विचार

आणविक हतियारको जोखिम

ब्वाँसो आएको हल्ला गरेर झुक्याउने केटाको अन्त्य ब्वाँसैले खाएर भएको कथा धेरैले बिर्सिएकाछन्। हिरोसिमा र नागासाकीमा ६५ वर्षअघि यही महिनामा भएको आक्रमणपछि आणविक हतियारबाट कसैको ज्यान गएको छैन। शीत युद्धको तनाब सकिएको धेरै भइसकेकाले नीति निर्माता र सामान्य जनतालाई आणविक खतराको भविष्यवाणीलाई बेवास्ता गर्न, यस्ता हतियार अझै भएकाले हुनसक्ने जोखिमलाई हल्कारूपमा लिन र तिनलाई समाप्त वा नियन्त्रण गर्ने प्रयासलाई पन्छाउन सजिलो भएको छ।

तर सत्य के हो भने नेतृत्व कौशल, दक्ष व्यावसायिक व्यवस्थापन वा विश्वको आणविक अश्त्रसम्बन्धी भरपर्दो नियमनका कारण हैन भाग्यका भरमा मात्र हामी आणविक विध्वंशबाट जोगिएका छौँ। अझै २३ हजार (हिरोसिमामा पड्काएको बम जत्तिको डेड लाख क्षमताका) आणविक अश्त्र छन्, तीमध्ये सात हजारभन्दा बढी तम्तयार अवस्थामा राखिएका छन् र त्यसमा पनि दुई हजार त अत्यन्त जोखिमको सूचीमा रहेका क्षेत्रमा छन्। यस्तो अवस्थामा हामीलाई सधैँ भाग्यले नै बचाइरहने अपेक्षा गर्न सकिँदैन।

शीतयुद्ध कालमा थुप्रै पटक अमेरिकी र रुसी पक्षमा मानवीय भूल तथा प्रणालीमै त्रुटि भएको थियो भन्ने अहिले थाहा भएको छ। यसले अत्यन्त जटिल र उन्नत नियन्त्रण र निर्देशन प्रणाली पनि पूर्ण त्रुटिरहित नहुने रहेछ भन्ने प्रमाणित हुन्छ। अहिले त झन् आणविक हतियार भएका केही नयाँ मुलुकमा त्यस्तो जटिल र उन्नत प्रणाली नै नभएको पनि हामीले थाहा पाएका छौं। र जटिलतम प्रणालीमा पनि साइबर आक्रमणको खतरा बढेको पनि हामीलाई जानकारी छ।

यसैले यथास्थिति कायम राख्ने कुरा त स्वीकार्नै सकिँदैन। यस अतिरिक्त खासगरी मध्यपूर्वमा आणविक अश्त्र विस्तार र त्यसबाट त्रुटिवश, संयोगवश वा जानाजानी प्रयोग हुने वास्तविक खतरा पनि धेरै गुणा बढेको छ।

असुक्षितरूपमा राखिएका आणविक हतियार वा सामग्री आतंककारीका हातमा पुग्ने र तिनले बाक्लो जनसंख्या भएको केन्द्रमा त्यस्तो बम विस्फोट गर्ने खतरालाई पनि बेवास्ता गर्न सकिन्न। साथै, गैरसैनिक आणविक ऊर्जाका नयाँ पात्रले आफैँ युरेनियम र प्लुटोनियम प्रशोधन केन्द्र निर्माण गर्न दिएको जोडमा देखिएको असंगति हेर्दा यसलाई ‘ आणविक बम सुरु गर्ने सामग्री'का रूपमा वर्णन गरिनु सही देखिन्छ।

राष्ट्रपति बाराक ओबामा यी सबै खतराबाट अमेरिकाका अरू कुनै राष्ट्रपति वा संसारकै अरू कुनै नेताभन्दा बढी सचेत भएर र तिनलाई समाप्त निश्चयसहित सत्तामा पुगेका थिए। एक दशकभन्दा बढी समय निदाएर बिताएको विश्वमा विगत १८ महिनामा केही उपलब्धि भएकाले पनि उनको नेतृत्वप्रति आशा जागेको हो।

रणनीतिक हतियार तैनाथी घटाउने रुसी-अमेरिकी नयाँ स्टार्ट सन्धि, अमेरिकाको आणविक नीतिमा आणविक हतियारमा केही सामान्य नियन्त्रण गर्ने प्रावधान, सुधारिएको आणविक सुरक्षा उपायसम्बन्धी वासिंगटन शिखर बैठकमा भएको उपयोगी सहमति ओमाबाका उपलब्धिमा पर्छन्। यसैगरी आणविक अप्रसार सन्धिको समीक्षा बैठकमा सन् २०१२ मा मध्यपूर्वलाई आणविक हतियार मुक्त क्षेत्र बनाउने सम्बन्धमा सम्मेलन गर्नेजस्ता बिरलै सहमति हुनसक्ने विषयमा समेत आगामी कदमबारे मतैक्य हुनु अर्को महत्वपूर्ण उपलब्धि हो।

