विचार

क्रान्तिमा सिद्धान्तको भूमिका

फ्रेन्च क्रान्ति र जारहरुका विरुद्ध गरिएको लिबरल डेमोक्र्याटिक रसियन क्रान्ति इतिहासमा 'गणतन्त्रका' लागि गरिएका अत्यधिक महत्वपूर्ण घटना मानिन्छन्। विश्वको राजनीतिक दर्शन र व्यवस्थाको विकासमा यी दुई क्रान्तिबाट धेरै पाठ सिक्न सकिन्छ। रसियामा निरंकुश जारसाहीविरुद्ध जनताले विद्रोह गरेका थिए, त्यहाँको सेनाले पनि विद्रोह गरेको थियो जनताको पक्षमा। फ्रेन्च क्रान्तिलाई युरोपियन राजनीतिक चेतनाको अनुपम उदाहरण नै मानिएको थियो। तर दुवै क्रान्ति पूर्ण रुपमा असफल भए। मुख्य कारण के भने यी दुवै क्रान्तिका पछाडि आधारभूमिका रुपमा रहेका सिद्धान्त त्रुटिपूर्ण थिए।

यी दुवै क्रान्तिले राजतन्त्रलाई समाप्त पारेर गणतन्त्र स्थापना गर्ने लक्ष्य राखे पनि क्रान्तिपछाडिको समाज व्यवस्थापनका सिद्धान्त वा वैज्ञानिक चिन्तनको अभाव दुवै क्रान्तिमा थिएनन्। उनीहरुले आम गरिब, पीडित, दमनका सिकार बनाइएका जनतालाई 'क्रान्ति'ले सबै कुरा दिन्छ, अर्थात क्रान्ति सबै कुराको समाधान हो भन्ने कुरा जनताको दिमागमा भरे। अर्थात दुवै क्रान्ति स्वप्नवादमा आधारित थिए। जेसुकै भए पनि अन्ततः क्रान्ति हिंसा नै हो र त्यसले मानिसलाई पीडा त दिन्छ नै। यद्यपि क्रान्तिका पछाडिको युग परिवर्तनको बाटोतिर लाग्यो र त्यसले मानिसको कल्याण गर्ने नयाँ व्यवस्था निर्माण गर्योा भने मानिसले पुराना कुरा बिर्सन्छन्। क्रान्तिमा भोगेका पीडा बिर्सेर नयाँ जीवन निमाण गर्छन्। तर, क्रान्तिले नयाँ व्यवस्था निर्माण गर्न सकेन भने त्यस्तो कथित क्रान्तिले विगतको द्वन्द्वलाई 'मनोवैज्ञानिक विभाजन'का कारणका रुपमा स्थापित गर्छ र त्यस्तो मनोवैज्ञानिक विभाजनले राजनीतिक अराजकता, हिंसा, मानिसका बीचमा एकआपसमा सन्देह, क्रान्ति गर्नेहरुका बीच विभाजन र अपराधका घटनाको वातावरण निर्माण गर्छ।
रसियामा असफल क्रान्तिले जारहरुलाई झन् निरंकुश बनायो। रसियन समाजलाई पूर्णरुपमा विभाजित गर्योम। रसियन समाज अराजकता र हिंसाको चपेटामा पर्यो । फ्रेन्च क्रान्तिको उन्मादले हजारौं मानिसको ज्यान गयो। अन्तमा क्रान्तिकारीको विभाजन भयो र एकले अर्कोलाई समाप्त गरे। अन्तमा क्रान्तिको यसै असफलताबाट नेपोलियनको जन्म भयो। नेपालमा अहिले देखिएको ध्रुवीकरण, कानुनलाई हातमा लिने प्रवृत्ति, प्रेसमाथि आक्रमण, मानिसमा देखिएको निराशा, राजनीतिक शक्ति सडकमा भिडन्त गर्नसक्ने