नेपालको संविधान २०४७ ले हिन्दुधर्मलाई राष्ट्रिय धर्म माने पनि अन्य धर्मलाई संरक्षण र स्वतन्त्रता प्रदान गरेको थियो। त्यसबेला अन्य धर्मावलम्बीले भने प्रजातन्त्रमा पनि पञ्चायतकालमा जस्तै राज्यले हिन्दुधर्मकोे बढी संरक्षण गरेको महसुस गरे। उनीहरूले हिन्दुधर्मलाई मात्र राज्यले राष्ट्रिय धर्म भन्न पाउँदैन भन्ने आवाज पटकपटक उठाउँदै आएका पनि हुन्। तर २०६३ सालमा नेपाललाई धर्मनिरपेक्ष बनाउन आन्तरिक शक्तिमात्र होइन वाह्य शक्तिले पनि उत्तिकै काम गरेको हो। अहिले फेरि वाह्य शक्तिकै आडमा धर्मनिरपेक्षताबाट पछि फर्किने योजना कतिपयको छ। केही महिनाअघि छिमेकी भारतमा सम्पन्न आमनिर्वाचनमा भारतीय जनता पाटी (बिजेपी) ले बहुमत प्राप्त गर्दै त्यस दलका कट्टर हिन्दुवादी नेता नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुको प्रभाव नेपाली राजनीतिमा पनि देखिन थालेको छ। यहाँका केही राजनीतिक खेलाडीले भारतको परिवर्तनलाई नेपाल हिन्दुराष्ट्र बनाउने अवसरका रूपमा पनि बुझेका छन्। पूर्वराजा ज्ञानेन्द्र र उनका समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापालगायतका नेता निकै अघिदेखि नै राजतन्त्र ब्युँताउन र हिन्दुराष्ट्र कायम राख्न प्रत्यक्ष–परोक्ष सक्रिय थिए। विगत ८ वर्षअघि नेपाल हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र हुँदा मौन बस्ने कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का केही महिनादेखि नेपाललाई सनातन हिन्दुराष्ट्र बनाउने अभियानमा कम्मर कसेर लागेका छन्। कतिपय मानिसले यो अभियानमा भारतको सहयोग रहेको अनुमान गरेका छन्। हुनत भ्रष्टाचार मुद्दामा पक्राउ परी गत वर्षमात्र जेलमुक्त भएका खड्काको यो अभियानले ठूलै प्रभाव पार्नसक्ने सम्भावना देखिँदैन। हाल खड्का देशको वा कांग्रेसको मूल राजनीतिमा उभिएका पात्र पनि होइनन्।
नेपाललाई किन हिन्दुराष्ट्र बनाउने? बहुसंख्यक जनता हिन्दु भएकाले नेपाललाई हिन्दुराष्ट्र नै बनाउनुपर्छ भन्ने अधिकांशको माग छ। यो तर्कको जग आफैमा कमजोर छ। पक्कै पनि नेपालमा ८१ प्रतिशत जनता हिन्दु छन्। धर्मनिरपेक्ष भएपछि पनि हिन्दुधर्म र संस्कारमा न त राज्यले नियन्त्रण गरेको छ न त अल्पसंख्यामा रहेका अन्य धर्मीले नै! बहुसंख्यक जनता आफै संरक्षित छन् भने उनीहरूलाई राज्यले थप संरक्षण प्रदान गर्ने किन? के हिन्दुुबाहेक अन्य धर्म मान्ने बाँकी २० प्रतिशत जनताले राज्यबाट समानताको अनुुभव गर्नुपर्दैन? तथापि, धर्मका नाममा हिन्दुइतरबाट गलत क्रियाकलाप पनि भएको देखिन्छ। गरिवीका साथै अन्य सामाजिक समस्यालाई देखाएर धर्म परिवर्तनको कार्य पनि भइरहेकै छ। जबर्जस्ती धर्म परिवर्तन गराउने क्रमलाई रोक्न सक्नुपर्छ।
धर्मनिरपेक्ष भइसकेको नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनु भनेको अन्य धर्मीको भावनामा चोट पुर्याधउनु हो। कुनै पनि बहानामा धर्मको राजनीति गर्नु भनेको देशलाई विखण्डनको सिकार बनाउनु हो। विश्वमा हाल चलिरहेका अधिकांशः द्वन्द्वको जरो धार्मिक विषयसँग जोडिएको छ। धार्मिक भिडन्तहरू प्रारम्भमा सानासाना अहम्बाट उब्जिएका र पछि विकराल बन्दै गएका हुन्।
