विचार

बाढीपहिरो रोकथाममा विज्ञान

भूगर्भको कमजोर संरचनाका कारण बाढी र पहिरोले नेपालमा जनधनको क्षति हुँदै आएको छ। बाढीपहिरोले ल्याउने विपद्को घटना अन्य धेरै प्रकोपभन्दा बढी नै छ। गृह मन्त्रालयको तथ्यांकअनुसार सन् १९७१ देखि २०११ सम्म ७१५ घटना बाढीबाट र ५५ घटना पहिरोबाट भएको देखिन्छ। अहिले नेपालमा बाढी र पहिरोले कोलाहल नै मच्चाइरहेको छ। गएको एक महिनाभित्रै सयौँ मानिसलेे ज्यान गुमाएका छन् भने हजारौँ विस्थापित र लाखौँ प्रभावित भएका छन्।

नेपालको गतिशील भौगर्भिक संरचनाका कारण बाढीपहिरोको प्रकोपलाई निर्मूल नै गर्न सकिने अवस्था नभए पनि जनधनको क्षतिलाई घटाउन सकिने आधार भने छन्। यसमा ऐन, कानुन र समन्वयको कमजोरीको एउटा पाटो छ भने जोखिम न्यूनीकरणमा अहिलेसम्मका प्रयासमै कमजोरी देखिएका छन्। विज्ञान र प्रविधिबीचको ठूलो खाडलका कारण पनि हामीले जनधनको क्षति घटाउन सकिरहेका छैनौँ। हाम्रा प्राथमिकता जोखिम घटाउनेभन्दा पनि विपद्पछिको स्थिति सम्हाल्नेमै केन्द्रित भएको तीतो यथार्थ एकातिर छ भने भू­उपयोगको दह्रो नीति बनाएर त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न सकिएको छैन। जब समस्या पर्छ अनिमात्र समाधान खोज्ने परिपाटी र सोच मुख्य जिम्मेवार छ यसमा। समस्या नै आउन नदिनेतर्फ हाम्रा कार्यक्रम बनाउन कहिल्यै ध्यान पुगेको देखिन्न। 
अति जोखिमयुक्त भिरालो जमिन र अति जोखिमयुक्त पुराना पहिरोका काखमा मानिस आफ्नो जीविकोपार्जन गर्न बाध्य छन्। यहाँका मानिस अति संवेदनशील खोलाका किनार र बगरमा बाँच्नका लागि संघर्ष गरिरहेका हुन्छन्। उनीहरूबारे हामी त्यतिबेलामात्र सोच्छौं जतिबेला बाढी पहिरोजस्ता प्रकोपले विपद् ल्याउँछ। सर्वसाधारणको त टाढै, यहाँका सरकारी निकाय र उसले बसाएका बस्ती र सहरीकरण गरेका ठाउँ नै जोखिमरहित छैनन्। महाकालीले गत वर्ष दार्चुलामा ल्याएको बाढीको विपद् यसको उदाहरण हो। उक्त बाढीका कारण लगभग एक किलोमिटर लामो दार्चुला सदरमुकाम पूरै प्रभावित बन्यो। त्यहाँको कमजोर भौगर्भिक बनोटमा ठूलो बस्ती बसाइनु नै पीडाको कारण बन्यो। 
अब प्रश्न उठ्छ, यस्तो जोखिमयुक्त ठाउँमा कुनै रोकथामको उपाय नै नगरी किन बस्ती बसाइयो? किनकि हाम्रा नीति निर्माता र सरकारसँग विज्ञानले प्रदान गर्न सक्ने महŒवपूर्ण अग्रिम सूचनाहरूको कुनै आँकलन छैन। अथवा यिनीहरूको सदुपयोग गर्ने कुनै इच्छाशक्ति नै छैन। बाढीपहिरोको जोखिम घटाउने हाम्रा अन्य कार्यक्रममा पनि विज्ञानको सहयोग नलिइ प्रविधिको प्रयोग गरिएका उदाहरण सजिलै भेट्न सकिन्छ। 
बाढीको कारण एकातिर हुन्छ भने त्यसको असर अर्कैतिर पर्ने हुन्छ। खोलाको माथिल्लो तटीय क्षेत्रमा घनघोर वर्षा हुँदा खोलाको तल्लो तटीय क्षेत्रमा बाढी आउँछ। त्यस्तै माथिल्लो तटीय क्षेत्रमा रहेका ढुंगामाटोको आन्तरिक संरचनाले तल्लो तटीय क्षेत्रमा बाढीको पानीसँगै कति ढुंगामाटो आउँछ भन्ने तय हुन्छ। तर हाम्रा कार्यक्रममा धेरैजसो ठाउँमा यस्ता कारण र असरको लेखाजोखा नगरी असर परेको ठाउँमा मात्र धमाधम रोकथामका प्राविधिक उपाय अपनाइन्छन् जसले दिगो हिसाबको काम हुन सक्दैन। उदाहरणका रूपमा चुरेबाट सुरु भई बगेका खोलाबाट तराईमा आउने बाढी रोक्न तराईमा बनाइएका डाइक तथा स्परहरू एक दुई वर्षभित्रै ढुंगा/बालुवाले पुरिएर काम नलाग्ने हुन्छ। यसो हुनुमा कमजोर चुरे क्षेत्रमा घनघोर वर्षा अनि मानव अतिक्रमण मुख्य कारण हुने गरेको छ। चुरे क्षेत्रमै सेडिमेन्ट उत्पन्न हुने प्रक्रियालाई रोक्न सके अथवा खोलाको बेगलाई घटाउन सकेमात्र तराईमा गरिएका बाढी रोकथामका प्रयास सफल हुने थिए। र, बाढीबाट हुने जनधनको क्षतिलाई घटाउन सकिन्थ्यो। धेरैजसो जिल्लाअनुसार बजेट प्रवाह हुने र त्यसको सदुपयोगको मात्रा फरकफरक हुने हुनाले माथिल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रमा एकीकृतरूपमा जोखिम न्यूनीकरणका कार्यक्रम चलाउन सक्ने अवस्था पनि छैन अहिलेकै अवस्थामा। 
