विचार

निर्वाचन किन?

फेरि पनि देशले भोगिरहेको कठिन र खतरायुक्त संक्रमणकालले निकास पाउने बाटोमा अवरोध देखिइरहेका छन्। निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका राजनीतिक दलहरु आफू चोखा र निर्वाचनका लागि गठित सरकार गलत भएको दाबी गर्दै भाषण गरिरहेका छन्। कुनै कुरालाई वा कुनै मानिसलाई झुटो प्रमाणित गरेर आफूलाई साँचो प्रमाणित गर्न सकिँदैन। यो तर्कशास्त्रको सामान्य नियम हो। अर्थात् साँचो के हो भन्ने कुरा प्रमाणित गर्न त्यो झुटो होइन भनेर प्रमाणित गरेर पुग्दैन। अर्थात् दुई र दुई जोडेर ५ हुँदैन भन्ने कुरा बताएर दुई र दुई जोड्दा किन प्रतिफल ४ हुन्छ भन्ने कुराको उत्तर हुन सक्दैन। अर्थात् सरकारले निर्वाचनको मिति तोकेन भनेर राजनीतिक दलले आफूलाई ...सत्य र साँचो' सावित गर्न खोज्नु एउटा ठट्टामात्र हुनेछ। वास्तवमा निर्वाचनको मिति तोक्ने कार्य राजनीतिक दलका नेताहरुबाटै अवरुद्ध भइरहेको छ।

