विचार

तनावै तनाव, जताततै तनाव

मेरो तनाव। उसको तनाव। उहाँको तनाव। हजुरको तनाव। सबको तनाव। तनावै तनाव जताततै तनाव। सर्वव्यापी छ तनाव। तर सबको तनाव फरकफरक। भिन्ना भिन्नै। मान्छे पिच्छे फरकफरक। कस्तो तनाव? कति थरीका तनाव? गनेरै साध्य छैन। हजारौं, लाखौं, करोडौंको तनाव। मान्छे जति ठुलो उति ठुलो तनाव। जति सानो उति सानो तनाव। तनावको लम्बाइ, चौडाइ, उचाइ, गोलाइ, कोण फरक। आयाम अनि आयतन सब फरकफरक। धनीलाई धन भएर तनाव। गरिबलाई धन नभएर तनाव। शिक्षकलाई पढाउन तनाव। विद्यार्थीलाई पढ्न तनाव। व्यापारीलाई सामान बेच्न तनाव। उपभोक्तालाई किन्न तनाव। कृषकलाई धान उमार्न तनाव।

गृहिणीलाई भात पकाउन तनाव। नेतालाई कार्यकर्ता जुटाउन तनाव। कार्यकर्तालाई नेता रिझाउन तनाव। सरकारलाई सरकार टिकाउन तनाव। प्रतिपक्षलाई सरकार गिराउन तनाव। गजब छ तनावका कारकहरू पनि। आआफ्नै ढंगका, फरक फरक ढाँचाका। आजको यो सूचना अनि विज्ञान प्रविधिको युगमा समयको तेजगतिसँगै हिँड्न सकिएन भने कसले कहिले पछि पार्ने हो थाहा हुन्न। त्यो अर्को तनाव, विश्वको सर्वोत्कृष्ट र सर्वशक्तिमान मुलुक हुने होडबाजी फेरि उत्तिकै तनावयुक्त।

विश्वका विभिन्न राष्ट्रहरूका तनाव फेरि आआफ्नै। अब त हुँदाहुँदा देशै किनबेच गर्ने कुरा गर्न थालेका छन् विश्वका नेताहरू। हाकाहाकी। हालै पदभार सम्हालेका संयुक्त राज्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी मुलुक क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने इच्छा सार्वजनिक सभामै व्यक्त गरे।

क्यानडाले यस कुराको कडा शब्दमा प्रतिकार गर्‍यो। ट्रम्पको क्यानडालाई अमेरिकामा गाभ्ने कुरा एक सार्वभौम मुलुकको स्वतन्त्रता र स्वाधीनताका लागि खुल्लमखुल्ला चुनौती बनेको छ। त्यस्तै उनले डेनमार्कको स्वामित्वमा रहेको स्वशासित क्षेत्र ग्रिनल्यान्ड तथा  प्यालेस्टिनी राज्यको विवादित गाजा क्षेत्रमाथि समेत आँखा लगाएको देखियो, सुनियो। डेनमार्कमा पनि यसको प्रतिउत्तर स्वरूप संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य खरिद गर्ने बहस चर्कियो भन्ने पनि पढ्न पाइयो। यसले विश्वको सहअस्तित्वको अवधारणालाई कता पुर्‍याउँछ भन्ने गहन प्रश्न उब्जाएको छ, तनाव बढाएको छ।