अनुसन्धानकर्ताहरू सापेक्षितरूपमा विज्ञान र प्रविधिको क्षेत्रमा अद्यावधिक हुन्छन् तर यस्ता काम गर्ने बेलामा उनीहरूको सहभागिता रहँदैन। सन् १९९३ को बाढीले पृथ्वी राजमार्गअन्तर्गतका धेरै पुल बगाएकामा मलेखु खोलाको पुल आंशिकरूपमामात्र बगाउनुमा पनि विज्ञानलाई बेवास्ता गरी पुलको साइट तय गरिनु मुख्य कारण थियो। अहिले नयाँ पुल बनाइएको ठाउँमा त्यस्तो बलियो चट्टान हुँदाहुँदै सडकलाई दुई साइडमा जोड्दा झन्डैै तीन सय मिटर बढी घुमाई खोलाको बेग बढी भएको र निकै होचो ठाउँमा किन बनाइयो? तीन सय मिटर घुमाउने पैसाले त सानो चट्टानको थुम्को काट्नै परे पनि पुग्थ्यो अनि पुल पनि सुरक्षित रहन्थ्यो। 
विज्ञानबिनाका प्रविधिको आडमा खनिएका हाम्रा सडक संरचनाकै कारण कतिपय स्थानमा पहिरो सुरु भएका छन्। हामी पुराना र कति ठाउँमा त अहिलेकै पहिरोका पनि तल्लो भाग (खुट्टो) ताछेर सडक खन्छौँ। अथवा गएको पहिरो खुलाउन त्यही टोलाई काट्दै फाल्दै गछर्ौं जुन विज्ञानबिनाको प्रविधिको एउटा उदाहरण हो। विज्ञान भन्छ : कुनै पनि वस्तुको खुट्टा काट्यो भनेे जीउ असन्तुलित हुन्छ र लड्छ। पहिरोको पनि खुट्टो काटिदिँदा माथिबाट पहिरो झरिरहन्छ। पहिला जीउ थाम्ने कृत्रिम उपाय गरेपछिमात्र खुट्टा काट्नुपर्ने हो। सामान्य विज्ञानको नियमलाई पनि हामी वास्ता गर्दैनौँ। पहिरोका कारणलाई वास्तै नगरी रोकथामको उपाय भनेको ढुंगा भरिएको जाली (गेबिन वाल) वा अन्य कुनै रिटेनिङ्ग वाल नै हो भन्ने मनस्थितिले काम गरेको उदाहरण जताततै देखिन्छ। अनि यस्तो मनस्थितिले गरिएका रोकथामका उपायहरू प्रभावकारी हुने कुरै भएन। कृष्णभीरको पहिरो रोकथाम गर्न त्यतिका वर्ष लाग्नुमा पनि यही कारण थियो। अध्ययनको क्रममा सुस्त गतिको पहिरो (वि्र्कपिङ) भएको ठाउँबाट सडक खनिएका र त्यसपछि गएका पहिरो रोकथाममा खाली रिटेनिङ्ग वालमात्र प्रयोग भएको देखिएको छ। यस्ता वालहरू वर्षेनि भत्कने गर्छन्। पानीको निकास अनियन्त्रित भई भीरमा अतिरिक्त चाप उत्पन्न भई जाने पहिरोमा पानीको व्यवस्थापनै नगरी रिटेनिङ्ग वालको भर पर्नाले रोकथाम प्रयास असफल भएको देखिन्छ। 
त्यस्तै रुख रोपेर पहिरोको रोकथाम गर्न सकिन्छ भन्ने पुरानो सोचले अति संवेदनशील भीरमा ठूला रुख रोप्दा झन् पहिरोलाई बढावा दिइरहेको पनि हुनसक्छ। हुन त धेरै ठाउँमा यो सोचलाई परिमार्जन गरी सुहाउँदो वृक्षरोपण पनि भन्न थालिएको छ तर यसलाई बृहतरूपमा लागु गर्नुपर्ने देखिन्छ। अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग पनि उपयुक्त जनशक्तिको कमीले जता पायो उतै ढुंगा भरिएका तारजाली लगाएको देखिन्छ। तर त्यसले पहिरो र बाढी रोकथाममा खासै सकारात्मक असर पार्दैन। त्यो अनावश्यक खर्चको नतिजा, बालुवामा पानी हालेसरह नै हुने गर्छ। विज्ञान अघिअघि, प्रविधि पछिपछि हुनुपर्ने समयको माग हो। अहिलेको समयमा विज्ञानबिनाका प्रविधिले बाढीपहिरो रोकथाममा आशातीत सफलता मिल्ने त टाढैको कुरो बरु पहिरोलाई नै बढावा दिइरहेको हुन्छ। 
भूगर्भशास्त्रका उपप्राध्यापक, त्रिवि

प्रकाशित: २५ भाद्र २०७१ २०:३३ बुधबार