नेपाल जस्तो गरिब देशमा हुने अत्यधिक तथा अप्रत्याशित वर्षा र उक्त वर्षातको पानी भण्डारणको उचित व्यवस्था नहँुदा ठूला खडेरी तथा वर्षातबाट देशले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परिरहेको छ। जसको असर देशको दीर्घकालीन विकासमा परेको छ। प्रायः धनी देशले वर्षातको पानी भण्डारण गर्नका लागि आवश्यकताअनुसार बेसिन (जल क्षेत्र) मा बाँधहरू निर्माण गरी उक्त जल क्षेत्र (बेसिन एरिया) लाई व्यस्थापन गर्ने क्षमता विकास गरेका छन्। यसबाट उनीहरूले बाढी÷पहिरोबाट जोगिन, वर्षा तथा सुक्खा याममा उक्त पानी प्रयोग गरी बिजुली, सिँचाइ, पिउने पानी तथा अन्य विविध प्रयोजनमा प्रयोग गरी धेरै फाइदा लिइरहेका छन्।
नेपालमा ८०% पानी वर्षायाममा याने कि जुनदेखि सेक्टेम्बर महिनामा पर्छ भने बाँकी २०% अरू महिनामा। गंगा बेसिनमा वार्षिक औसत ४५% पानीको बहाब नेपालबाट जाने नदीको पानीबाट हुन्छ भने सुक्खायामको करिब ७०% पानी गंगा नदीमा नेपालबाट जान्छ। नेपालका नदीहरूबाट वार्षिक करिब २२५ अर्ब घनमिटर पानी बग्छ भने यसमा करिब १५ अर्ब घनमिटर पानी नेपालमा प्रयोग हुन्छ। जल तथा ऊर्जा आयोग (२०७७) को रिपोर्टअनुसार नेपालको उत्तरी सिमानामा करिब दुई सय भन्दा बढी हिम–चुचुरोहरू ६,००० मिटर भन्दा बढी उचाइका छन् भने १३ वटा त ८,००० मि. भन्दा बढी उचाइका छन्। त्यस क्षेत्रमा करिब ३,२५२ वटा हिमताल र यसको क्षेत्रफल करिब ५,३२३ वर्ग किलोमिटर छ। अन्दाजी ४८१ घन किलोमिटर हिउँ यी हिमतालहरूमा जम्मा भएर बसेको छ।
जलवायु परिवर्तनबाट उच्च हिमाली क्षेत्रहरूको तापमान वृद्धि हुँदा हाम्रा हिमताललगायत अन्य क्षेत्रमा जम्मा भएर बसेका हिउँ पग्लन थालेको छ। जसबाट तालतलैया फुटी बाढी÷पहिरो जान सक्छ। हिमताल फुट्नुका कारणमा भूक्षय, पानीको चाप बढ्नु, हिउँ वा चट्टानहरूको हिमस्खलन र बरफमुनि भूकम्पका कारण हुन सक्छ। साधारणतः डुबान र बाढी÷पहिरो जानुमा प्राकृतिक र मानव सिर्जित कारणबाट हुने गर्छ। अहिले विश्वमा देखिएको वातावरण र जलवायु परिवर्तन मुख्यतः मानिसले प्रकृतिको अत्यधिक दोहनबाट निस्केको परिणाम हो। यसको असरले हाम्रा खोला नदीनालामा पानीको मात्रा वा बहाव अप्रत्याशितरूपमा परिवर्तन भैरहेको छ। साथै, खोला/नाला मिची बसाइएको मानव बस्तीहरूले पानीको बहाव अवरुद्ध गरिदिँदा उक्त बस्तीहरू नै बाढीले बगाउने अवस्था सिर्जना भएको छ।
