केही मानिसमा लागु पदार्थको दुर्व्यसनको प्रारम्भ सामान्य मानिने लतहरु जस्तै रक्सी, चुरोट, खैनी आदिको सेवनबाट सुरु भएको पाइन्छ। अनि उसले मात्रा बढाउँदै गएर गाँजा, चरेस आदिको सेवन गर्न थाल्छ र हेरोइन, कोकिन आदिसम्म पुग्ने र सुई लगाउनेजस्ता व्यसनमा फस्न पुग्छ। केही मानिस सिधै कडा लागुपदार्थको प्रयोगकर्ता बन्छन्। नजिक वा घनिष्ट मान्छे अझ आफूले सम्मान गर्ने व्यक्तिले खाएको देखेर लागुपदार्थको दुर्व्यसनमा लाग्ने पनि थुप्रै हुन्छन्।
लागुपदार्थको दुर्व्यसनले मानिसको मानसिक र शारिरिक पक्ष विकारग्रस्त बनाइदिन्छ। निराशा, व्यक्तित्वमा गडबडी, सिजोफ्रेनिया जस्ता विविध मानसिक रोग, आत्महत्या, क्यान्सर, मुटु रोग, हृदयघात, मस्तिष्कघात, सुई साटासाटबाट सर्ने एड्सजस्ता रोग दुर्व्यसनका घातक परिणाम हुन्। नेपालमा भएका कुल एचआईभी पोजिटिभका बिरामीमध्ये करिब १५ प्रतिशत मानिस लागुपदार्थको अम्मली भएको तथ्यांक छ। कडा खालको लागुपदार्थको अम्मलीको औसत आयु सामान्य मानिसको भन्दा धेरै कम हुन्छ। केही दुर्व्यसनी नशा सेवन गर्न पैसा नपुगेर चोरी, लुटपाटजस्ता अपराध गर्न पनि पछि पर्दैनन्। दुर्व्यसनीहरुबाट झैझगडा, हिंसा, सवारी दुर्घटना आदि निम्तिने डर बढी हुन्छ। घरको सुख, शान्ति र आर्थिक, सामाजिक पक्ष खल्बलिन पुग्छ। अत्यधिक लागुपदार्थको प्रयोगबाट मानिस निकम्मा बन्न पुग्छ। लागु पदार्थको लत लागेका मानिस अझ विशेषगरी युवा अनुत्पादक बन्दा घर, समाज र देशलाई पनि घाटा हुन्छ। लागु पदार्थ मानिसको बर्बर शत्रु हो। यसलाई नकार्नु पर्छ। यसको लत लागेको मानिस जीवन संघर्षमा असफल बन्न पुग्छ।
लागुपदार्थ दुर्व्यसनविरुद्ध सबै एकजुट भएर लड्नुपर्छ। लागुपदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नुपर्छ। यसका लागि कडा कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्छ साथै प्रहरीको सक्रियता पनि बढ्नुपर्छ। चाइना, भियतनामलगायत केही देशमा हेरोइनजस्ता खतरनाक लागुपदार्थको कारोबार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिइएका उखाहरण छन्। लागुपदार्थको दुश्चक्रले गर्दा कति अभिभावक निर्मम मानसिक यातना खेप्न बाध्य छन्। आफ्ना सन्तानहरु लागुपदार्थको दलदलमा नफसुन् भनेर अभिभावक सचेत र चनाखो बन्नुपर्छ। छोराछोरीका साथी समूह कस्ता छन्, कतै कुबाटोतर्फ त लागेका त छैनन् भन्ने आदि कुरामा सचेत बन्नुपर्छ। छोरोछोरीका दैनिक क्रियाकलापमा सकेसम्म निगरानी राख्नुपर्छ। साथसाथै लागुपदार्थ अति खराब हो भन्ने चेतना पनि दिनुपर्छ। कसैले असामान्य व्यवहार देखाउन थाल्यो भने परिस्थिति चिन्ताजनक हुन्छ। दुब्लाउँदै जानु, आफ्नो जीम्मेवारीबाट पन्छने कोसिस गर्नु, हातमा सुई घोपेका छाप हुनु, विनासूचना घरबाट कतै गइरहनु, आँखा र अनुहारको चमक हराउनु, शरीर र मुखबाट अनौठा गन्ध आउनु, झुम्म वा लठ्ठ भएर बस्नु, अत्यधिक पैसाको माग गर्नुआदि गर्न थाले लागुपदार्थको अम्मलमा फसेको हुन सक्छ। विद्यालयमा हरेक विद्यार्थीको चालचलनमा निगरानी राख्नु हरेक शिक्षकको नैतिक जीम्मेवारी हो। शिक्षक र अभिभावकको सञ्चार आदानप्रदान भइरहनुपर्छ। विद्यालय/कलेज, टोल, बस्ती, समाज आदिमा लागुपदार्थको विरुद्धमा जनचेतनाका कार्यक्रम भइरहनुपर्छ। हरेक मानिसले के चेतना पाउनुपर्छ भने लागु पदार्थको दलदलमा फसेपछि यसबाट बाहिरिन अति नै कठिन हुन्छ र कतिपय अवस्थामा असम्भव पनि हुन्छ। यसका लागि सञ्चार माध्यमको गहन भूमिका हुन्छ। सञ्चार माध्यमले लागुपदार्थ सेवनको परिणामको बारेमा जनतालाई प्रभावकारी जानकारी दिनु लागुपदार्थ दुर्व्यसन घटाउने प्रभावकारी माध्यम हो।
लागुपदार्थको दुर्व्यसनमा फसेका मानिसलाई शारीरिक दण्ड दिएर वा गाली गरेर हैन बरु असल परामर्श दिएर उनीहरूको मनःस्थिति परिवर्तन गर्न र दुर्व्यसनबाट मुक्त बनाउन प्रभावकारी कदम चालिनुपर्छ। उनीहरुलाई सम्झाइबुझाई गरेर नशा छोड्ने आत्मबल प्रदान गरिनुपर्छ। यतिले मात्र भएन भने लागुपदार्थ दुर्व्यसनको उपचार गर्ने विशेषज्ञलाई जति सक्दो छिटो देखाउन ढिला गर्नु हुँदैन। सल्लाहअनुसार पुनर्स्थापना वा सुधार केन्द्रमा जान सकिन्छ। सकेसम्म कोही पनि लागुपदार्थको दुर्व्यसनमा नलागुन्, लागि हाले भने पनि परामर्श वा उपचार पाएर पुनर्स्थापित होऊन्। उनीहरूलाई घृणा होइन माया र सहयोग प्राप्त होस्। हामी सबै मिलेर लागुपदार्थको दुर्व्यसनबाट बचौँ र बचाऔँ।
प्रकाशित: २२ भाद्र २०७१ २०:३७ आइतबार