निन्द्रा मानिसको जीवनको अभिन्न अंग रहेको अनि यसको महत्वबारे संसार धेरै अघिदेखि जानकार छ। पर्याप्त सुत्न नसक्दा मानसिक रोग अनि शारीरिक समस्या देखिनेबारे धेरै अध्ययन भएका छन्। विभिन्न किसिमका रोगको जड बनेको छ– अपर्याप्त निन्द्रा।
गत हप्ता नर्थ बेस्टर्न विश्वविद्यालय, बोस्टनको न्युरोलोजी शाखा मातहत स्लिप मेडिसिन विभाग प्रमुख फिलिस जीले सुत्ने वातावरणले व्यक्तिको स्वास्थ्यमा पार्ने असर सम्बन्धमा नवीन अध्ययन प्रस्तुत गरिन्। संयुक्त राज्य अमेरिकाकै प्रथम सार्केडिएन रिदमस् (सुत्ने र उठ्ने चक्र) मेडिकल क्लिनिकको संस्थापक चिकित्सक डा. जीले कोठाको प्रकाशले मानिसको निन्द्रा अनि समष्टिगत स्वास्थ्य अवस्थालाई पार्ने प्रभाव संबन्धमा अनौठो नतिजा प्रस्तुत गरिन्। मानिसमा गरिएको उक्त नतिजा लाभप्रद् देखिन्छ।
सार्केडिएन अन्वेषक डा. जीको अनुुसन्धान समूहले अध्ययनमा सहभागी मानिसलाई पहिलो रात अँध्यारो कोठामा सुत्ने प्रबन्ध गरे। पहिलो दिनको विश्रामपछिको परीक्षणले सबै सहभागीको स्वास्थ्य अबस्था सामान्य देखायो। सबैको स्वास्थ्य अवस्था तुलनायोग्य देखिएपछि दोस्रो दिनको अध्ययनका लागि सहभागीलाई दुई समूहमा विभक्त गरियो।
एक पक्षलाई पहिलो दिनझैँपटक्कै प्रकाश नछिर्ने अँध्यारो कोठामा सुत्ने व्यवस्था गरियो भने दोस्रो समूहका लाई मधुर प्रकाशमा आरामको व्यवस्था मिलाइयो। दुवै पक्षलाई विश्राम अवधिभर मस्तिष्कको तरंग र मुटुको चाललाई निरन्तर अनुगमन गरेपछि जैवरसायन विश्लेषणका खातिर आवधिकरूपले रक्त परीक्षणको समेत भयो।
दुबै समूहका सहभागीले बिहान ब्युँझेपछि कुनै समस्या नभएको अनि राम्रोसँग निन्द्रा लागेको प्रतिक्रिया दिए। उज्यालो भएपछि पनि सबै सहभागीको मुटुको चाललाई निरन्तर मापन गरियो। तर मुटुको धड्कन नतिजाले अनुसन्धानकर्तालाई चकित बनायो। मधुर प्रकाशमा सुत्ने सहभागीमा मुटुको धड्कन अर्को पक्षको तुलनामा लामो समयसम्म अधिक देखियो, धड्कनलाई सामान्य अवस्थामा फर्कनसमेत लामो समय लाग्यो।
त्यसै अध्ययनमा बिहानको खाजाको समयमा दुवै पक्षका सहभागीलाई समान मात्रामा ग्लुकोज सेवनको व्यवस्था गरियो। ग्लुकोज खाएपछि सहभागीको रक्त चिनीको आवधिक परीक्षण गरियो। निष्पट्ट अँध्यारोमा रात काटेका सहभागीको रक्त चिनी मापनले औषधि विज्ञानको सामान्य संहितालाई पछ्यायो, खाएको ३ घण्टापछि रगतमा ग्लुकोजको मात्रा सामान्य बन्न पुग्यो। तर मधुर प्रकाशमा सुत्ने सहभागीको रक्त ग्लुकोजको मात्रा डरलाग्दो देखियो।
उक्त पक्षका सहभागीमा खाएको ३ घण्टापछि पनि रक्त परीक्षणमा ग्लुकोजको मात्रा सामान्य भन्दा निकै माथि देखियो। अनि रक्त ग्लुकोज सामान्य अवस्थामा आउन लामो समय लाग्यो। रक्त ग्लुकोज सामान्य अवस्थामा फर्कन लामो समय लाग्ने अवस्थालाई इन्सुलिन रेसिस्टेन्स भनिन्छ अनि यस्तो लक्षणले भविष्यमा चिनी रोगको भविष्यवाणी गर्छ।
