विचार

एआईकाे जलवायु मूल्य

ऐतिहासिक रूपमा, विश्वमा भएका प्राविधिक क्रान्तिहरूले कार्बन डाइअक्साइड उत्सर्जनलाई उच्च बनाएका थिए। पहिलो औद्योगिक क्रान्ति कोइलाबाट सुरु भएको थियो भने दोस्रो खनिज इन्धनबाट। त्यही हिसाबले हाल द्रुत गतिमा विकास भैरहेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले पनि त्यसै गर्नेछ त भन्ने प्रश्न अहं बनेको छ।

प्रारम्भिक संकेतहरूले त्यही प्रक्रिया दोहोरिने देखाएका छन्। उदाहरणका लागि पूर्वाधारमा गरेको ठूलो लगानीका कारण माइक्रोसफ्टको कार्बन डाइअक्साईड उत्र्सजन सन् २०२० देखियता लगभग ३० प्रतिशत बढेको छ। यसैगरी गुगलले गर्ने उत्सर्जन पछिल्लो पाँच वर्षमा लगभग ५० प्रतिशतले बढेको छ।

यो सन्दर्भमा माग र आपूर्तिसँग सम्बन्ध दुवै पक्षलाई ध्यान दिन जरुरी छ। जतिबेला बजारमा माग बढेको छ, दक्षतामा पनि सुधार आएको छ। एनभिडिया लगायतका अमेरिकी कम्पनीले बनाउने चिप्सहरू अझै धेरै राम्रो बन्दैछन् र यी चिप्सका नयाँ पुस्ता त झन् अहिलेको भन्दा पाँच गुणा छिटो हुने अपेक्षा गरिएको छ। यही हिसाबले ओपनएआइलगायतका अग्रज कम्पनीहरूले आफ्ना मोडेललाई अझ धेरै प्रशिक्षित र प्रभावकारी बनाउँदैछन्।

त्यसो हुँदा हुँदै पनि एआइको बढ्दो मागका कारण विश्वव्यापी ऊर्जा खपत अझै बढ्ने निश्चित छ। यो समग्र परिदृश्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उत्सर्जन हो। एआईका डेटा सेन्टरलाई चाहिने ऊर्जा कसरी उत्पादन हुनेछ र कसरी एआइले कार्बन–सघन उद्योगहरूलाई असर गर्छ भन्ने विषय अहिले महत्त्वपूर्ण बनेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०२३ मा विद्युत् उपयोगमा आधारित लगभग एक देखि १.५ प्रतिशत डेटा सेन्टर छन्। यो हिस्सा अबकोे छोटो अवधिमा बढ्ने निश्चित छ। माइक्रोसफ्ट, गुगल र मेटाले सन् २०२० र २०२२ को बीचमा आफ्नो कुल विद्युत् खपत झण्डै दोब्बर बनाएका छन्। त्यो च्याटजिपिटी आउनुभन्दा अघिको तथ्यांक हो। त्यसबेलादेखि, यी कम्पनीले पूर्वाधार विस्तार गर्न आफ्नो प्रतिबद्धता र योजनालाई झन् सुदृढ पारेका छन्।  

सन् २०२३ मा डेटा सेन्टरहरूले ऊर्जा–सम्बद्ध कार्बन उत्सर्जनको लगभग एक प्रतिशत हिस्सा लिएका थिए। यी डेटा–सेन्टरलाई ऊर्जा दिने विद्युत् प्रणालीलाई गैरकार्बनयुक्त (डिकार्बाेनाइज) पार्ने प्रयास पनि हुँदैछ। सन् २०२३ मा अमेरिकामा, ४१ प्रतिशत बिजुली कार्बनशून्य स्रोतहरूमार्फत उत्पादन गरिएको थियो। पछिल्ला एक दशकमा यस्तो प्रकृतिको उत्पादन एक चौथाइले बढेको थियो। उता, युरोपमा झन यो वृद्धि दर ६० प्रतिशतको हाराहारीमा छ। अमेरिका, युरोप, बेलायत र चीनमा बिजुली उत्पादन गर्न नवीकरणीय ऊर्जा स्रोतको प्रयोग बढेको छ।

गोल्ड गोल्डम्यान स्याक्सको आकलनअनुसार यही अवधिमा डेटा सेन्टरहरूको ऊर्जाको माग प्रतिवर्ष १५ प्रतिशतले बढेको छ र यो क्रम २०३० सम्म जारी रहनेछ। यो मागको २० प्रतिशत हिस्सा एआईले लिने देखिन्छ। अमेरिकामा पाँच भागको दुई भाग डेटा सेन्टरहरूका लागि आवश्यक पर्ने ऊर्जा नवीकरणीय ऊर्जाबाट पूरा भए तापनि वार्षिकरूपमा एआई पूर्वाधारले लगभग २ करोड ६० लाख टन अतिरिक्त कार्बन डाइअक्साइड उत्सर्जन गर्ने देखिएको छ।  

