विचार

गृहकार्यले थिचिएका नानी

विद्यार्थीलाई क्षमतावान् बनाउने नाममा विद्यालयले दिनहुँ दिने गरेको गृहकार्यका कारण विद्यार्थीहरू सकसमा पर्ने गरेका छन्। विद्यालयबाट फर्केपछि न उनीहरूसँग खेल्ने समय छ, न  विद्यालयमा भए गरेका गतिविधिबारे आफ्ना अभिभावकसँग अनुभव साटासाट गर्ने समय नै। विद्यालयमा आठ घन्टाको सुगारटाइ पढाइपछि पनि विद्यालयले दिने गरेको गृहकार्यका कारण घर फर्केर पनि विद्यार्थीहरू आनन्दले बस्न पाउँदैनन्।  यसले गर्दा विद्यार्थीहरूले आफूमा भएको क्षमता र प्रतिभासमेत देखाउने मौका पाइरहेका हँुदैनन्।

विद्यालयमा सबै बालबालिकाहरूको क्षमता एकै किसिमको हुँदैन। कसैले सिकाएको कुरा छिटो टिप्ने गर्छन्। कसैले ढिलो टिप्ने गर्छन्। कसैले भने एकचोटि सिकेका कुराहरू जीवनमा हत्तपत्त बिर्संदैनन्। कसैले सिक्दै जान्छन्, बिर्संदै पनि उत्तिकै जान्छन्। धेरैजसो बालबालिकाले जीवनमा एकचोटि सिकेका र बुझेका कुराहरू जीवनमा हत्तपत्त बिर्संदैनन्। तर जबर्जस्ती कण्ठ पार्न लगाइएका कुरा बालबालिकाले बिर्सन सक्छन्। त्यसैले बालबालिकालाई जतिसक्दो बुझाएर पढाउनुपर्छ। अझ प्राथमिक कक्षासम्मका नानीहरूलाई त प्रयोगात्मक तथा थुप्रै उदाहरण दिएर पढाइएका कुराहरू उनीहरूले लामो समयसम्म सम्भि्करहन्छन्। नानीहरूलाई खेलाएर पढाउन सकिन्छ, नाचगान गरेर पनि ज्ञान दिलाउन सकिन्छ, कथा भनेर पढाउन सकिन्छ। थुप्रै उपाय छन्, तर यस्ता उपायबारे हाम्रा शिक्षकहरू खोजी नै गर्दैनन् उही परम्परागत ढाँचामा चक र डस्टर लिएर कक्षा कोठामा पस्ने अनि घोकन्ते शिक्षा पढाउने तथा छुट्टिने बेलामा धेरै गृहकार्य दिएर कक्षा टुंग्याउने चलनको समाप्ती हुन सकेको छैन। विद्यार्थीले बुझून्, नबुझून् मतलब हुँदैन। अर्को दिन विद्यार्थीले गृहकार्य बुझाउन सकेन भने सजाय दिने प्रचलन पुरानै हो। यो चलन हट्न सकेको छैन।

पारिवारिक वातावरण, सामाजिक परिवेश र जैविक कारणले पनि बालबालिकाको पढाइमा असर परिरहेको हुन्छ। घरमा दिनहुँ बाबुआमाको झैँझगडा हुन्छ भने त्यस्ता बालबालिकाले पनि राम्रोसँग पढ्न सक्दैनन् र गृहकार्य पनि पूरा गर्दैनन्। यस्तो अवस्थामा शिक्षकले बालबालिकालाई नपिटी कारण पत्ता लगाउने कोशिस गर्नुपर्छ र त्यहीअनुसार शिक्षक अगाडि बढ्नु पर्छ।

