विचार

प्रधानमन्त्रीको खोजी

सन् १६२५ मा फ्रान्सको राजकीय परिषद्को नेतृत्व गर्न कार्डिनल रिचेऊ (प्रिमेयर मिनिस्टर) प्रधानमन्त्री नियुक्त भएका थिए। त्यति बेलै प्रधानमन्त्री शब्द पहिलो पटक प्रयोग भएको मानिन्छ। लुई चौधौंले त्यो पद हटाउने कोसिस गरेका थिए। अहिले चलनमा रहेजस्तो प्रधानमन्त्रीको प्रयोग चाहिँ अठारौं शताब्दीमा संयुक्त अधिराज्य बेलायतमा भएको थियो। मध्यकालदेखि बेलायतको राजतन्त्रले कुनै विशेष मन्त्रीलाई सरकार प्रमुखका रूपमा विशेष अधिकार दिएको हुन्थ्यो। तिनलाई मन्त्री, पहिलो मन्त्री वा प्रधानमन्त्री भनिन्थ्यो।
राजतन्त्र र गणतन्त्र दुवैमा प्रधानमन्त्री पद पाइन्छ। संसदीय प्रजातन्त्रमा प्रधानमन्त्री प्रमुख हुन्छन् भने राष्ट्रपतीय प्रणालीमा सरकार र राष्ट्रप्रमुख दुवै राष्ट्रपति हुन्छन्।
नेपालमा गोपाल वंशीदेखि किराँतकालसम्म प्रधानमन्त्री वा सो सरहको कुनै पद भएको थाहा पाइन्न। लिच्छवीकालमा प्रहरीतर्फको सर्वाेच्च पदाधिकारीका रूपमा सर्वदण्डनायक, सेनातर्फको सर्वाेच्च पदाधिकारी महाबलाध्यक्ष तथा राजदरबारको सर्वाेच्च पदाधिकारीका रूपमा महाप्रतिहार रहेका थिए। मन्त्रीसरह अमात्य हुन्थे। अमात्य भएपछि महाअमात्य पनि त हुँदो हो। महाअमात्य भनेको प्रधानमन्त्री भनेजस्तै भयो। यसैले अहिले ३४ आंै प्रधानमन्त्रीकै निर्वाचन चयन भइरहेको हो त भन्ने प्रश्न उठेको छ। नेपाली सामान्यज्ञानका पुस्तकहरूमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा हुन् भन्ने लेखिएको छ। भीमसेन नै पहिलो प्रधानमन्त्री हुन् कि जस्तो धेरैलाई लाग्छ। तर, भीमसेनलाई मुख्तियार पद दिइएको थियो, प्रधानमन्त्री होइन। नेपाली बृहत् शब्दकोशले मुख्तियारको अर्थ राणाकालमा मुख्यमन्त्री वा प्रधानमन्त्रीको उत्तराधिकारी, चिफ साहेब, अधिकारप्राप्त प्रतिनिधि वा वारेस भन्ने दिएको छ। बालचन्द्र शर्माले आफ्नो पुस्तक नेपालको ऐतिहासिक रुपरेखामा रणबहादुर शाहको सन् १८०१अप्रिल १८(विसं २०५८वैशाख) को काशी पलायनपछि माहिली रानी सुवर्णप्रभा नायब भइन् भने दामोदर पाँडे राजकाज चलाउन नेपालका प्रथम प्रधानमन्त्री बनाइए भन्ने लेखेका छन्। इतिहासकार यज्ञनाथ आचार्यले काशीप्रवासबाट फर्केकी राजराजेश्वरीले सुवर्णप्रभालाई नेल ठोकी पाँडेलाई मूलकाजी बनाएको लेखेका छन्। आचार्यले मुख्तियार रणबहादुर शाहले काशीबाट फर्केपछि त्यहाँ गरेको सहयोग र बुद्धिमत्ताका कारण भीमसेनलाई काजीको पद दिएको उल्लेख गरेका छन्। भीमसेनले आधुनिक राज्यप्रणालीको जस्तो प्रधानमन्त्री भन्ने पद औपचारिकरूपमा कतै पाएको देखिँदैन। शर्माले काशी प्रवासबाट फर्केका रणबहादुरले भीमसेनलाई दामोदरका ठाउँमा प्रधानमन्त्री बनाएको लेखे पनि दामोदर प्रधानमन्त्री भएकैे कसैलाई थाहा छैन। भीमसेनपछि मुख्तियारी पाउनेमा पण्डित रङ्गनाथ पौड्याल, पुष्कर शाह, रणजङ्ग पाण्डे छन्।
नेपालको इतिहासमा राजा राजेन्द्रले कान्छी महारानी लक्ष्मीदेवीको आग्रहमा माथवरसिंह थापालाई विसं १९०० मा श्री प्राइमिनिस्टर एन्ड कम्यान्डर इन् चीफ जनरल कलाबहादुर नामक पद दिएका थिए। यो नै नेपालको इतिहासमा अंग्रेजी भाषामै भएपनि औपचारिकरूपमा प्रधानमन्त्रीको पद थियो। रानी लक्ष्मीदेवीले आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउने मनसुवाले सो पद दिइएकी थिइन्। यसैले माथवरलाई नै पहिलो प्रधानमन्त्री मान्नुपर्ने हुन्छ।
प्रधानमन्त्रीको जस्तै पद त लिच्छवीकालमै पनि हुनसक्थ्यो र मल्लकालमा त चौतारा भन्ने पद प्रधानमन्त्रीसँग मिल्दोजुल्दो थियो। आधुनिक कालमै राजा पृथ्वीनारायण शाहले कालु पाँडेलाई काजी पद दिइसकेका थिए, जुन प्रधानमन्त्रीभन्दा कम शक्तिशाली थिएन।
