विचार

युवाले नपत्याएको देशको शिक्षा

अंग्रेजीमा शैक्षिक वा दक्ष मानव पुँजी पलायनलाई ‘ब्रेन ड्रेन’ भनिन्छ। यो कुनै मुलुकमा रहेका बौद्धिक व्यक्ति सदाका लागि देशबाट बाहिरिने प्रक्रिया हो। जनशक्ति पलायनलाई मानव पुँजी उडानको संज्ञा पनि दिने गरिएको छ। जहाँसम्म उक्त पदावली प्रयोगको सवाल छ, सन् १९६३ मा ब्रिटिस रोयल सोसाइटीले युरोपबाट उत्तर अमेरिकामा वैज्ञानिक, प्राविधिकलगायत दक्ष एवं विज्ञ जनशक्तिको आप्रवासनलाई संज्ञा दिँदै पहिलोपटक प्रयोग गरेको थियो।

मानव पुँजी पलायन अहिले मूलभूतरूपमा अविकसित तथा विकासशील मुलुकहरूको टाउको दुखाइको विषय बनिरहेको छ। यो परिमाण आफैँमा निकै विशाल छ। सन् २०२१ मा विश्व जनसंख्या सात अर्ब ८८ करोड पुग्दा एक अर्ब ६९ करोड आप्रवासनमा पुगेकोमा सन् २०२३ मा विश्व जनसंख्या आठ अर्ब चार करोड पुगेकोमा आप्रवासन संख्या एक अर्ब ८४ करोड पुगेको छ। जुन विश्व जनसंख्याको २१.६४ प्रतिशत हो।

हाम्रो हकमा, १२ कक्षापछि उच्च शिक्षा अध्ययनको नाममा विदेशिने प्रवृत्ति सन् २०१४ यता बर्सेनि उकालो लागेको छ। यसकारण कि हाम्रो शैक्षिक गुणस्तरमाथि नयाँ पुस्ताको विश्वास छैन। मुलुकभित्रका शैक्षिक संस्थामा अध्ययनार्थ खर्चिनुपर्ने समयावधि, श्रम र स्रोतसाधनबाट सपना साकार हुनेमा नयाँ पिँढीमा चरम संशय छ। मुलुकमा जगेर्ना गरिएको शैक्षिक प्रणाली, सामाजिक तथा सांस्कृतिक सोच, जीवनपद्धति, सामाजिक न्याय, सामाजिक सुरक्षा, लैंगिक व्यवहार, वैयक्तिक स्वतन्त्रता, राजनीतिक रवैया, सावजनिक निकायको कार्यशैली, सार्वजनिक सेवा/सुविधा, कर्मचारीतन्त्रको बोली व्यवहारबाट नयाँ पुस्ता सन्तुष्ट छैनन्। र, आफ्नो जीवनकालमा सुधार भइहाल्ने सम्भावनासमेत देखिरहेका छैनन्। ऊर्जाशील, सिर्जनशील एवं उत्पादनमूलक समय खेर जान सक्ने सन्त्रासका कारण १२ कक्षापछि ६० प्रतिशतभन्दा अधिक युवाले देश छाड्ने गरेका हुन्। पछिल्लो एक दशकमा अध्ययनका लागि पाँच लाख ६५ हजार विद्यार्थी बाहिरिएकामा आर्थिक वर्ष २०७९/८० मा एक लाख १८ हजार विद्यार्थी अध्ययनका नाममा विदेशिएका छन्।

जहाँसम्म उच्च शिक्षा आर्जन गर्न लाग्ने समय, प्राप्त हुने प्रमाणपत्रको बिकाउपन र रोजगारी प्राप्तिको सवाल छ, कक्षा १२ उत्तीर्णपश्चात् स्नातक तहका लागि कम्तीमा चार वर्ष, स्नातकोत्तर तहका लागि कम्तीमा दुई वर्ष गरी कम्तीमा ६ वर्ष अध्ययन समय र स्रोतसाधन खर्चनुपर्ने, तत्पश्चात् बजारमा शायदै बिक्री हुन सक्ने कागजी खोस्टो वा सर्टिफिकेट प्राप्त हुने अर्थात् जीवनउपयोगी सिप, दक्षता कौशलता हासिल हुन नसक्ने, सार्वजनिक क्षेत्रमा प्रवेशका लागि अर्को ३/४ वर्ष ही घोट्नुपर्ने तर असफल हुन सक्ने चरम जोखिम रहने, सफल भइहाले प्राप्त हुने पारिश्रमिकबाट स्तरीय जीवन यापन गर्न कठिन हुने, निजी क्षेत्रमा कामकाज गर्न दलका नेता वा पहुँचवालाको आफन्त हुनुपर्ने अर्थात् भनसुन, नातावाद, कृपावाद आवश्यक पर्ने, निजी क्षेत्रमा श्रमअनुरूपको पारितोषिक प्राप्त गर्न कठिन हुने, क्षमता, दक्षता एवं इमानदारिताको कदर नहुने तीतो यथार्थ छ।

कुनै युवाले १८ वर्षको उमेरमा कक्षा १२ पूरा गरेको भए विश्वविद्यालयको अध्ययन र लोकसेवा तयारी गर्दागर्दै कम्तीमा २८ वर्षको उमेर गुज्रने, खर्च पुर्‍याउँदा–पुर्‍याउँदै अभिभावक वाक्कदिक्क हुने, बेरोजगारीको कारण सयममै बिहेबारी गर्न नसकिने, अनेकन गर्दा पनि रोजगार बन्न नसके उदासीनताको शिकार बन्नुपर्ने, खाडी मुलुक ताक्नुपर्ने वा कामै नलाग्ने प्रमाणित भई रित्तो हात लिई गाउँमै फर्कनुपर्ने आदि तथ्य नयाँ पुस्ताले राम्रैसँग केलाएका हुन्छ। यी यस्ता कारण हुन् जसले नेपालको शिक्षा पद्धतिप्रति नै यहाँका युवा निराश छन्।

प्रकाशित: २४ वैशाख २०८१ ०६:४९ सोमबार

दक्ष मानव पुँजी बौद्धिक व्यक्ति जनशक्ति पलायन ब्रिटिस रोयल सोसाइटी प्राविधिक विकासशील मुलुक