भौगोलिक र भौगर्भिक बनोटका साथै अव्यवस्थित बसोबास, बढ्दो जनसंख्या, आर्थिक पछौटेपन, अशिक्षा र अज्ञानताले गर्दा नेपालमा प्राकृतिक एवं मानव सिर्जित प्रकोपको सम्भावना दिनानुदिन बढिरहेको छ।
बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण सडक, विद्युत् तथा सिँचाइजस्ता आधारभूत संरचनाहरू भत्किन गई लगानी खेर जाने सम्भावना बढेको छ । यसका अतिरिक्त हजारौँ मानिसले आफ्नो जीवन गुमाउनुपरेको तथा थुप्रै चौपाया, कृषि भूमि र बालीनाली आदि हानि नोक्सानी भएको छ। भूकम्पीय जोखिम क्षेत्रमा परेको हाम्रो मुलुकमा भूकम्पलगायत अन्य प्राकृतिक प्रकोपहरूबाट हुने क्षतिलाई न्यूनीकरण गर्न बृहत् पूर्वतयारी आवश्यक छ।
प्राकृतिक प्रकोप व्यवस्थापनको प्रमुख चुनौतीका रूपमा यसमा संलग्न निकायबीच पर्याप्त समन्वय नहुनु, व्यवस्थापनका प्रयास मूलतः रोकथाममूलक नभई उपचारात्मक हुनु, प्राकृतिक प्रकोपसम्बन्धी पूर्वसूचना एवं चेतावनी दिने आधुनिक प्रविधिको अभाव, प्रकोपका सम्भावित क्षेत्रहरूको नक्साङ्कन कार्य र प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी पर्याप्त जनचेतना अभिवृद्धि हुन नसक्नु छन्। यसका अतिरिक्त विकास आयोजनाहरू छनोट गर्दा प्राकृतिक प्रकोप मूल्यांकन नहुनु, पर्याप्त मात्रामा पुनर्स्थापना एवं सहयोगको कार्यक्रम सञ्चालन नहुनु तथा आवासीय उच्च भवनहरू निर्माण गर्दा पालन गर्नुपर्ने गरी लागू भएको आचारसंहिता अनुशरण नगर्नु पनि प्राकृतिक प्रकोप व्यवस्थापनको प्रमुख समस्याका रूपमा छन्।
विपद् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको अक्सफाम नेपालकाअनुसार नेपाल विश्वका २ सय मुलुकमध्ये भूकम्पको हिसावले एघारौँ जोखिम स्थानमा पर्छ भने जलउत्पन्न प्रकोपकाहिसावले तीसौँ स्थानमा। त्यस्तै जलवायु परिवर्तनकाकारण उत्पनन हुने प्रकोपकाआधारमा नेपाल विश्वमै छैटौँ स्थानमा पर्छ। अझ नेपालमा सबैभन्दा बढी महामारीबाट मृत्यु हुने गरेको पाइन्छ।
विपद्पूर्व गरिने जोखिम विश्लेषण तथा मूल्यांकन, विपद् रोकथाम वा विपद्बाट हुने क्षतिको न्यूनीकरण तथा विकासका कार्यमा विपद् जोखिमलाई कम गर्ने सम्बन्धी कार्यलाई विपद् जोखिम न्यूनीकरण भनिन्छ। विपद् पुनर्लाभमा विपद्का घटनापछि गरिने पुनर्निर्माण एवम् पुनर्स्थापना सम्बन्धित कार्य पर्दछ।
विपद्का घटना हुँदासाथ तत्कालै गरिने खोज, उद्धार एवम् राहतसँग सम्बन्धित कार्य र विपद् प्रतिकार्यको पूर्व तयारीसमेतलाई विपद् प्रतिकार्यले जनाउने गर्छ। यसरी हेर्दा विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापहरूको समग्र अवस्थालाई विपद् व्यवस्थापन मानिन्छ।
हुरीबतासको प्रकार, प्रकृति र भौगोलिक अवस्थाअनुसार यसबाट हुने क्षतिमा अन्तर आउँछ। समुद्री आँधी तथा आँधीबेहरी (चक्रवात) बाट सबैभन्दा बढी क्षति पुग्ने गरेको पाइन्छ। यसबाट प्रभावक्षेत्रका घर, भवन, सडक, खानेपानी, विद्युत् वितरण प्रणालीजस्ता संरचना भत्कने र सञ्चारसम्पर्क विच्छेद हुने, कृषिभूमि, जङ्गल नष्ट हुनेजस्ता क्षतिका स्वरूप देखापर्छन्। प्रायः हुरीबतासको समयमै पर्ने चट्याङबाट अचानक आगलागी भएपछि धेरै मानिसले ज्यान गुमाउने अवस्थासमेत आउने गर्छ। यस्तो बेला उद्धार कार्य झन् जटिल बन्छ र त्यसका लागि हुरीबतास थामिने प्रतीक्षा गर्नुपर्ने अवस्था आउनसक्छ।
चक्रवातबाट विविध प्रकारका क्षति ल्याउने हुरीबतासबाट अन्य रूपको तुलनामा विकराल क्षति पुग्छ। पर्वतीय क्षेत्रमा पहिरोभन्दा बढी खतरनाकरूपमा भू–क्षय (भू–स्खलन) हुन्छ। भिरालो जमिनको कमलो मलिलो माटो विशेषतः वर्षात्को समयमा स्खलन हुन्छ र बग्छ। मानवीय क्रियाकलापले त्यस्तो कमलो माटो बग्नमा अझ मद्दत पुर्याएको छ।
जंगल विनाश, अत्यधिक चरिचरन, अनियोजित र अव्यवस्थित ढंगले उपयोग गरिएको सीमान्त भूमि तथा डढेलो आदिले प्राकृतिक वनस्पतिलाई क्षतविक्षत पारेका छन्। पहाडी क्षेत्रमा खेती गरिएको र चरिचरनका लागि प्रयोग भएको जमिनबाट माटो बग्नाले जमिनको ऊर्वराशक्ति नष्ट हुन थालेको छ। यो कुरा थुप्रै अध्ययनबाट प्रमाणित भएको छ।
प्रि मनसुन सुरु भएको दुई हप्ता भइसकेको छ। निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपत् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ। उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागी जस्ता प्राकृतिक विपत् बर्सेनि दोहोरिने गरेका छन्।
भूकम्पीय जोखिमका हिसाबले ११औँ, जल उत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्याँस उत्सर्जनका हिसाबले १०९ औँ स्थानमा पर्छ। त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन्।
विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले सरदर तथा गत वर्षभन्दा बढी वर्षा र गर्मी हुने अनुमान गरेको छ। यही जेठ १८ देखि असोज १४ सम्मको मनसुनमा प्रदेश र स्थान हेरेर ३५ देखि ६६ प्रतिशत बढी वर्षा हुने आकलन छ। यस वर्षको विपत्मा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने र प्रभावितमध्ये १० प्रतिशतलाई उद्धार र राहत गर्नुपर्ने अनुमान छ। त्यसैले पनि बेला छँदैमा बुद्धि पुर्याएर काम गर्नुपर्ने आवश्यकता छ।
–हाडा अधिवक्ता हुन्।
प्रकाशित: २९ जेष्ठ २०८२ ०७:३६ बिहीबार