सम्भावना, महिलामाथि हिंसा र अत्याचार, सरकारी कोष दुरुपयोग र अकल्पनीय भ्रष्टाचार र आर्थिक अपराध शृंखलाले नेपालमा दसवर्षे जनयद्ध असफल क्रान्ति थियो भन्ने कुरालाई संकेत गर्छन्। हिजो जनयुद्धको नेतृत्व गर्ने शक्ति नै आज सत्तामा छ। संविधानसभा विघटन गर्दा पनि ऊ नै सत्तामा थियो। अहिलेको अवस्थालाई सम्बोधन गर्ने जिम्मेवारी तसर्थ विपक्षीको होइन। त्यस जनयुद्धका नायक नै अहिले 'लेनिनवाद र माओवाद'का बारे पुनर्विचार गर्नुपर्ने तर्कसाथ महाधिवेशनमा जुटेका छन्।
किन रसियन एवं फ्रेन्च क्रान्ति असफल भए? के त्यसका नेता फटाहा थिए? होइन। उनीहरु समाज बदल्न चाहने जोसिला युवा र सचेत नागरिक थिए। तर, उनीहरुले बोकेका सैद्धान्तिक मान्यता र रणनीति गलत थिए। त्योभन्दा पनि महत्वपूर्ण कुरा उनीहरु 'आफ्ना सिद्धान्त र रणनीति' गलत हुन सक्छन् भन्ने कुरा मान्न कुनै हालतमा तयार थिएनन्। तसर्थ उनीहरु 'वैज्ञानिक' हुन सकेनन् बरु 'जडसूत्रवादी' हुन पुगे। दुइटा सिद्धान्तको उनीहरुले वकालत गरेका थिए। रसियन क्रान्तिकारीले मानिसलाई 'असाधारण र साधारण' मानिसमा विभाजन गरे। अनि भने, 'साधारणले उल्लंघन गरेको कानुन अपराध हुन्छ, असाधारणले गरेको कानुन उल्लंघन विद्रोह हुन्छ।' असाधारण मानिसले गरेको हत्या 'मानिसको हत्या होइन मानिसले बोकेको गलत सिद्धान्त' को हत्या हुन्छ। यसै सिद्धान्तका आधारमा 'रसियाका लिबरल क्रान्तिकारी'ले उनीहरुका शुभेच्छुकले गरेको अपराधलाई जायज प्रमाणित गरे। अन्ततः समाज उनीहरुका विरुद्ध भयो र उनीहरु धेरै जारहरुबाट मारिए।
उता फ्रान्समा क्रान्तिकारीले, उनीहरुको समूह र सिद्धान्त मान्नेबाहेकका सबै 'प्रतिक्रान्तिकारी हुन्छन्' भन्ने सिद्धान्त ग्रहण गरे। राजतन्त्रविरुद्ध संलग्न 'लिबरल डेमोक्रेटिक'हरुलाई 'बुजुर्वा' भन्दै उनीहरुलाई पनि प्रतिक्रान्तिकारीकै कित्तामा राखेर सजाय दिए। उनीहरुको मान्यता थियो, 'फ्रेन्च क्रान्तिकारी'ले बोकेबाहेकका सबै सिद्धान्त प्रतिक्रान्तिकारी हुन् र तिनको विनास गर्नैपर्छ। परिणाम उनीहरुले 'धर्म मान्ने सबैलाई मारे। विरोधीहरु त मारे नै, उनीहरुबाहेकका गणतन्त्रवादीलाई पनि सके। रसियामा जस्तै फ्रेन्च क्रान्तिकारीलाई पनि समाजले बहिस्कार गर्योन। नेपोलियन सम्राटका रुपमा उदय भए। बेलायतमा ओलिभर क्रमवेलले यसै गरे। उनको पनि पतन भयो। नेपालमा अहिले एउटा प्रश्न खडा भएको छ, किन मारिए हिजो चौध हजार मानिस?
