हुने गथ्र्यो। जसकालागि ठूलो क्षेत्रफलमा कोदो उत्पादन हुन्थ्यो। अहिले नेपालमा कोदो खेती गर्ने क्षेत्रफल घटेर २ लाख ६३ हजार हेक्टरमा मात्र सीमित भएको छ। यसरी कोदो खेती गर्ने क्षेत्रफल घट्नु र कोदोको उत्पादन घट्नुको कारण राज्यको नीति तथा व्यवहार हो भन्नेमा दुईमत छैन।

कोदो पौष्टिकताका हिसाबले विश्वकै महत्वपूर्ण बाली हो। थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्व प्राप्त गर्न सकिने रेसा र शरीरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवन, अमिनो एसिडलगायतका खाद्य पदार्थ पाइने हुनाले मधुमेह, निमिया, हड्डी बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउनलाई औषधीयवस्तुका रूपमा प्रयोग हुने र रगतमा बोसो र कोलेस्टरोलको मात्रा घटाउने, जाडो याममा चिसोबाट बचाउन र सर्दी हटाउनका लािग अत्यन्तै उपयोगी भएका कारण कोदो हिमालय सुपर फुड (हिमालय सर्वाेत्तम खाना) का रूपमा परिचित छ। 

साथै जातीय विविधता रहेको नेपाल जस्तो देशका आदिवासी जनजाति समुदायहरूको चाडपर्व एवं पूजाआजामा कोदोको रक्सी चढाउने र अतिथि सत्कारमा प्रयोग हुने भएकाले सांस्कृतिक महत्वसमेत ओगटेको कोदोलाई राज्यले चिन्न नसक्नु, यस्तो महत्वपूर्ण बालीलाई प्रवर्धन तथा उत्पादन वृद्धि गरी प्रशोधनमा ध्यान नदिइ अन्तर्राष्ट्रिय हावासँग दौडेर धान खेतीलाई मात्र प्राथमिकता दिइ धान उत्पादन प्रवर्धनमा मात्र केन्द्रित भई असार १५ गतेलाई धान दिवस मनाउने अन्तर्राष्ट्रिय नारालाई लिएर धानको प्रचार प्रसार गरी उपभोक्ताहरूमा भाते संस्कृतिको विकास तथा विस्तारमा जोड दिनु राज्यको कमजोरी हो। राज्यको नीति नियम र व्यवहारले धानबाहेकका उत्पादनलाई सीमान्त उत्पादनमा लिने गरेको पाइन्छ।

नेपालमा कोदोलाई धान, मकै, गहँुपछिको चौथो बालीका रूपमा लिएको पाइन्छ। नेपाल जस्तो भौगोलक बनावट भएको देशमा खेतीयोग्य जमिन रहेर पनि सिँचाइको व्यवस्था हुन नसक्नु, श्रमिकहरूको संख्या घट्दै जानु, रोग/कीरालगायतका प्रकोप बढ्दै गएको अवस्थामा तराई, पहाड र हिमालका खेतीयोग्य जमिन सबैमा खेती गर्न सकिने, मल विषादी प्रयोग गर्न नपर्ने, नर्सरीसमेत नगरी जोतेर छरे फल्ने, सुक्खा र पाखो जमिनमा फल्ने र जलवायु परिर्वतनको समेत असर नपर्ने स्वच्छ र स्वस्थ आत्मनिर्भररूपमा उत्पादन गर्ने वालीलाई प्रवर्धन तथा प्रचार प्रसार नगरेका कारण विगतका ठूलो उत्पादनको अंश ओगटेको कोदो उत्पादन घटेर यस आ.व.मा २ करोड ७१ लाख २० हजार रुपियाँ बराबरको (कुल ८ लाख ५ हजार ७०७ केजी) आयात हुनु लज्जास्पद हो।

देशको पहिचान र नागरिकको मौलिक संस्कृतिलाई थेग्ने कोदो बालीलाई अपहेलना गर्दै सरकार स्वयं सीमान्त बालीतर्फ धकेल्दैछ, कुअन्नको संज्ञा दिँदैछ। कोदोलाई विश्व खाद्य संगठनको गणनामा समेत अन्नबालीमध्ये १०औँ स्थानमा समाबेश गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपबाट नै कुअन्नका रूपमा मानिँंदै आएको कोदोहिजोको दिनमा गरिब, मजदूर तथा ढाक्रेले खाने भन्ने पहिचान बोकेकामा अहिले उच्च ओहदाका तथा घरानिया भनी चिनिने व्यक्तिहरूको घर–घर र नाम चलेका होटेलहरूमा पाक्न थालेको छ। विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार भनेर चिनिने कोदो पछिल्लो समय विस्तारै बिस्थापित हुँदैछ जसको फलस्वरूप देश कोदो आयात गरी खान बाध्य भएको छ।  

सन्दर्भ  कोदो दिवस

त्यसैले अब हेरेर बस्ने भन्दा पनि गुण नै गुणले भरिपूर्ण हामो संस्कृतिको अभिन्न अन्न रैथाने एवं मौलिक बाली कोदोको उत्पादन, उपभोग, संरक्षण र प्रवद्र्धन गर्नु आजको आवश्यकता हो। हामी किसान राज्यका इमान्दार नागरिक हौँ। हामीले देशप्रतिको जिम्मेवारी बिर्सनु हुन्न। यसै मान्यता तथा जिम्मेवारी बोधका साथ हामीले कोदोको गुण, महत्व तथा फाइदाका बारेमा जनचेतना बिस्तारका लागि विगत वर्षहरूदेखि कोदो बहस कार्यक्रम सञ्चालन गर्दै कोदोको प्रचारप्रसार गर्दै आयौँ। गत वर्ष साउन १५ गतेलाई काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडा नं. १ झोरमहांकालमा पहिलो कोदो दिवश भब्यताका साथ मनायौँ। यस वर्ष मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ५ छबेलीमा “कोदोको योगदान खाद्य तथा पोषण सुरक्षामा वरदान” भन्ने नाराका साथ दोस्रो कोदो दिवश मनाउने जमर्को गरिरहेकाछौँ। यो दिवश कोदो दिवशमात्र नभएर सीमान्त बालीहरूको दिवश पनि हो।  

विविधीकृत हावापानी,विविधीकृत कृषि उत्पादनका हिसाबले परिचित देशले आफ्नो देशको सबै उत्पादनलाई समान महत्व दिनु र प्रचारप्रसार गर्नु जरुरी छ। जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशको समर्थन (भारतको अगुवाइ) मा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउने घोषणा गरिएको छ। नेपालमा गत वर्ष २०७७ देखि संस्थाहरूको पहलमा साउन १५ लाई कोदो दिवसकारूपमा मनाउन सुरु गरिएकाले कोदोको महत्व बढाएको छ। कुनै बालीको प्रवद्र्धन, कुनैको चाहिँ अपमान गर्नु भनेको सीमान्त सोच हो। अब सीमान्त सोच त्यागौँ। हाम्रा पौष्टिकताले भरिपूर्ण रैथाने बालीहरूको प्रचारप्रसारमा सबै जुटौँ।

(अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल)

प्रकाशित: १५ श्रावण २०७९ ००:२८ आइतबार

कोदो