भीमसेन थापादेखि राणाकालपूर्वका रङ्गनाथ, पुष्कर शाह, रणजङ्ग पाण्डेलाई छोडेर माथबर र फत्तेजङ्ग शाह गरी दुई, जङ्गबहादुर, बमबहादुर, रणोद्दीप, वीर, देव, चन्द्र, भीम, जुद्ध, पद्म र मोहनशम्शेर गरी राणाकालका दश, प्रजातन्त्रकालका मातृकाप्रसाद कोइराला, टङ्प्रसाद आचार्य, डा केआई सिंह, विश्वेश्वरप्रसाद कोइराला चार पञ्चायतकालका कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, डा तुलसी गिरी, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मरिचमानसिंह गरी छ, प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा गरी चार तथा गणतन्त्र स्थापनापछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल दुई गरी २८ जना प्रधानमन्त्री भएको देखापर्छ। सुवर्णशम्शेर राणा मन्त्रिपरिषद्का अध्यक्ष र गुञ्जमानसिंह सल्लाहकारसभाका अध्यक्ष भएकाले तिनको हिसाब प्रधानमन्त्रीमा गर्न मिल्दैन। विकीपेडियाले दामोदर र भतिजा रणबहादुरको नायबी चलाउने बहादुर शाहलाई समेत प्रधानमन्त्रीमा गणना गरेको छ। जेहोस्, अहिले २९आंैँ प्रधानमन्त्रीका निर्वाचन भइरहेको भन्नु उपयुक्त हुने देखिन्छ।
पञ्चायतकालमा तत्कालीन शिक्षा सचिव रमेशजङ्ग थापाले इतिहासकार दिनेशराज पन्तसमेत राखेर प्रधानमन्त्री पदको ऐतिहासिक अभिलेख तयार गर्न बनाएको कार्यदल सीमित साधनस्रोतका कारण काम सम्पन्न नगरी विघटन भएको थियो। इतिहासकार पन्तका अनुसार भीमसेन थापालाई प्रधानमन्त्री मान्ने हो भने लिच्छवीकालदेखि नै यसको सोधखोज गर्नुपर्ने हुन्छ। वास्तविक प्रथम प्रधानमन्त्री त माथवर नै हुन्। मुख्तियारलाई प्रधानमन्त्री मान्ने हो भने पहिले राजा छोडी काशी प्रवास भएका रणबहादुरसमेतले छोरा गीर्वाणको मुख्तियारी चलाएकाले उनलाई पनि मान्नुपर्ने हुन्छ। सरकारले इतिहाससम्बन्धी विषयमा प्रामाणिक अभिलेख तयार गर्न कार्यदल गठन गर्नु राम्रो हुनेछ। इतिहासकार पन्तसमेतको समूह इतिहास संशोधनमा लागेको पनि करिब साठी वर्ष भएको छ। सरकारले विवादास्पद विषयको निर्क्याैल गर्न वा प्रामाणिक इतिहास तयार गर्न त्रिवि, सिनास वा प्रज्ञाप्रतिष्ठान वा अन्य कुनै कार्यदलमार्फत काम अघि बढाउनसके इतिहाससम्बन्धी यस्ता विषयमा पाठकहरूले अलमलमा पर्नुपर्ने थिएन।
अहिले कुन व्यक्ति कतियौं प्रधानमन्त्री हुने हो भन्नेभन्दा शान्ति प्रक्रिया पूरा होस्, जनजीविका राम्रोसँग चलोस् र समयमै सबैले मान्नसक्ने संविधान बनोस् भन्ने जनता र राष्ट्रको अपेक्षा महत्वपूर्ण हो। कान्छी रानीको छोरालाई राजा बनाउने परम्पराविपरीतको दबाब अस्वीकार गर्ने माथवर, म राष्ट्रको नोकर हुँ भन्ने पद्मशम्शेर, राष्ट्रवादी भावनाका टङ्प्रसाद, प्रजातन्त्रका निम्ति कहिल्यै सम्झौता नगर्नेे बिपी, राजासँग घँुडा नटेकी चाँडै संविधान दिने कृष्णप्रसाद, भ्रष्टाचार नगर्ने मनमोहनजस्तो प्रधानमन्त्री खोजेको छ। भाइभतिजा, सालासाली, मामाजेठान, साढुदाइ, साढुभाइ, फुपाज्यू, ज्वाइँछोरी, छोरा र तिनका नातागातामा डुबेर शान्ति र संविधान भर्सेलामा परोस् भन्ने प्रधानमन्त्री नेपाली जनताले खोजेको छैन। प्रजातन्त्र स्थापनादेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पूरा समय सरकार चलाउन नपाएको वा तीन वर्ष पनि नकाटेको नेपालको इतिहास साक्षी छ। त्यसको कारण

विश्लेषण गरेर नयाँ प्रधानमन्त्री छान्नु र छानिनु बेस हुनेछ।


प्रकाशित: ३ भाद्र २०६७ २२:३५ बिहीबार