विचार

महामारीपछि बदलिँदो भूराजनीति

कोभिड–१९ महामारीको दीर्घकालीन असरको ठ्याक्कै भविष्यवाणी गर्न कठिन छ। अन्य विभिन्न सम्भावना आकलन गर्न सकिने भए पाँचवटा परिदृष्य प्रमुख देखिन्छन्।

पहिलो सम्भावित परिदृश्य हो, विश्वव्यापी उदार चरित्रको अन्त्य। दोस्रो विश्व युद्धपछि अमेरिकाले स्थापना गरेको विश्व व्यवस्थाअन्तर्गत विभिन्न संस्थागत संरचनाको विकासका कारण अन्तर्राष्ट्रिय व्यापार तथा वित्तमा उदारीकरण सुरु भयो। त्यसो त कोभिड–१९ महामारी सुरु हुनुअघि पनि चीनको उदय र पश्चिमी प्रजातन्त्रमा आएको लोकप्रियतावादले यो विश्व व्यवस्थालाई चुनौती दिइसकेको थियो। चीनले यो विश्व व्यवस्थाबाट फाइदा लियो। तर चीनको रणनीतिक शक्ति बढ्दै जाँदा उसले नयाँ स्टान्डर्ड र नियमहरू स्थापना गर्न चाहेको छ। अमेरिकाले चीनको सो इच्छाको प्रतिरोध गर्दै आएको छ। अमेरिका विश्व स्वास्थ्य संगठन र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएको छ। कोभिड–१९ महामारीले अमेरिकाको विश्व ‘सिस्टम म्यानेजर’ हैसियत कमजोर बनाएको छ।

दोस्रो सम्भावित परिदृश्य हो, सन् १९३० को जस्तै सर्वसत्तावादको चुनौती। विश्वमा व्यापक बेरोजगारी, बढ्दो असमानता तथा सामुदायिक विचलन जस्ता गम्भीर समस्या सर्वसत्तावादका लागि ऊर्वर वातावरण तयार गर्न सहयोगी हुन्छन्। विश्वका धेरै राजनीतिक नेतृत्व अतिराष्ट्रवादको लोकप्रियताबाट फाइदा लिन उद्यत छन्। संरक्षणवाद र देशीयता बढ्दो क्रममा छन्। वस्तु र मानिसमा ट्यारिफ र कोटा लाद्न थालिएको छ, आप्रवासी र शरणार्थीलाई बलिको बोका बनाइएको छ। सर्वसत्तावादी राष्ट्रले क्षेत्रीय स्वार्थलाई सुनिश्चित गर्न चाहन्छ। उसले अपनाउने विभिन्नखाले हस्तक्षेपले हिंसक द्वन्द्व निम्त्याउन सक्छ। सन् २०२० अघि नै यस्ताखाले प्रयास नभएका होइनन् तर अहिले आर्थिक पुनर्उत्थानको कमजोर स्थिति, महामारीसँग लड्ने कमजोर क्षमताका कारण यस्तो हस्तक्षेप झन् बढ्न सक्ने देखिन्छ।

तेस्रो सम्भावित परिदृष्य हो, चीनको वर्चस्वसहितको विश्व व्यवस्था स्थापना। कोरोना महामारी नियन्त्रणमा चिनियाँ सफलताले उसको र अन्य प्रमुख शक्ति राष्ट्रबीचको आर्थिक दूरी बढेको छ। एकातिर चीनको अर्थतन्त्र फस्टाउँदो छ भने अर्कातिर अमेरिका, भारत र ब्राजिलको अर्थव्यवस्था खस्कँदो छ। रुससँगको कूटनीतिक सहजताले चीनलाई सहयोग पुगेको छ। आफ्नो बढ्दो प्रभावको पृष्ठभूमिमा चीनले सम्मान र आदर खोजेको छ। चीनले सुरु गरेको ‘बेल्ट एन्ड रोड’ अभियानले छिमेकी राष्ट्रलाई मात्र होइन, सुुदूर छिमेकी युरोप तथा ल्याटिन अमेरिकालाई समेत लक्षित गरेको छ। अन्तर्राष्ट्रिय निकायमा चीनको विरोधमा दिइने भोटले विभिन्न राष्ट्रलाई महँगो मूल्य चुकाउनुपर्ने हुन्छ। यसले ती राष्ट्रमा भएको चिनियाँ लगानी र बजार पहुँचलाई समेत प्रभावित पार्नेछ। महामारीको पृष्ठभूमिमा चिनियाँ अर्थतन्त्रको तुलनामा पश्चिमेली राष्ट्रहरूको अर्थतन्त्र कमजोर भएको छ। चीन सरकार र उसका प्रमुख कम्पनीहरूले यो स्थितिलाई आफ्नो अनुकूल पार्न खोजेका छन्।