सानो समूहको सहभागितामा गरिएको नर्थ बेस्टर्न विश्वविद्यालयको अनुसन्धानले मेडिकल साइन्समा भने शक्तिशाली सन्देश दियो। निष्पट्ट अँध्यारोको तुलनामा मधुरो बत्तीमा सुत्ने सहभागीमा मुटुको धड्कन बढी हुनु अनि उनीहरूमा इन्सुलिन रेसिस्टेन्सको संभावना देखिनुलाई युनिभर्सिटी अफ् क्यालिफोर्निया लस् एन्जलसका स्लिप मेडिसिनका प्राध्यापक क्रिस कोबेल अचम्मको तर विश्वासिलो परिणाम मान्छन्। डा. कोबेल ठान्छन् निदाएका बखत प्रकाशलाई आँखाको ढक्कनले रोकेको देखिने भए पनि यथार्थमा परावर्तित प्रकाशको केही भाग भने मस्तिष्क तथा मुटुमा पुग्छ।
अनि उक्त प्रकाशले मस्तिष्क तरंग र मुटुको धड्कनलाई प्रभाव पार्छ। शरीरको महत्वपूर्ण अंग मस्तिष्कले शरीरको मेटाबोलिक सिस्टमलाई निर्देशित गर्ने भएकाले इन्सुलिन रेसिस्टेन्सको परिणामलाई यथार्थपरक ठान्छन् डा. कोबेल। हालै प्रकाशित फिलिस जीको अन्वेषणका संबन्धमा डा. कोबेल भन्दा कुनै फरक विचार राख्दैनन् हार्वार्ड मेडिकल स्कुल सार्केडिएन रिदमस्का अन्वेषणकर्ता चार्लस साइजलर।
डा. फिलिस जीको ल्याबले केबल दुई दिनको अध्ययनपछि प्रकाशित गरेको सामान्य तर शक्तिशाली निष्कर्ष स्लिप मेडिसिन क्षेत्रका लागि महत्वपूर्ण खुराक ठान्छन् प्राध्यापक साइजलर। ४० हजार आमा समूहमा गरिएको ५ वर्ष लामो फरक अध्ययनले सुत्दा बिजुली बत्ती अथवा टेलिभिजन खुला राखेर सुत्ने महिलाले निष्पट्ट अँध्यारो कोठामा सुत्नेको तुलनामा झण्डै १० पाउन्ड वजन बढेको देखायो। त्यस्तै पृथक अन्वेषणले बत्ती बालेर सुत्ने आदतले स्तन तथा प्रोस्ट्रेट क्यान्सरको संभाव्यता बढाउने देखाएको यथार्थ स्मरणयोग्य देखियो।
अब निन्द्राको जीवविज्ञान हेरौँ। कुनै पनि जीवको सुत्ने र ब्युँझिने चक्र, सार्केडिएन रिदम्सलाई मस्तिष्कमा रहेको सार्केडिएन पेसमेकरले नियन्त्रित गर्छ। अनि, निद्रा लाग्नुमा मेलाटोनिन हर्मोनको हात हुन्छ। अँध्यारो अवस्थामा शारीरिक संयन्त्रले यो हर्मोन बनाउन सुरु गर्छ। अनि मेलाटोनिन उत्पादनलाई उत्प्रेरित गर्ने काम मस्तिष्कमा रहेको पिनिएल ग्ल्यान्डको हो। तर जब आँखामा चम्किलो उज्यालो पर्छ उक्त प्रकाश रेटिना भएर मस्तिष्कमा पुग्छ।
चम्किलो प्रकाश ब्रेनमा पुगेपछि पिनिएल ग्ल्यान्डले मेलाटोनिन नबनाउन निर्देश गर्छ। अनि निन्द्रा हर्मोनको उत्पादन रोकिएपछि सुत्न मन लाग्दैन। तसर्थ, निद्रा नियमित गर्न प्रकृतिले जसरी दिन र रात हुने चक्र कायम गर्छ त्यसैगरी हामीले समेत आफ्नो शरीरलाई उज्यालो र अँध्यारोमा आवधिक हिसाबले कायम राख्नुपर्छ। रात परेपछि बिजुली बत्तीको मद्दतले कोठा चम्किलो राखे हाम्रो निन्द्रा चक्र खल्बलिन्छ। निद्रा नलाग्ने अवस्था आउँछ।
अब निद्राको प्रभाव हेरौँ। हाम्रो शरीरमा क्यान्सरका कोसहरू नियमित बन्ने गर्छन्। हाम्रो प्रतिरक्षा प्रणालीअन्तर्गत विशेष प्रकृतिका कोस हुन्छन् जसलाई प्राकृतिक किलर सेल भनिन्छ। ती प्रतिरक्षात्मक कोसहरूले शरीरमा पैदा भएका क्यान्सर सेललाई नास गर्छन्, हामीलाई रोग लाग्न दिँदैनन्। प्रयोगशाला परीक्षण गर्दा दैनिक ८ घण्टा निदाउने व्यक्तिको तुलनामा दैनिक ४ घण्टा मात्र सुत्ने मानिसमा प्राकृतिक किलर सेलको उत्पादन ७० प्रतिशत घटेको देखिन्छ।