क्रान्तिको संरचना निश्चित सिद्धान्तलाई मूल्य र मान्यता बनाएर उभिएको हुन्छ। सिद्धान्त त्रुटिपूर्ण छ भने त्यसमा खडा भएको संरचना स्वतः त्रुटिपूर्ण हुन्छ। यो सत्यमा होइन, विज्ञानमा आधारित छ। विज्ञान भावना, विश्वास र बलका आधारमा झुठो सावित हुँदैन। यहाँ प्रश्न उठ्छ, त्यसो भए किन क्रान्तिकारी गलत सिद्धान्त ग्रहण गर्न प्रेरित हुन्छन् त? संसारमा भएका क्रान्तिकारी घटना अध्ययन गर्दा, जब क्रान्ति गर्ने नेतृत्व सत्ताका लागि लालायित हुन्छ, उसले वैज्ञानिक सिद्धान्तलाई नियतपूर्वक व्याख्या गर्न थाल्छ। उसले भन्न थाल्छ, ऊ सत्तामा पुगेमात्र वा धेरै क्रान्तिकारीमध्ये उसको भूमिका मुर्धन्य भएबाट, क्रान्तिको सफलता उसमा निहित हुन्छ। जनताले गरेको क्रान्तिमा 'यो नै विनासको' पहिलो खुड्किलाका रुपमा असफल क्रान्तिमा दर्ज रहेको पाइन्छ।
तर त्यसको ठिक विपरीत भारतको मुक्ति आन्दोलन, दक्षिण कोरियाको स्वतन्त्रता आन्दोलन, चीनको जनवादी क्रान्ति, भियतनामको स्वतन्त्रता तथा जनवादी क्रान्ति र संसारका थुप्रै देश क्रान्तिपछाडि राजनीतिक स्थायित्वबाट अगाडि बढे। गान्धीले आफूलाई राजनीतिक 'मियो'का रुपमा प्रस्तुत गरे पनि, राजकीय पदको लोभमा परेनन्। दक्षिण अफ्रिकामा 'मन्डेला'ले आफूलाई नेताका रुपमा कहिल्यै प्रस्तुत गरेनन्। जनवादी क्रान्तिपछाडि माओले आफूलाई राष्ट्रपति घोषित गरेनन् र चाओलाई राज्य हाँक्ने जिम्मा दिए। ती क्रान्तिमा यदाकदा ससाना त्रुटि भए, तर तत्कालै नेताहरुले गल्ती स्वीकार गरे। माओले समेत सांस्कृतिक क्रान्ति गलत थियो भन्दै देङ सियाओ पिङलाई पार्टीमा पुरानै भूमिकामा फिर्ता गरे। मुख्य कारण के भने ती क्रान्तिका संरचनाका पछाडि 'सत्ताप्राप्ति' उद्देश्य थिएन। समाजको आमूल परिवर्तन ती क्रान्तिको ध्येय थियो। १२ बुँदे सहमतिपछाडि तत्कालीन माओवादी नेताले पनि आफूहरु राजकीय पदमा नजाने बताएका थिए, र साँच्चिकै जनतामा परिवर्तनको आशा पलाएको थियो।
नेपालमा क्रान्ति र राजनीतिप्रतिको यस्तै निष्ठा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, नारायणमान विजुक्छे र मोहन वैद्यले पनि देखाएका छन्। मदन भण्डारीले मनमोहन अधिकारीलाई फ्याँकेर प्रधानमन्त्री आफैं हुन चाहेको भए प्रधानमन्त्री हुन कसैले रोकेको थिएन। मोहन वैद्यले चाहेको भए उनी पनि प्रधानमन्त्री हुन नसक्ने थिएनन्। तर, उनीहरु सिद्धान्त र आदर्शद्वारा राजनीतिमा प्रेरित थिए, सत्तामोहले होइन। २०४६ सलाको आन्दोलन सफलतापूर्वक सम्पन्न भयो। गणेशमानले कृष्णप्रसाद भट्टराई, मदन भण्डारीले झलनाथ खनाललाई सरकारमा पठाए। मनमोहनले सहाना प्रधानलाई पठाए। लोकतन्त्रका लागि लड्ने शक्तिहरुका बीच भावनात्मक एकता र कार्यगत एकता थियो। त्यसैले राजा र तत्कालीन शाही सेनाले नचाहँदा-नचाहँदै पनि नेपालमा २०४७ सालको संविधान घोषणा भयो।