यो निकै ठूलो उत्सर्जन हो तर यसलाई सन्दर्भसहित हेर्न आवश्यक छ। एआईबाट हुने अतिरिक्त उत्सर्जनको हिस्सा हालको कुल उत्सर्जनको ०.४ प्रतिशत मात्र हो र यो तीनवटा ठूला अमेरिकी एयरलाइन्सले गर्ने प्रत्यक्ष उत्र्सजनभन्दा कम कम छ।

एआईले गर्ने कार्बन फुटप्रिन्टबारे समाचार शीर्षक बन्ने गरे पनि हेक्का राख्नुपर्ने कुरा छ भने अमेरिकाको ऊर्जा प्रणाली अत्यन्त ठूलो छ। तर सँगसँगै, यसले पार्ने प्रत्यक्ष प्रभाव व्यवस्थित हिसाबको परिवर्तनभन्दा भविष्यमा आउन सक्ने गडबडीलाई संकेत गर्छ। यसबाहेक, कार्बनशून्य पार्न अत्यन्त कठिन मानिने क्षेत्रमा समेत एआईले कार्बन उत्सर्जन घटाएको प्रमाण देखिएका छन्।

हवाईसेवा उत्सर्जनमा उडानका क्रममा जहाजले फाल्ने धुवाँको हिस्सा ३५ प्रतिशत छ। गुगल र अमेरिकी एयरलाइन्सले मेसिन लर्निङमार्फत कसरी यो धुवाँलाई न्यूनीकरण गर्न सकिन्छ भनेर खोजीकार्य गरिरहेका छन्। प्रारम्भिक नतिजाले कुल ६ भागको एक भाग हवाई कार्बन उत्सर्जन घटाउन सकिने देखाएका छन्।

अझै पनि, अमेरिकामा रहेका सम्पूर्ण एआई डेटा सेन्टरले गर्ने उत्सर्जनभन्दा हवाईसेवाले गर्ने यो उत्सर्जन बढी हुन आउँछ। यसैगरी, फालिएका खाद्यान्न (फुडवेस्ट) बाट हुने उत्सर्जनले विश्वव्यापी उत्सर्जनको ६ प्रतिशत हिस्सा लिएको सन्दर्भमा एआईले गर्ने प्रक्षेपणका आधारमा खाद्यान्नको माग पूर्वानुमान, उत्पादन व्यवस्थापन र आपूर्ति शृंखला नियमित पार्न सकिन्छ।

यसअघि नै विश्वव्यापी उत्सर्जनमा ३० प्रतिशत हिस्सा लिएको औद्योगिक प्रक्रियामार्फत हुने उत्सर्जन घटाउन एआईको प्रयोग भइरहेको छ। जैविकरूपमा आधारित सामग्रीहरू जीवाश्म इन्धनहरूमा कम निर्भर रहन्छन्। लागत घटाएर र सामग्रीको पुनः प्रयोग हुन सक्ने दक्षता बढाएर औद्योगिक मापदण्ड कायम राख्न सकिन्छ।

तसर्थ, एकातिर छोटो अवधिमा एआईले विश्वव्यापी ऊर्जा खपत बढाउने देखिए पनि उद्योगहरूको विस्तृत शृंखलामा उत्सर्जन घटाउने सम्भावना पनि बोकेको छ। जलवायु अनुकूलन र मौसम पुर्वानुमानलाई सुधार गरेर एआईले जीवन रक्षा गर्न र आर्थिक नोक्सानी कम गर्न सहयोग गर्न सक्छ। यो सन्दर्भमा, प्रविधिगत प्रयोगमार्फत हुने आर्थिक वृद्धिमा कार्बन उत्सर्जनलाई न्यून राख्न सकिन्छ।

उदाहरणका लागि, बेलायतले सन् १९९० यता आफ्नो घरेलु उत्सर्जनलाई आधाले घटाए पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जिडिपी) बढाएको छ। बेलायतमा जस्तै एआइले विश्वव्यापीरूपमा यस्तै प्रवृत्तिलाई गति दिन सक्छ। कार्बन शून्य बनाउने प्रक्रियामा एआईको पूर्ण क्षमताको प्रयोय एक माध्यम हुन सक्छ। तर यसका लागि सशक्त जलवायु नीतिहरू आवश्यक पर्दछ।

कार्बनको मूल्य तोक्न र स्वच्छ ऊर्जा विकासका प्रयासलाई दुईगुणा पार्ने दिशामा आवश्यक प्रोत्साहन व्यवस्था गर्न सकेमा यसले उत्सर्जन कम गर्न र दिगो विकास सुनिश्चित गर्न सहयोग गर्दछ। हामीले समयमै सही निर्णय लिन सक्यौँ भने जलवायु परिवर्तनविरुद्धको हाम्रो लडाईँमा एआई हुकुमको एक्का हुन सक्छ।

–अजहर हार्भर्ड बिजनेस स्कुलका फेलो हुन् भने फ्रे अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका सहप्राध्यापक हुन्।

प्रोजेक्ट सिण्डिकेटबाट।

प्रकाशित: २९ श्रावण २०८१ ०५:१७ मंगलबार

# The climate value of AI #The technological revolution