विचार

महाशिवरात्रि साधना

सनातन संस्कृतिमा चाड, पर्व, शुभ साइत अनि नक्षत्र र तिथिको ठुलो महत्त्व हुन्छ। सनातनकालदेखि नै आआफ्नै ज्ञान, संस्कृति र अनुभवअनुसार चाडपर्व मनाउने गरिन्छ। वर्षभरिमा मनाउने सबै चाडपर्वमा पाँच चाडको विशेष महत्त्व छ, फागु, तिहार, महाअष्टमी, विवाहपञ्चमी र महाशिवरात्रि। यस्ता सुअवसर र ऊर्जात्मक तिथिमा पर्ने पर्व कसरी मनाउने? यसपालि विशेष रूपमा महाशिवरात्रिको मुहूर्तमा के के कसरी गर्ने? यसबारे जानकारी दिनु यस आलेखको  उद्देश्य हो।

महाशिवरात्रिको एक दिन पहिलादेखि अनि एक दिन पछि अर्थात् तीन दिनसम्म साधनाका लागि धेरै उपयोगी हुन्छ। यसका लागि नुहाइधुवाइ गरी सफा लुगा लगाउनुपर्छ। यी तीन दिनमा कम बोल्नु, कम खानु तथा एकान्तवास गर्नुपर्छ। दैनिक सूर्योदय र सूर्यास्तका बेला १४ देखि २१ मिनेटसम्म ‘ॐ नमः शिवाय’ जप्नुपर्छ। जप गर्दा शिव–पार्वतीको तस्बिर राखेर एउटा दियो बाल्नुपर्छ अनि रातो फूल चढाएर मन्त्र जप आरम्भ गर्नुपर्छ।

हामी सबै आफ्नो जीवनको महत्त्वपूर्ण कार्य गर्दा शुभ मुहूर्तको खोजी गर्छौं। महायोगी, आदियोगी, महादेवको बिहे पनि यही महामुहूर्तमा भएको थियो। महाशिवरात्रिको दिन महामुर्हूत हो, महाकल्याणकारी दिन हो। यसैकारण संसारभरका समस्त योगी, साधक, तान्त्रिक वा अघोरीहरू महाशिवरात्रिको दिन ध्यान, साधना, तप र जप गर्छन्।

ध्यान–साधना गर्ने पुराना वा नयाँ साधकका लागि महाशिवरात्रि धेरै शुभ दिन हो। किनकि त्यो बेला साधकको ऊर्जा प्राकृतिक रूपमै जागृत हुन्छ। साथै वातावरणमा पनि दिव्य र रहस्यमयी ऊर्जाको सञ्चार भइरहन्छ। यस महामुर्हूतमा गर्ने सरल ध्यान ब्रह्मयोग हो।

ब्रह्मयोग ध्यान

यो ध्यान गर्नका लागि खुकुलो लुगा लगाएर कम्बलको आसनमाथि पदमासन वा सुखासनमा बस्ने। शरीरलाई शिथिल गरेर ढाड, कम्मर र पिठ्यु सिधा राख्ने। त्यसपछि आँखा बन्द गरेर २५ पटक बिस्तारै सास लिने। १० सेकेन्डजति रोक्ने र बिस्तारै छोड्ने। त्यसपछि एक सय आठ पटक वा पाँच मिनटसम्म एकदमै बिस्तारै सास लिने र छोड्ने। तेस्रो चरणमा पाँच मिनेटसम्म शिवलिंगलाई कल्पना गरेर हेर्ने।

हाम्रो संस्कृतिको महत्त्वपूर्ण चाड महाशिवरात्रि हो। अध्यात्मको शिखरसम्म पुग्न वा जीवनको वास्तविक रहस्य बुझ्न महाशिवरात्रिका दिन शुभ र कल्याणकारी हुन्छ। महिनाभरिको सबैभन्दा अँध्यारो रात महाशिवरात्रिकै हुन्छ।

महाशिवरात्रि हिन्दु धर्मावलम्बीको महान् चाड हो। फागुन कृष्ण पक्ष, चर्तुदशीका दिन मनाउने यो पर्वमा दिनभर व्रत बसिन्छ वा फलफूल मात्र सेवन गरिन्छ। रात्रिमा भक्तहरू शुद्ध भएर शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र अर्पण गर्छन्। यसै दिन मध्यरातमा शिवको रुद्र रूप अवतरण भएको थियो। त्यसैगरी आजको दिन शिवले दिव्य नृत्य गर्छन्, जसलाई ताण्डव नृत्य पनि भनिन्छ।

शिवरात्रिमा सुत्न किन अनुचित?

महाशिवरात्रिमा दिव्य ऊर्जा माथिबाट प्रवाहित हुन्छ। उक्त ऊर्जाले हाम्रो शरीरमा प्रवेश गरेर सातवटा चक्रलाई शुद्ध गर्छ र शक्ति दिन्छ। सुतेपछि शरीर सिधा रहँदैन। यसकारण त्यो दिन सुत्न निषेध छ।

कति दिन हामी पृथ्वीमाथि रहन्छौं, थाहा छैन। हामी एक्लै आएका हाैं, एक्लै फर्कनेछौं। यति मात्र होइन, हाम्रो जीवनको यात्रा पनि एक्लै हुन्छ। हामीलाई जीवनमा दुःख, तनाव र पीडा छ भन्ने लागिरहन्छ। यो सबै सांसारिक समस्याबाट मुक्ति, आध्यात्मिक ज्ञान र लाभ एवं मोक्षका लागि शिवरात्रिको शुभ दिनमा साधना गर्नु उत्तम हुन्छ।  

प्रकाशित: १४ फाल्गुन २०८१ ०८:१५ बुधबार

# Nagarik # Mahashivratri