जलवायु परिवर्तनले गर्दा हिमतालहरू फुटी त्यसबाट तल्लों क्षेत्रका परियोजनाहरूमा पार्ने असरहरूमा पनि गहिरो अध्धयनको आवश्यकता पर्छ। विश्वमा जलवायु परिवर्तन एक बिवकराल समस्याका रूपमा देखिँदैछ। गत वर्ष माघ २५ गते भारतको नन्दादेवी हिमालको चमोली जिल्लास्थित रेनी गाउँमा रहेको हिमताल फुटेर त्यसबाट धेरै घनजन क्षति भएको देखिन्छ। यस हिमतालबाट बहने ऋषिगंगा नदीको पानीको सतह बढ्न जाँदा त्यहाँ रहेको १३.२ मेगावाटको हाइड्रोपावर प्लान्ट पूर्णरूपमा क्षति भएको थियो भने यसले गर्दा धुलीगंगामा रहेको २८० मेघावट हाइड्रोपावर प्लान्टमा पनि क्षति पुगेको थियो। यदि उक्त परियोजनाहरू ठूला पानी भण्डारण क्षमताका हुन्थे भने यसबाट हुने क्षति हाम्रो आकलन बाहिरको हुन सक्थ्यो।
नेपालले प्रयोग गर्ने करिब १५ अर्ब घनमिटर पानीमा ९६% जति कृषि कार्यमा प्रयोग हुन्छ। बाँकÞी ४% घरायसी प्रयोजन र औद्योगिक तथा मनोरञ्जन कार्यमा त नगण्य मात्रामा छ। यसरी आउने वा पर्ने पानीलाई व्यस्थापन गर्न नसक्दा हरेक वर्ष नेपालमा बाढी जाने गर्छ। गृह मन्त्रालयको रिपोर्टअनुसार सन् १९९३ मा गएको बाढीलाई सबै भन्दा विनाशकारी बाढीका रूपमा रेकर्ड गरिएको छ। यस बाढीबाट १,३३६ जनाको ज्यान गएको थियो भने ४,८७,००० मानिस घरबारविहीन भएका थिए। साथै यस बाढीबाट ३२,७६५ घरहरू तथा अन्य क्षेत्रबाट काठमाण्डू जोड्ने मुख्य सडक तथा पुलपुलेसाहरू बगाएको थियो।
हिमालयबाट बग्ने पानीको बहावलाई नियन्त्रण गर्न प्रयोग हुने प्राकृतिक बाँधहरूमा क्षति, हिमतालहरूको पग्लाइमा बढेको दर, वन÷जंगल फँडानी, जथाभावी संरचनाहरू निर्माण, नदीनालाबाट गिट्टी बालुवाको ज्यादा उत्खनन तथा यसले बगाउने ढुंगा माटो आदिका कारण बाढीले पार्ने असरमा बढोत्तरी भएको छ। त्यसैले उचित तरिकाबाट बाँध बाँधी पानी भण्डारण गर्न सकेमा यसबाट जलवायु परिवर्तनमा पार्न सक्ने असर तथा बर्सेनि हुने क्षति कम गर्न सकिन्छ। यसले हाम्रो जस्तो गरिब देशहरूमा पानी बाँडफाँटका समस्या साथै खाद्य सुरक्षामा पर्ने असर कम पनि गर्न सकिन्छ।
प्रमाणहरूका आधारमा यो भन्न सकिन्छ कि आर्थिकरूपमा हेर्दा जलविद्युत्का लागि निर्माण गरिएका बाँधहरूबाट बिजुली बेची प्राप्त हुने आम्दानी, सिँचाइ र अरू घरायसीरूपमा प्रयोग हुने पानीबाट भन्दा बढी हुने गर्छ। तर योजना बनाउँदा बहुउद्देश्यीय प्रयोजनका हिसाबले गर्न सकेमा यसबाट प्राप्त हुने आम्दानी दिगो र सर्वपक्षीय समुदायले लाभ लिन सक्ने र फाइदा पनि एकल बिजुली उत्पादन भन्दा कैयौँ गुणा बढी हुने