निर्वाचनको कार्य सम्पन्न गर्न सर्वप्रथम निर्वाचन ऐन चाहिन्छ। राजनीतिक दलले गरेको सहमतिमा धारा १५ अनुसार जारी गरिएको बाधा अड्काउ फुकाउको आदेशअनुसार संविधान सभाको सदस्य संख्यामा परिवर्तन गरिएको छ। लगायत् थुप्रै कानुनी प्रावधानमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। तर राजनीतिक दलहरुले निर्वाचन ऐनको अध्यादेश जारी गराउने कुरामा पहल गरेका छैनन्। यो कसैले ढाँटेर ढाँटिने कुरा होइन। अझ जसलाई असारमा निर्वाचन गराउने व्यग्रता छ, उसले अध्यादेशको निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने हो। अतः निर्वाचन कानुनको निर्माणलाई बेवास्ता गरेर असारमा निर्वाचन गर्ने सपनाको प्रचारप्रसार र सरकारको आलोचना प्रचारप्रसारको विषयवस्तु बन्नु फेरि पनि एउटा झुटो कुराद्वारा सत्य वा साँचोको पक्षपोषण गर्ने खेलबाहेक केही होइन भन्ने धेरै विश्लेषण गर्नुपर्ने विषय नै होइन।
निर्वाचन देशलाई भड्खालोबाट निकालेर बचाउने एएटा प्रयास हो। देश हिजो राजनीतिक दलहरुको निहीत स्वार्थ, निष्त्रि्कयता र अकर्मण्यताले एउटा बालकलाई फोहोर इनारमा फ्याँकिएको अवस्थामा पुर्यासइएको थियो। अघिल्लो सरकारका समयमा त्यो फोहोर कुवामा फालिएको त्यो बालकलाई कसले निकाल्ने भनेर केबल छलफल भयो तर त्यो बालकको मृत्यु हुन सक्छ भन्ने चिन्ता नगरिएको मात्रै होइन, मरे मरोस् भन्ने सोचाइ राखियो। राजनीतिक दलहरुले त्यो बालकलाई इनारबाट निकाल्न आफूहरु अक्षम भएकाले मन्दिरका पुजारीलाई अराए। अहिले कमजोर, शिथिल, थरथरी कामिरहेको, बिरामी, थकित, भोको त्यो बालक इनारबाट बाहिर झिकिएको छ। कोही भन्दैछन्, राजनीतिक दलका नेताले झिक्नुपर्नेमा पुजारीले झिकेको हुँदा त्यो गैरकानुनी भयो, त्यसैले त्यो बच्चालाई इनारमा खसाइपाउँ। कोही भन्दैछन्, त्यो बच्चा हामीलाई नसोधी निकालिएको हुँदा त्यसलाई नुवाइधुवाइ गरेर हिँडाइयो भने त्यसका खुट्टा भाँचिदिनेछौं। कोही भन्दैछन्, त्यसलाई खुवाइ पियाइ गरियो भने भान्सेलाई ठटाइदिने छौं।
त्यो बालक देश हो। त्यसको मृत्यु भयो भने तपाईं हामी कोही पनि रहने छैनौं। त्यो थकित बिरामी कमजोर बालक बाघ, भालु, सर्पसँग लड्न सक्ने अवस्थामा छैन र हुँदैन, जबसम्म त्यसलाई न्यानो बस्ने ठाउँ र पौष्टिक आहार दिइँदैन। अहिले विभिन्न दरबार र सडकमा बसेकाहरुले यो नांगो तथ्य बुझ्नुपर्ने हो तर जसले जे भने पनि जतिसुकै कुरा गरे पनि, जतिसुकै राष्ट्रियताका कुरा गरे पनि, जतिसुकै देशका शुभचिन्तनका कुरा गरे पनि देशभन्दा प्यारो त आफ्नै मान्यता, स्वार्थ र लोभ रहेछ। यदि त्यो बालकलाई इनारबाट झिकेको कुरा गलत हो भने ...सत्य र साँचो' के हो त? अब जनताले विद्वान्हरुसँग, राष्ट्रवादीहरुसँग, न्यायाकर्ताहरुसँग, अधिकारवादीहरुसँग सोध्ने बेला भएको छ।
राष्ट्रियता राष्ट्रप्रतिको लगाव हो र मानिसको खास पहिचान हो। प्रत्येक व्यक्तिको त्यो पहिचान त्यस व्यक्तिको त्यस राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानमाथिको लगाव र प्रतिबद्धताद्वारा निर्माण भएको हुन्छ। अतः व्यक्तिले राष्ट्रको निर्माण गर्छ। राष्ट्रियता मानिसले आफैं निर्माण गर्छ, कसैले दिने कुरा होइन। म नेपाली हुँ भन्ने कुरा मेरो अनुभूति, मेरो लगाव र मेरो प्रतिबद्धता हो। यो नै उसको पहिचान हो। यदि म नेपाली हुँ भने मलाई यसभित्र बसेर अधिकार खोज्ने, रिसाउने, झगडा गर्ने, कुर्लिने अधिकार छ। त्यसैले मैले नै निर्णय गर्नुपर्छ- मेरो अधिकार जायज छ वा छैन? यदि मलाइ लाग्छ, मलाई अधिकार दियो भने नेपाली हुन्छु, होइन भने नेपाली हुन्न वा सत्तामा पुगे नेपाली हुन्छु, मेरो विचारले जित्यो भनेमात्र नेपाली हुन्छु भने मेरो आन्दोलन राष्ट्रघात हो। अब दरबारमा बस्ने र सडकमा बस्नेले सोच्नुहोस्, नेपाली भएर आन्दोलन गर्दै हुनुहुन्छ, सत्ताका लागि आन्दोलन गर्दै हुनुहुन्छ? तपाईंले मायाले कुटे पनि रिसले कुटे पनि इनारबाट तपाईंले निकालेको बालक त कमजोर भएको छ, त्यसैले मर्छ नै।
किन तपाईँलाई असारमै निर्वाचन चाहिने हो? किन तपाईं अर्काथरीलाई मंसिरमा निर्वाचन चाहिने हो? किन तपाईँ अर्काथरीलाई चुनाव गराउन सकिन भन्नेहरुले नै चुनाव गराउनुपर्ने हो? सबैलाई थाहा छ, तपाईँहरु सबैको चाहना न्याय, इन्साफ सत्य, साँचो इत्यादिका नाममा चाहिएको केवल आफ्नो स्वार्थको पूर्ति हो। चाहिएको जनता र देश होइन, चाहिएको आफ्नो मालिकत्व हो।
तपाईँहरुमा एउटा असल मानिसले निर्भिक, गुणी, स्वार्थहीन भएर सोच्न सक्ने क्षमताको ह्रासमात्रै होइन, पतन भइसकेको अब सबैले देखेका छन्। ख्याल गर्नुभएको छ? तपाईँहरुका राजनीतिक संगठनभित्र भाइरस लागेको छ। तपाईँका पार्टी फुटाइएका छन्। तपाईँहरुभित्र गुट, उपगुटका नाममा स्वार्थी समूह निर्माण गरिएका छन्, तपाईँहरुभित्र आफ्नै मित्रलाई समाप्त पारेर पद प्राप्त गर्ने जीर्ण र अपच चाहना दिमागमा भरिएका छन्। एकपटक एक्लै कोणमा बसेर ध्यान गर्नुहोस् त! तपाईँ आफ्नै मित्रलाई समाप्त पार्न तयार हुनुहुन्छ वा हुनुहुन्न?
जब राजतन्त्र थियो, राजतन्त्रलाई नजिक ल्याएर एक अर्कालाई समाप्त पार्न तयार हुनुभयो। त्यसबेला तपाईँहरुले लोकतन्त्रलाई आदर्श मान्नुभएन। तत्कालीन नेकपा (माओवादी)ले पटकपटक राजासँग सहमति गर्न खोजेछ। त्यो कुन मार्क्सवादी नैतिकता थियो ? राजासँग मिलेर नेपाली कांग्रेसले सेना प्रयोग गरी माओवादीलाई समाप्त गर्न खोजेको रहेछ, राजनीतिक सम्बन्धलाई सैन्यशक्तिद्वारा दमन गर्ने कुरा कुन लोकतान्त्रिक नैतिकताअनुरूप थियो? राजाको निरंकुशताविरुद्ध आवाज उठ्न थालेका बेला नेपाली कांग्रेसको एउटा पक्ष र नेकपा (एमाले)ले समेत आधा प्रतिगमन सच्चियो भनेर राजाको निरंकुशतालाई स्वीकार गर्दै सरकारमा प्रवेश गर्नुभयो, त्यो कुन राजनीतिक मूल्य र मान्यताअनुरूप थियो? २०६३ सालमा जनताले माओवादी, कांग्रेस र एमालेलाई उद्दार गरेकै हो। तर लगत्तै ...दुई खम्बे नीति'का नाममा तपाईँहरुलाई विभाजित गर्ने प्रयास भयो, त्यसपछि संविधान सभाको निर्वाचन नगर्ने परिपञ्च भए, त्यसपछि नेकपा (माओवादी)लाई अस्वीकार गर्ने मोर्चाबन्दी भयो, त्यसपछि राजनीतिक ध्रुवीकरणको प्रयास भयो, त्यसपछि अचानक एनेकपा (माओवादी) र मधेसी मोर्चालाई उक्साएर मोर्चागत ध्रुवीकरण सुरु गरियो र अहिले देश ध्रुवीकरणमा छ। तर कसैको कसैसँग विश्वास छैन। ध्रुवीकरणले संविधान सभालाई खाइदियो। एनेकपा (माओवादी) र मधेसी मोर्चाको अहम् र कांग्रेस तथा एमालेको डर दुवै कुराले संविधान सभा सकियो।