अब यदि राष्ट्रकै किनबेच र खरिदबिक्री अनि मोलमोलाइको चलन थालिने हो भने हामी जस्ता कमजोर साना मुलुकहरूको अस्तित्व खतरामा पर्दैन ? भन्ने प्रश्न गम्भीर उब्जाएको छ। आजको समयमा कुनै राष्ट्रको किनबेचको कुरा उठाइनु कतिको सान्दर्भिक हुन्छ? त्यो पनि दबाब शैलीमा ! न त्यो मुलुक बिक्रीका लागि राखिएको थियो न त बोलपत्र नै आह्वान गरिएको थियो ! कसैले मन पराउँदैमा, कसैलाई राम्रो लाग्दैमा बेचिनुपर्ने यो संसारको नियम पनि गजबको छ। एउटी कमजोर, अबला र गरिब नारी वेश्यालयमा बेचिनुपर्ने विवशताजस्तै। यो त सोच्नै नसकिने कुरा भएको छ। अकल्पनीय! कुनै समय संयुक्त राज्य अमेरिकाले हालको अलास्का राज्य तात्कालीन सोभियत संघसित किनेको भन्ने कुरा इतिहासमा उल्लेख छ। त्यो बेग्लै परिस्थिति थियो, आजको परिस्थिति बदलिएको छ।

एक्काइसौं शताब्दीमा आएर यस्तो सोच राख्नु कतिको उपयुक्त र सान्दर्भिक हुन्छ भन्ने कुरा गहन चासो र चिन्ताको विषय बन्न गएको छ। हाम्रो जस्तो देश जुन कमजोर छ, सानो छ तर प्राकृतिक स्रोत, साधन र सम्पदाले भरिपूर्ण छ। हामीमाथि पनि गिद्धदृष्टि पर्ने हो कि भन्ने शंका उब्जिनु स्वाभाविक हो।

नपरेको पनि होइन। अब हामीसित भएका अन्य कैयौं तनावहरूमा एक अर्को तनाव थपिने भयो। यदि ठुला र शक्तिशाली मुलुकको आँखा हामीमाथि पर्न गयो भने के हुन्छ भन्ने चिन्ता थपिएको छ यो मनमा। त्यसै त बाहिरिया हस्तक्षेपले थिलथिलो पारेको हाम्रो राज्य व्यवस्था। फेरि यहाँका ठुला भनाउँदा नेताहरू नै राज्यको साँचो कतै बाहिर छ भन्छन्। त्यसमाथि देशै किन्छु भन्ने घोषणा गर्ने थालनी भएको छ।

त्यसो भयो भने के गर्ने ? खरिद गर्ने प्रस्ताव आयो भने के होला ? देशको साँचो खल्तीमा राख्ने ती बाहिरियाको मनमा लोभ जाग्यो भने के गर्ने होला? सुटुक्क बाहिरियाले केही गरिदियो भने के हुन्छ? सोच्दै मुटु काम्छ। फेरि सोच्छु देश कसले बेच्ने ? देश बेच्ने अधिकार कसको? सरकारलाई देश बेच्ने अधिकार त दिएको छैन जनताले। जनताले नचाहे कसले बेच्न सक्छ र एउटा देश। यहाँको प्राकृतिक स्रोत, खनिज र विविध सम्पदामाथि गिद्धदृष्टि लाएर बसेका गिद्धहरू नेपाली आकाशमा फनफनी घुमी पनि रहेका छन् भन्छन्।

फेरि एउटाले गर्नेबित्तिकै अर्कोले देखासिकी गर्ने त यहाँको चलनै हो। नहोला, नगर्ला पनि भन्न सकिँदैन। के गर्ने, के नगर्ने? तनावमाथि तनाव! कमजोर मुलुकले आफ्नो स्वतन्त्रता र स्वाधीनता जोगाउनै गाह्रो पर्ला कि भन्ने नयाँ तनाव। हाम्रो जस्तो कमजोर आवाजलाई दरिलो बनाउन के गर्ने भन्ने तनाव।

अहिलेसम्म बलियाले अरूमाथि थिचोमिचो गर्दा तमासे बन्नेहरूका लागि आफ्नै टाउकोमा ढुङ्ग्रो बजारिन सक्ने तनाव। त्यस्तो अवस्थाको कल्पना गर्दा मथिङ्गल रन्थनिने विवशता अर्को तनाव। यो विश्व कुन दिशातिर घुमिरहेछ, लम्किरहेछ भन्ने नयाँ तनाव। तनावै तनाव जताततै तनाव !

प्रकाशित: ५ फाल्गुन २०८१ ०८:५६ सोमबार

# Nagarik