गर्छ। जलविद्युत्सहित बहुउद्देश्यीय परियोजना विकास गरी यसबाट प्राप्त हुने फाइदाबाट धेरै देश धनी बनेका छन तर यसको विपरीत गरिब देशहरूले क्षमताको केही भाग मात्र विद्युत् बिकास तथा अन्य काममा प्रयोग गर्न सकेका कारण पूर्णरूपमा यसबाट हुने दिगो विकासको फाइदा लिनबाट वञ्चित छन्। जलविद्युत् विकासबाट कार्बन उत्सर्जन कम हुन गई वातावरणीय प्रभावमा पर्ने असर पनि कम गर्न सकिन्छ।
हरेक परियोजना अगाडि बढाउँदा यसले पार्न सक्ने प्रभावबारे पनि विस्तृत अध्ययन हुनुपर्छ किनकि यसको असर क्षणिकमात्र नभइ दीर्घकालीन हुने गर्छ। बहुचर्चित परियोजना बूढी गण्डकीको अध्ययन धेरैअगाडिबाट हुँदै आए पनि यसको निर्माण मोडालिटी कसरी बढाउने भन्नेमा अन्योल नै छ। अस्थिर सरकारका कारण विनाप्रतिस्पर्धामा आफूले रोजेको कम्पनी छनोट गरी काम अगाडि बढाउन खोज्दा कामले खासै प्रगति लिन सकेको छैन। बाँध बाँधेर जलाशय निर्माण गर्दा त्यस पानीबाट बिजुलीका साथै सिँचाइ, पिउने पानी, फिस फÞार्मिङ, मनोरञ्जनात्मक कार्यलगायत अन्य काममा उक्त पानी प्रयोग गर्न सकिए तापनि यस किसिमका जलाशय निर्माण गर्दा यसले प्रयोग गर्ने पानीमा त्यो भन्दा माथिका परियोजनाले गर्ने असर साथै जलाशय भन्दा तलको परियोजना तथा तल्लो तटीय क्षेत्रको जनजीवनमा उक्त जलाशय निर्माणले पर्ने असर समष्टिगतरूपमा अध्ययन गर्नुपर्ने हुन्छ।
त्यसका लागि उक्त बेसिनमा रहेका सबै परियोजनालाई (बनिसकेका र भविष्यमा कम लागतमा बन्न सक्ने) एकमुष्ट अध्ययन गरी पानीको उपयोग कसरी गर्ने तथा बाढी पहिरो आउँदा उक्त बाँधहरूलाई कुन मोडालिटीमा चलाउने (अपरेसन गर्ने) भन्नेमा पनि विस्तृत अध्ययन हुन जरुरी छ अन्यथा यसले पार्ने असरबाट समुदायहरूले लामो समयसम्म ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। इसिमोडको रिपोर्टअनुसार बूढीगण्डकी नदीमा १२ वटा हिमताल रहेका हुँदा भविष्यमा यसले पार्न सक्ने असरबारे पनि अध्ययन हुनु जरुरी देखिन्छ। यस परियोजनामा भारतको पनि धेरै नै रुचि छ किनकि यसबाट सतहीरूपमा हेर्दा पनि कम्तीमा ३ वटा फाइदा देखिन्छ। प्रथमतः यस बाँधबाट उसलाई बर्सेनि बाढी÷पहिरोबाट हुने धनजनको क्षतिमा कमी आउनेछ भने दोस्रोमा उसले पानीलाई रेगुलेट गरी त्यो पानीलाई सुक्खा क्षेत्रमा प्रयोग गर्नेछ र उसको रिभर लिंकिङ परियोजनामा पनि सहयोग हुनेछ। साथै यसबाट उसले सस्तोमा बिजुली पनि प्राप्त गर्नेछ।
प्रकाशित: २० असार २०७८ ०६:२० आइतबार