एक पटक तपाईँहरु आत्मसमीक्षा गर्नुहोस्। क-कसले खेलेका छन्? तपाईँहरुलाई कति धेरै विभाजन गरेका छन्? तपाईँहरुभित्र एउटै एउटै दलका समर्थक शुभेच्छुक होइन, एक अर्काका दुस्मनको मानसिकता भरिएको छ। तल एउटा गाउँमा समेत फलाना र ढिस्कानाको मानिस भनेर चिनिएको अवस्था छ। यो निर्वाचन हुन नदिए देशमा आपत्कालीन अवस्थामा पुर्याेउने र त्यसपछि राष्ट्रपतिलाई पनि विवादित बनाइदिएपछि देशमा पूर्ण अराजकता निर्माण गर्ने जुन ग्रान्ड डिजाइन छ, त्यसले देशलाई समाप्त पार्नेछ। तपाईँहरुले यो बुझ्नुभएको छ तर तपाईँको पदको सपनाले देशलाई बर्बादीतर्फ धकेलेको देख्नुभएको छैन। त्यसैले दरबार र सडकमा बस्नेहरु देशलाई हेरेर वार्तामा बस्नुहोस्। कोही त मलाई प्रधानमन्त्री, राष्ट्रपति केही चाहिएको छैन, केवल देश चाहिएको छ भनेर आउनुहोस्, हजारौंले फूलमाला लगाइदिनेछन्।

प्रकाशित: २५ चैत्र २०६९ २२:४४ आइतबार