धेरै मात्रामा प्राकृतिक किलर सेल उत्पादन हुने व्यक्तिलाई क्यान्सरलगायतका अन्य संक्रमणले कम सताउनु अन्यथा हुँदैन। अल्प निद्राले रक्षात्मक कोसको उत्पादन घट्नु र क्यान्सर रोगीको संख्या बढ्नुलाई आधार मानेर डब्लुएफओले कम निद्रालाई क्यान्सरको संभाव्य कारण ठानेर सदस्य राष्ट्रहरूलाई आफ्ना नागरिकलाई पर्याप्त सुत्ने वातावरण मिलाउन सल्लाह दिएको छ।
जसरी दैनिक कामका लागि हामी थमड्राइभमा आकडा भण्डारण गर्छौँ अनि नचाहिँदो डाटालाई डिलेट गरी आवश्यक तथ्यांकलाई दीर्घकालीन स्टोरेजका लागि कम्प्युटरको हार्डड्राइभमा सेभ गर्छौँ मानव मस्तिष्कले पनि ठ्याक्क त्यही ढाँचामा काम गर्छ। दिनभर सिकेका ज्ञान हाम्रो दिमागको हिप्पोक्याम्पस भन्ने भागमा संकलित हुन्छ। तर हिप्पोक्याम्पसको भण्डारण क्षमता निकै कम हुन्छ, धेरै दिनको अनुभवलाई संहाल्न सक्दैन त्यसले। त्यसैले दिनभर जम्मा भएका अनावश्यक तथ्यांकलाई नष्ट गर्ने अनि महत्वपूर्ण तथ्यांक दीर्घकालीन प्रयोगका लागि दिमागको अर्को भाग, कर्टेक्समा सार्ने पद्धति स्थापित भएको छ।
तर तथ्यांक हस्तान्तरणका लागि शान्त वातावरण आवश्यक रहने भएकाले मस्तिष्कले हामी निदाएको समयमा मात्र उक्त काम गर्छ। गहिरो निन्द्राका समय शरीरका अन्य भाग शिथिल हुन्छन् भने ब्रेनको फाइल ट्रान्सफर र डिलिट गर्ने प्रक्रिया तीव्ररूपमा चल्छ। दैनिकरूपले जम्मा भएका विवरणहरू सान्दर्भिकताअनुसार नष्ट गर्ने तथा भण्डारण गर्ने काम निदाएको समयमा हुने भएकाले गहिरो निद्रा स्लिप स्वास्थ्यका लागि आवश्यक देखियो। स्मरण अनुभवलाई मस्तिष्कका विभिन्न स्थानमा भण्डारण गर्नु मस्तिष्क स्वास्थ्यका लागि अत्यावश्यक भएकाले सुत्न नपाएको अथवा निन्द्राको अनियमितताले मानसिक समस्या भित्र्याउँछ।
परीक्षाका बखत नसुत्ने अभ्यास असामान्य होइन। अनिँदो बसेर पढ्दा सिकाइमा के प्रभाव पा¥यो भन्ने कुराको अध्ययन गरे अन्वेषणकर्ताले। उक्त अध्ययनमा विद्यार्थीलाई दुई समूहमा विभाजन गरियो। एक पक्षलाई बिहान पाठ पढाएर सामान्य दिनचर्यापछि त्यसै दिनको साँझमा परीक्षा लिइयो भने अर्को समूहलाई बेलुका कक्षा लिएर सुत्न पठाइयो अनि ८ घण्टाको गहिरो निन्द्राबाट उठेपछि परीक्षा लिइयो। ८ घण्टा सुतेर जाँच दिने समूहका विद्यार्थीले अर्को ग्रुप भन्दा निकै राम्रो अंक ल्याए।
सिकेको ज्ञान रातभर दिमागले प्रशोधन गर्दा अझ खारिने भएकाले सुतेका समूहका विद्यार्थीले अबल प्रस्तुत गरेको ठहर भयो। उल्लिखित अध्ययन तथा अनुसन्धानको बिवलेषण गर्दा दिनको कम्तीमा ८ घण्टा सुत्ने गरी आफ्नो कार्यतालिका बनाउन आवश्यक छ।
अनि सुत्दा कोठालाई अँध्यारो बनाएर निदाउने अभ्यास गर्नुपर्छ। विद्युतीय साधनले उत्पादन गर्ने प्रकाशले मेलाटोनिन हर्मोनको उत्पादनमा नकारात्मक प्रभाव पार्ने भएकाले सुत्नु २–३ घण्टाअघिदेखि टेलिभिजन तथा स्मार्ट फोन जस्ता साधनबाट टाढा बस्नु आवश्यक छ। राम्रो सुताइले दिमागी समस्या अनि विभिन्न रोगबाट बचाउने भएकाले निद्रालाई कम नआँक्न सबै सजग हुनुपर्छ।
प्रकाशित: २२ चैत्र २०७८ ०३:१९ मंगलबार