परन्तु, स्टार्ट सन्धिको अनुमोदन अमेरिकी सिनेटमा अड्किएको छ भने विस्तृत आणविक परीक्षण निषेध सन्धिको कार्यान्वयन, आणविक हतियार निर्माणमा प्रयोग हुने सामग्रीको उत्पादनमा रोक लगाउने विषयमा नयाँ सन्धि गर्ने कार्य, अप्रसारको क्षेत्रमा उल्लंघन भएको पत्तालगाउनेलगायत प्रभावकारी उपाय अपनाउने, आणविक पदार्थ प्रशोधनका संवेदनशील विषयमा अन्तर्राष्ट्रिय व्यवस्थापनका लागि सहमति जुटाउने र सबैभन्दा बढी निशस्त्रीकरणसम्बन्धमा लागि दुई महाशक्तिमात्र हैन अरू आठ वटै आणविक शक्ति राष्ट्रबीच नयाँ चरणको गम्भीर वार्ता सुरु गर्नेजस्ता आवश्यक अरू महत्वपूर्ण विषयको प्रगति पनि सुस्त वा कमजोर भएको छ।

हतियार नियन्त्रण तथा निशस्त्रीकरण तत्काल प्रतिफल ननिस्कने निरश परिश्रमपूर्ण कार्य हो। अहिले घरेलु समस्या र पुनःनिर्वाचनको विषयले राजनीतिक कार्यसूचीमा प्रमुखता पाएकाले वाचा भुल्न सजिलो बनाएको छ। त्यसो हुन नदिने हो भने राष्ट्रपति ओबामा र रुसी राष्ट्रपति दिमित्री मेभ्देभ दुवैले निरन्तर अगुवाइ गरिरहनु अपरिहार्य हुन्छ। साथै, कम शक्तिशाली राष्ट्र र नेताहरू, नागरिक समाजका संस्थाहरूले पनि महत्वपूर्ण योगदान गर्नसक्ने धेरै क्षेत्र छन्।

सशक्त आवाज उठाउन सक्ने व्यक्तित्वहरूले तत्काल गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कार्य त कार्यान्वयनमा देखिएका त्रुटिबारे जुनसुकै मञ्चबाट पनि आवाज उठाउनु हो। त्यस्तो अवसरमा स्पष्टरूपमा भनिनुपर्छ: आणविक हतियार अहिलेसम्म आविष्कार गरिएकामध्ये सबैभन्दा अमानवीय हतियार हुनुका साथै पृथ्वीको सबै प्राणीलाई ध्वस्त पार्नसक्ने भनेर हामीले थाहा पाएको एकमात्र हतियार हो। कार्बन डाइअक्साइडले पनि हामीलाई मार्नसक्छ तर बमलेजस्तो तुरुन्तै होइन।

अर्को महत्वपूर्ण कार्य लक्ष्य र समय किटान गरिएको स्पष्ट विश्व निरशस्त्रीकरण कार्य योजना तयार गर्नु हो। भूराजनीतिक तथा मनोवैज्ञानिक समस्याका साथै प्रमाणीकरण र कार्यान्वयनका कठिन प्राविधिक समस्यामा काम गर्न बाँकी नै भएकाले अहिल्यै ‘शून्य अवस्था'को लक्ष्य हासिल गर्ने मिति तय गर्न सायद बढी नै मुस्किल हुनेछ। तर, सन् २०२५ लाई अहिलेको आणविक हतियारको भण्डारमा १० प्रतिशत कम गर्ने, तैनाथ हतियारको संख्या न्यूनतम बनाउने र प्रत्येक राष्ट्रको सेनामा आणविक हतियारको भूमिका कम गर्ने म्यादका रूपमा तोक्नु अस्वाभाविक हुनेछैन।

साथै, बहुपक्षीय वार्ताका लागि उपयुक्त रूपरेखा उपलब्ध गराउन, प्रगतिको मापदण्ड निर्धारण गर्ने, तिनको कार्यान्वयनको अनुगमन गर्ने वास्तविक परिवर्तनका दबाब सिर्जना गर्न उच्च स्तरीय स्वतन्त्र निगरानी संयन्त्र निर्माणका लागि नयाँ आणविक हतियार सम्मेलनको तयारी सुरु गर्नु पनि छिटो हुनेछैन।

यी सबै अन्तर्राष्ट्रिय आणविक अप्रसार तथा निशस्त्रीकरण आयोगका सिफारिस हुन्। यस अगस्टमा विश्वले हिरोसिमा र नागासाकीमा आणविक बम प्रहार गरिएको सम्झना गरिरहँदा हामीले हाम्रो भाग्यको भर पर्ने अवधि सकिँदै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ।

 

प्रकाशित: २० श्रावण २०६७ २२:५८ बिहीबार