विचार

एआईबाट जागिर जोगाउन के गर्ने?

एन्थ्रोपिकका सिइओ डारियो आमोडेइले एआईले आगामी पाँच वर्षभित्र सुरु तहका सबै सफेदपोश जागिर आधा घटाउने घोषणा गरेका छन्। उनीहरूले यो तहसम्मको भविष्यवाणी किन गरिरहेका छन् भन्ने विषय चाखलाग्दो छ। विश्वका प्रमुख एआई कम्पनीहरूले आफ्नो घोषित लक्ष्यमै कृत्रिम बौद्धिकतालाई ‘उच्च तहको स्वायत्त प्रणाली र आर्थिकरूपमा महत्त्वपूर्ण कार्य गर्न मानिसलाई समेत पछाडि पार्न सक्ने प्रणाली’ भनेर संज्ञा दिएका छन्।  

यो मात्र बयानबाजी होइन, हाल यी कम्पनीहरूले कृत्रिम सामान्य बौद्धिकता (एजिआई) निर्माणका लागि एक खर्ब डलरभन्दा बढी खर्च गरिसकेका छन्। अनि, विश्वभरका सरकारहरूले यो प्रविधि विकासको दौडलाई समर्थन र सहयोग गरिरहेका छन्।

यी प्रयासहरू सफलतातर्फ उन्मुख छन्। आजका एआई मोडलहरूले धेरै मानकीकृत परीक्षणहरूमा मानिसले जस्तै अंक ल्याउन सक्छन्। तिनीहरू अधिकांश प्रोग्रामिङ पेसेवरभन्दा झन राम्रा प्रतिस्पर्धी प्रोग्रामर हुन्। विज्ञानका प्रश्नहरूमा केही शीर्ष विशेषज्ञबाहेक सबैलाई तिनीहरूले हराउन सक्छन्।

परिणामस्वरूप, एआई उद्योगका प्रमुखहरूले सन् २०२६ र २०३५ बीचको अवधिमा एजिआइ हासिल गर्न सकिने विश्वास गर्छन्। शीर्ष एआई कम्पनीमा कार्यरत केही अधिकारीका अनुसार एआईका कारण कैयन्ले प्राविधिक जागिर गुमाउने छन् र श्रम बजारको हरेक हिस्सामा एआईले प्रवेश गर्नेछ। यसले सबैभन्दा पहिला कार्यालयमा बसेर मानसिक र सिर्जनात्मक श्रम गर्ने सफेदपोश जागिरलाई पहिलो निशाना बनाउने स्पष्ट छ। तर क्रमशः रोबोटको विकाससँगै यसले बाह्य क्षेत्रमा गरिने अर्थात सफेदपोश जागिरलाई पनि प्रभाव पार्नेछ।

एजिआईपश्चातको विश्वमा एआईले मानिसले भन्दा राम्रो र सस्तोमा काम गर्न सक्ने सम्भावना छ। सुरुमा ‘फ्रन्टियर एआई मोडल’लाई सही हिसाबले तालिम दिन महँगो भए तापनि यसका थप प्रतिलिपि चलाउन तुलनात्मकरूपमा सस्तो हुन्छ। हाल यससँग सम्बन्धित लागतहरू तीव्र गतिमा सस्तो भइरहेका छन्।

प्राविधिक बेरोजगारिताको आसन्न युगका लागि सरकारप्रदत्त विश्वव्यापी आधारभूत आय (युविआइ) एक समाधान हो। तर अधिकांश मानिसको प्राथमिक मोलतोल गर्ने साधन नै जागिर भएको हँुदा उनीहरू समाजसँग कसरी जोडिन्छन् भन्ने विषयले समाजमा नाटकीय परिवर्तन ल्याउन सक्छ।