भारतको राजनीतिक परिवर्तनलाई नेपालमा धर्मको नाममा राजनीति गर्ने अवसर ठान्नु पनि अर्को मुर्खता हो। भारतमा हालै सम्पन्न आमनिर्वाचनमा भारतीय जनताले धर्मका नाममा बिजेपीलाई मतदान गरेका हुन्? पक्कै पनि हैन। बिजेपीको जितको कारण धार्मिक नभई जनताको परिवर्तनप्रतिको चाहना हो। भारतमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्धको मत हो। आफ्नो राज्य गुजरातमा चमत्कारिक विकास गरेका मोदी नेतृत्वको सरकारले विकास, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सक्छ भन्ने जनताले ठानेका हुन्। नेपालमा जस्तै भारतमा पनि ८० प्रतिशत जनता हिन्दुुधर्मी छन्, तर भारत धर्मनिरपेक्ष राज्य हो। मोदीको शासनमा अल्पसंख्यक मुस्लिमको स्वतन्त्रता हनन् हुने हो कि भन्ने त्रास पनि उत्पन्न नभएको होइन। तर मोदीले आफ्नो राजनीतिक भविष्य दाउमा राखेर धर्मका आडमा कसैमाथि दमन सम्भवतः गर्ने छैनन्। विश्वनेताका रूपमा आफूलाई स्थापित गर्ने सपना देख्ने मोदीले धर्मको राजनीति अभिशाप हुनेछ भन्ने पक्कै पनि बुझेको हुनुपर्छ। कतिपय मान्छेले मोदीले पशुपतिनाथलाई अधिक श्रद्धा गर्नु वा जानकी मन्दिरको भ्रमण गर्नुलाई नै नेपाललाई हिन्दुुराज्य बनाउन चालिएको कदम ठानेका हुनसक्छन्। भारतका शक्तिशाली प्रधानमन्त्री मोदी हुन् वा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई गीता वा बाइबल समातेर सपथ खाने अधिकार छ। चर्चमा गएर प्रार्थना गर्ने अधिकारी जसरी ओबामालाई छ, त्यसैगरी मन्दिरमा गएर ढोग्ने हक मोदीलाई छ।
विश्वका धेरै देशमा धर्मका नाममा युद्ध र द्वन्द्व भएका छन्। धार्मिक द्वन्द्वले कहिल्यै प्रश्रय नपाएको देश नेपालमा अहिले केही धार्मिक अतिवादीले खेल्ने मौका खोजिरहेका छन्। हाम्रै छिमेकी भारतमा हिन्दु र मुस्लिमबीच पटकपटक धार्मिक दंगा भएसकेको छ। हिन्दु अतिवादीले क्रिश्चियनमाथि र शिखमाथि पनि आक्रमण गरेका छन्। कस्मिरमा भएको हिन्दु–मुस्लिम दंगामा हजारौं मानिस मारिएका थिए। त्यहाँको दंगा अझै सेलाएको छैन। श्रीलंकामा बुद्धिष्ट र हिन्दुबीच बेलाबेलामा द्वन्द्व भइरहन्छ। इन्डानेसियाको मलकु आइल्यान्डमा सन १९९९ मा भएको मुस्लिम–क्रिश्चियन दंगामा ६ हजारभन्दा बढी मानिस मारिएका थिए। बोस्निया हर्ज गोभिना, सुडान तथा अन्य थुपै्र देशमा धर्मका कारण द्वन्द्व भड्किएको छ। पूर्वी टिमोरमा क्रिश्चियन र मुस्लिमबीच युद्ध जारी नै छ। विश्वका यी धार्मिक युद्धबाट शिक्षा लिएर नेपालले धर्मका नाममा हुनसक्ने द्वन्द्वलाई रोक्न बेलैमा सजग हुनु जरुरी छ।
विश्वका विकसित र अविकसित देशमा अहिले पनि धर्मका नाममा शोषण, दमन र नियन्त्रण हुने गरेको छ। धार्मिक असमानताका कारण त्यस्ता देशमा भविष्यमा पनि थप भिडन्त नहोला भन्न सकिन्न। अमेरिकाको वासिंगटन डिसीस्थित पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको एक रिपोर्टअनुसार सरकार र फरक धर्मावलम्बीहरूबाट धार्मिक आस्थाका आधारमा हुने शोषण र हिंसा तथा विभेद संसारभरि बढ्दै गएको छ। मध्यपूर्वी देश र उत्तरी अफ्रिकामा यस्तो ज्यादति सबैभन्दा बढी छ।
नेपालमा खुमबहादुर खड्का वा अन्य समुहले माग गर्दैमा नेपाल धर्मनिरपेक्षबाट हिन्दुराष्ट्रमा फर्कनसक्ने अवस्था अहिले छैन। तर सत्तारुढ नेपाली कांग्रेसले खड्का र उनका अभियानका सहयोद्धा बन्न पुगेका पार्टी तथा भ्रातृ संगठनका अधिकारीलाई अहिलेसम्म कारबाही नगर्नुलाई खड्काको शक्ति देख्नेहरू पनि थुप्रै छन्। उनीहरूलाई अनुशासनको कारबाही गर्दै धार्मिक अस्थिरता निम्त्याउन खोज्नेलाई निरूत्साहित गर्न कांग्रेसले अब ढिला गर्नु हुँदैन। यो देशमा धर्मको राजनीति गरेर सत्तामा पुगिन्छ भन्ने भ्रम पाल्नु गलत हो। यदि नेपालमा जनताले धर्मलाई समर्थन गरेको भए हिन्दुधर्मको वकालत गर्ने गाई चुनाव चिह्न पाएको राप्रपा नेपालले प्रत्यक्ष निर्वाचनमा एक सिट पनि नजित्ने अवस्था आउने थिएन। भ्रष्टाचारका कारण राजनीतिक केन्द्रबाट बाहिरिएका खुमबहादुरले पनि धर्मको राजनीतिबाट मूलधारमा आउने सम्भावना ठयाम्मै छैन।
प्रकाशित: २९ कार्तिक २०७१ २१:१७ शनिबार