यसैगरी चौथो सम्भावित परिदृष्य हो, अन्तर्राष्ट्रिय हरित अजेन्डा। सधैँ भविष्य नकारात्मक नै हुन्छ भन्ने हुँदैन। विभिन्न प्रजातान्त्रिक देशमा जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयमा जनमत बढ्दो छ। कतिपय सरकार र कम्पनीले यी विषयलाई हेर्ने दृष्टिकोणसमेत फेरेका छन्। त्यसो त कोभिड–१९ महामारीअघि पनि हरितसँग सम्बन्धित अजेन्डाले प्रमुखता पाउन थालिसकेका थिए। मानव र पृथ्वीको स्वास्थ्यको अन्तरसम्बन्धले प्रमुखता पाएका कारण हरित अजेन्डालाई स्वीकार गर्न विश्व समुदायलाई प्रेरित गरेको छ। उदाहरणका लागि अमेरिकी जनताले सन् १९४५ यता प्रतिरक्षामा सरकारले खर्चेको ७०० अर्ब डलरले महामारीलाई रोक्न नसकेको ठान्न थालेका छन्। सन् १९४५ यता भएका युद्धमा मारिएका अमेरिकीभन्दा कोभिड–१९ का कारण मृत्यु भएका अमेरिकीको संख्या धेरै बढी छ। परिवर्तित स्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ मार्सल प्लान घोषणा गरेका छन् जसअन्तर्गत गरिब देशलाई खोपको पहँुच तथा स्वास्थ्य सेवा प्रणाली सशक्त पार्न सहयोग गरिनेछ। सन् १९४८ को मार्सल प्लान अमेरिकाको आफ्नै स्वार्थमा प्रेरित थियो। त्यसले त्यसपछिका केही दशकको भूराजनीतिलाई प्रभावित पारेको थियो।

पाँचौं सम्भावित परिदृष्य हो, सबै कुरा उस्तै रहनु। सन् १९१८–१९२० सम्म फैलिएको ग्रेट इन्फ्लुएन्जालाई सन् १९३० मा मानिसले एक अप्रिय घटनाका रूपमा स्मरण गरेका थिए। सन् २०३० मा पुग्दा आममानिसले कोभिड–१९ लाई त्यसैगरी लिन सक्छन् र यो महामारीले विश्व भूराजनीतिमा सीमित दीर्घकालीन प्रभाव पार्न सक्छ। यो सम्भावनालाई बल पु¥याउने केही पूर्ववत् स्थिति छन्। चीनको बढ्दो प्रभाव, देशीयता, पश्चिमेली राष्ट्रमा बढ्दो ध्रुवीयता, सर्वसत्तावादी शासकको बढ्दो प्रभाव हुँदाहुँदै पनि आर्थिक तथा वातावरणीय भूमण्डलीकरणको महत्व अहिले पनि घटेको छैन। यसैगरी महामारी जस्ता समस्या सम्बोधन गर्न एकल प्रयास सम्भव हुँदैन भन्ने बुझाइ बढ्दो छ। दक्षिण तथा पूर्वी चाइना सिका विषयमा विभेद रहे पनि अमेरिका र चीनले महामारी नियन्त्रण र जलवायु परिवर्तनका विषयमा सहकार्य गरेका छन्। आपसी सम्बन्ध सीमित भए पनि दुश्मनीको व्यवस्थापन भएको छ। यसअघिको जस्तो प्रभाव नभए पनि अमेरिका सबैभन्दा शक्तिशाली राष्ट्र कायम नै छ।

भूराजनीतिमा देखिन सक्ने सुरुका चार परिदृश्य सन् २०३० सम्म कार्यान्वयनमा आउने सम्भावना दसमा मात्र एक छ। अर्काे शब्दमा भन्ने हो भने सन् २०३० सम्म कोभिड–१९ ले पारेका आधाभन्दा बढी असरले विश्वको भूराजनीतिलाई प्रभावित गर्न सक्ने देखिन्न। यी सम्भावनालाई धेरै कारणले यथार्थमा परिणत हुन नदिन सक्छन्। उदाहरणका लागि तत्काल खोप विकास भई विश्वव्यापीरूपमा उपलब्ध हुन सके चीनको बढ्दो प्रभाव र सर्वसत्तावाद दुवैको प्रभाव घट्नेछ।

तर अमेरिकामा ट्रम्प पुनः राष्ट्रपतिमा विजयी भए हितैषी राष्ट्र र अन्तर्राष्ट्रिय निकायमा अमेरिकाको सम्बन्ध बिग्रने, अमेरिकाभित्र पनि प्रजातन्त्र कमजोर हुने अवस्थामा हालको विश्व व्यवस्थाको निरन्तरता हुने सम्भावना पनि कमजोर हुनेछ। त्यसैगरी हरित अजेन्डा पनि कमजोर हुनेछ। तर अर्काेतर्फ सदस्य राष्ट्रले आआफ्नो तर्फबाट सक्दो योगदान गरेको खण्डमा महामारीका कारण सुरुमा कमजोर भएको युरोपियन युनियन बलियो बन्न सक्ने प्रबल सम्भावना छ। यो अवस्थामा उसको अन्तर्राष्ट्रिय प्रभाव बढ्ने र हरित अजेन्डा बढी स्थापित हुन सक्छ। यसैगरी अन्य सम्भावना पनि देखिन्छन्। कोभिड–१९ ले स्वास्थ्य सेवा र शिक्षामा रहेका असमानता सम्बोधन गर्न सहयोग पु¥याउनेछ। यसले सम्बन्धित राष्ट्रलाई फेरि आउन सक्ने महामारीलाई थेग्न सक्ने गरी सक्षम बनाउन सक्छ।  (प्रोजेक्ट सिन्डिकेट)

प्रकाशित: ५ कार्तिक २०७७ ०३:१३ बुधबार