हुन पनि, हाम्रो आधुनिक संसार साधारण आदान–प्रदानमा टिकेको छ। आफूसँग समय वा सिप भएका कामदारले पैसाका लागि लगानीकर्तासँग काम गर्छन्। समग्र अर्थतन्त्र कामदारको सिप, निर्णय र उपभोगमा निर्भर गर्छ। यसरी कामदारहरूले उच्च ज्याला र ४० घण्टा कार्य हप्ताका लागि धेरै पहिलादेखि मोलतोल गर्ने गरेका छन् किनभने अर्थतन्त्र उनीहरूमा निर्भर छ।

एजिआईको प्रवेशसँगै अब यो सम्बन्ध पूरै विस्थापित नभए पनि परिवर्तन हुँदैछ। मानव इतिहासमा पहिलो पटक पुँजीले श्रमलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छ। यस्तो भयो भने मूल्य सिर्जनाका लागि कामदारहरूको आवश्यकता पर्ने छैन किनभने मेसिनहरूले राम्रो र सस्तो हिसाबमा काम गर्नेछन्। परिणामस्वरूप, कम्पनीलाई आफ्नो नाफा बढाउन कामदारको आवश्यकता पर्ने छैन र सरकारलाई कर राजस्वका लागि कामदारको आवश्यकता पर्ने छैन।

हामीले ‘इन्टेलिजेन्स कर्स’ (बुद्धिमत्ताक श्राप) भनिने नयाँ चुनौती सामना गर्न सक्छौँ। जब सरकार र कम्पनीहरू जस्ता शक्तिशाली खेलाडीहरूले एजिआई सिर्जना गर्छन्, त्यसपछि उनीहरू मानिसमा लगानी गर्ने चाहना गुमाउँछन्। तेल–धनी राष्ट्रहरू ‘संसाधनको श्राप’ ले ग्रस्त भएझैँ विश्वका सरकारहरूले आफ्नो शक्ति कायम राख्न आफ्नो जनसंख्यामा लगानी गर्नुपर्ने छैन। सबैभन्दा खराब अवस्थामा, उनीहरूले मानिसको वास्ता गर्नुपर्ने छैन। त्यसैले उनीहरूले यो लगानी गर्ने छैनन्। तर हाम्रो प्राविधिक मार्ग पूर्वनिर्धारित छैन। हामी यो समस्याबाट बाहिर निस्कने बाटो निर्माण गर्न सक्छौँ।

एजिआईलाई जोखिम मान्नेहरू यो अनियन्त्रित हुने, आतंकवादीहरूलाई जैविक हतियार बनाउन मद्दत गर्न सक्ने बताउँदै यसको केन्द्रीकरण र नियामक समाधानमा ध्यान दिन जोड दिन्छन्। सबै एआई चिपहरू ट्रयाक गर्न र एआई मोडलहरूलाई तालिम दिन अनुमति लिनुपर्ने उनको माग छ।

यी प्रावधानमार्फत उनीहरू खराब खेलाडीले शक्तिशाली एआई पाउन नसकून् भन्ने सुनिश्चित गर्न चाहन्छन्। कसैले गल्तीले संसारलाई नै समाप्त गर्न सक्ने एआई नबनोस् भन्ने उनीहरूको चाहना देखिन्छ। तथापि, एजिआई केवल सामूहिक विनाशको साधन मात्र हुने छैन, यो उत्पादनको साधन पनि हुनेछ। उत्पादनका साधनहरूलाई केन्द्रीकरण गर्नु केवल सुरक्षा मुद्दा मात्र होइन, यो कोसँग शक्ति छ भन्ने विषय पनि हो। त्यसैले, हामीलाई रक्षा गर्ने प्रविधि निर्माण गरेर एआईबाट हुन सक्ने सुरक्षा खतराहरू हटाउनुपर्छ।

एआईले हाम्रा संरचनामा हुने संभावित आक्रमणबाट सुरक्षित गर्न उपयुक्त कोड दिन सक्छ। जैविक सुरक्षामा गरिने लगानीले ‘इन्जिनियर’ गरिएका महामारीहरूलाई रोक्न सक्छ। एआई संरक्षणका लागि ‘अपरेसन वार्प स्पिड’ ले एजिआई अनियन्त्रित हुनबाट रोक्न सक्छ।