जब ०४८ सालमा निर्वाचन भयो लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने प्रमुख दायित्व बोकेको नेपाली कांग्रेसभित्रको कोइराला गुटले एमालेसँग सडकमा कुस्ती खेल्न थाल्यो र गणेशमान र भट्टराईलाई पाखा लगाउने खेल खेल्यो। परिणाम नेपाली कांग्रेस आज गुटहरुको भूमरीमा लोकतन्त्रको पहरेदार हुने भूमिकाबाट वञ्चित भइरहेको छ। कारण 'सत्तालिप्सा' नेपाली कांग्रेसको सैद्धान्तिक आधारभूमि बन्यो। जनताको लोकतान्त्रिक आन्दोलन र जनताको रुपान्तरणको एजेन्डा उसको राजनीतिक आधारभूमि बनिरहेको छैन। नेकपा एमाले बहुदलीय जनवादको लोकतान्त्रिक मान्यतामा आधारित छ। तर, उसले सामाजिक जीवनपद्धतिमा मानिसका अन्तर्क्रिया मार्क्सवादी विज्ञानबाट सञ्चालित हुनुपर्छ भन्ने दृष्टिकोणलाई आधारभूमिका रुपमा ग्रहण गरेबाट, नेपालको राजनीतिक परिदृश्यमा ऊ वामपन्थी लोकतन्त्रको प्रतिनिधित्व गर्ने शक्तिका रुपमा स्थापित रहेको भए पनि उसले 'सामाजिक घटना र नेपालको राजनीतिक-इतिहासको घटना'लाई मार्क्सवादी विश्लेषण गर्ने प्रवृत्तिलाई बिर्सन थालेको छ। एमालेको सवालमा पनि 'सत्ता केन्द्र भाग' मा नदेखिएको होइन।
यद्यपि हिजो क्रान्तिको अगुवाइ गर्ने 'एमाओवादी' ले गठबन्धन गर्नुपर्ने राजनीतिक शक्ति कांग्रेस र एमाले नै हुन् भन्ने कुरा त सजिलै देख्न सकिन्छ। नेपालको परिवर्तनका क्रममा 'लिबरल डेमोक्र्याटिक' धारलाई प्रतिनिधित्व गर्ने कांग्रेस र 'वामपन्थी डेमोक्र्याटिक' धारलाई प्रतिनिधित्व गर्ने एमालेलाई विस्थापित गरेर नेपालमा क्रान्तिको सपना देखे 'एमाओवादी' ले त्यही भूल दोहोर्या्उनेछ जुन भूल इतिहासमा रसियन लिबरल डेमोक्र्याटिक क्रान्तिकारी र फ्रेन्च क्रान्तिकारीले गरेका थिए। अतः अहिलेको विभाजित राजनीतिलाई समेट्ने दायित्व सत्तामा रहेका एमाओवादीलाई छ। माओवादीले त्यसो नगर्दा आन्दोलन गर्ने हक विपक्षीलाई छ। तर कांग्रेस र एमालेले प्रधानमन्त्रीले राजीनामा दिऊन्/नदिऊन्, त्यसको कुनै चासो नराखी 'नेपालको राष्ट्रिय सुरक्षा, भ्रष्टाचार, अराजकता, अपराधका गम्भीर मुद्दालाई बोकेर जनतासमक्ष जानुपर्छ। यदि लोकतान्त्रिक शक्तिले आफूलाई जनतासमक्ष जोड्ने प्रयास नगरी सत्ताको फोहोरी खेलमा आफूलाई सीमित राखे भने 'नेपालमा निरंकुश' सत्ताको उदय एउटा नचाहेको घटनाका रुपमा व्यहोर्न नेपाली जनता बाध्य हुनेछन्। यसले एमाओवादी, कांग्रेस र एमाले सबैलाई घात गर्नेछ। त्यसैले यो समय एमाओवादीले विचार पुर्यासउने बेला हो। उसले बनाएको गठबन्धन र उसले गरेको क्रान्तिबीच कुनै साइनो छ? त्यसको पनि जवाफ खोज्नुपर्ने बेला आएको छ।

प्रकाशित: २१ माघ २०६९ २२:४७ आइतबार