हामीले मानव–स्वचालित एआईभन्दा मानवलाई बढी प्राथमिकता दिने एआईको विकासमा ध्यान दिनुपर्छ। स्टिब जब्सले कुनै बेला कम्प्युटरहरूलाई ‘दिमागका लागि साइकल’ भनेका थिए। जसरी साइकलले हामीलाई छिटो र अधिक कुशल बनाउँछन् त्यस्तै भूमिका कम्युटरको हुने उनको संकेत थियो। त्यसैले हामीले एआईलाई ‘दिमागका लागि मोटरसाइकल’ बनाउने लक्ष्य लिनुपर्छ, यसको पूर्ण प्रतिस्थापन होइन।

मानवीय शक्ति कायम राख्ने र विस्तार गर्ने प्रविधिहरूको बजार आगामी दिनमा ठूलो हुनेछ। आज पनि, सबैभन्दा तीव्र गतिमा अगाडि बढिरहेको एआई स्टार्टअपहरू त्यस्ता छन् जसले मानिसलाई विस्थापित गर्नुका साटो झन् बलियो पार्ने दिशामा उद्यत छन्। यसको उदाहरण कोड इडिटर कर्सर हो।

एआई जति शक्तिशाली र स्वायत्त हुँदै जान्छ, भविष्यमा मानवतालाई प्रोत्साहन र स्वामित्व बढाउने उपकरणहरू निर्माणको आधार तयार हुन सक्छ। एआर्ई उपकरणहरूले हामीलाई हरेक दिन देखिने ‘अव्यक्त ज्ञान’ कब्जा गर्न सक्छन् र यसलाई हाम्रो ‘व्यक्तिगत डेटा खाडल’ मा परिणत गर्न सक्छन्। हामीले यस्ता प्रविधिहरू निर्माण गर्नुपर्छ जसले सामान्य मानिसलाई आफ्नै एआई मोडलहरू तालिम दिन, सस्तो हार्डवेयरमा चलाउन र आफ्नो डेटाको नियन्त्रण कायम राख्न अनुमति दिन्छ। केही ठूला कम्पनीलाई मात्र यसमा एकाधिकार दिनु हुँदैन।

जिके चेस्टरटनले  भनेका छन्– ‘एआई पुँजीवादको समस्या भनेको के हो भने यसमा पर्याप्त पुँजीवादीहरू छैनन्। हामी सबैले एआई भविष्यको एक टुक्राको स्वामित्व राख्छौँ भने हामी सबैले जित्न सक्छौँ ।’ पक्कै पनि, एजिआईले राम्रा संस्थाहरू र सुशासनलाई पहिलेभन्दा झन् महत्त्वपूर्ण बनाउनेछ।

भविष्यमा एजिआई आउनुअघि हामीले भ्रष्टाचार निवारण र आर्थिक प्रोत्साहनका बाटोहरू अवलम्बन गरेर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ। यसो गर्न सकेमा सरकारहरू र ठूला निगमहरूलाई हाम्रो आवश्यकता नपर्ने अवस्थामा पुग्दासमेत सामान्य मानिसले आफ्नो जित सुनिश्चित गर्न सक्छन्।

अहिले जे भइरहेको छ त्यो एजिआईको दौड हो। यद्यपि विश्वको अधिकांश भाग अझै यसबारे सचेत भैसकेको छैन। एआई ल्याबहरूले हामीलाई प्रतिस्थापन गर्ने एआईहरूलाई तालिम दिनुअघि के हामी स्वयं एआई प्रयोग गरेर आफूलाई माथि उठाउन सक्छौँ? अर्थतन्त्रमा नियन्त्रण कायम राख्न सक्छौँ? के हामी यस्तो भविष्य प्राप्त गर्न सक्छौँ जहाँ शक्ति अझै मानिसमा निहित हुन्छ?

(टाइम म्यागेजिनबाट) 

प्रकाशित: २२ जेष्ठ २०८२ ०७:५१ बिहीबार

# Nagarik