कहामीकहाँ विद्यालयमा पढाइने पद्धतिको कुरा गर्ने हो भने एकतर्फी खालको छ। शिक्षकले एकतर्फी रूपमा भट्याइरहन्छन् अनि बालबालिका सुनिरहन्छन्। कतिपय कक्षाकोठा त विद्यार्थीमैत्री पनि हुँदैनन्। त्यसो हँुदा विद्यार्थीले सजिलो अनुभव गर्न सक्दैनन् र कक्षाकोठामा अन्तर्क्रिया गरेर पढाउने चलन हामीकहाँ छैन। अर्को कुरा, शिक्षकले विद्यार्थीप्रति देखाउने व्यवहार पनि हो। विद्यार्थीले टेर्दैनन् भनेर अलि कडा शैलीमा प्रस्तुत हुने बानी धेरै शिक्षकको हुन्छ। ठूलो स्वरमा हकारेर बोल्दा विद्यार्थी अनुशासित हुन्छन् भन्ने धेरै शिक्षकको सोच हुन्छ। त्यसैले विद्यार्थी र शिक्षकको सम्बन्ध नजिकको हुन गाह्रो पर्छ। फेरि हामीकहाँ, विद्यार्थीले केही जान्दैनन् भन्ने सोच शिक्षकहरूमा व्याप्त हुन्छ। त्यसैले अन्तर्क्रियात्मक शैलीमा शिक्षकहरू पढाउन नै खोज्दैनन्।

निजी विद्यालय र सार्वजनिक विद्यालयको वातावरण धेरै नै फरक हुन्छ। निजी विद्यालयमा मध्यम र उच्च वर्गका छोराछोरीले नै पढ्ने गर्छन्। तर सार्वजनिक विद्यालयमा भने धेरै बालबालिका, न्यून आयस्तर भएका हुने गर्छन्। सरकारी विद्यालयमा न्यून आयस्तर भएका छोराछोरीहरू धेरै पढ्न आउने भएकाले उनीहरूले घरमा आफ्ना बाबुआमाको कामलाई पनि सघाउने गर्छन्। त्यसैले उनीहरूले गृहकार्य पूरा गरेर ल्याउन सक्दैनन्।

कक्षाकोठामा विभिन्न स्वभाव भएका बालबालिकाहरू हुन्छन्। कोही निकै चलाख, कोही निकै ढिलो र कोही मध्यम खालका। यसैगरी कोही शान्त स्वभाव अनि कोही निकै टाठो। विद्यार्थीको स्वभावअनुसार सिकाउन सक्नु नै असल शिक्षकमा हुनुपर्ने गुण हो। तर हामीकहाँ विद्यार्थीको स्वभावसँग परिचित हुने समय शिक्षकसँग हुँदैन। केही निजी विद्यालयले परामर्शका लागि बालमनोविज्ञ राखे पनि त्यो केवल प्रचारमा सीमित हुन्छ। कमजोर विद्यार्थीको मनोविज्ञान बुझेर के कारणले कमजोर भएको हो भन्ने कारण पहिल्याउनसमेत आवश्यक ठानिँदैन। मानसिक रोग विशेषज्ञ डाक्टर पवन शर्माका अनुसार, डिप्रेसन, साइकोसिस र डिक्लेसियाजस्ता मानसिक रोगका कारण पनि बालबालिकाले राम्रो पढ्न सक्दैनन् र उनीहरूको पढाइ कमजोर हुने गर्छ।

विद्यालयले दिनहँु दिने गरेको गरेको गृहकार्यका कारण विद्यार्थीको दिमाग बोझिलो हँुदै गएको छ। यसप्रति अभिभावकहरू कत्ति पनि सजग देखिँदैनन्। उल्टै कतिपय विद्यालयले थोरै गृहकार्य दिने गरे पनि बाबुआमाले छोराछोरीलाई गृहकार्य किन नदिएको भनी गुनासो गर्ने गरेको शिक्षकहरू बताउने गर्छन्। सीधै विद्यालय गएर बढी गृहकार्य दिन शिक्षकसँग आग्रह गर्छन्। त्यसैले विद्यालयले दिने गरेको धेरै गृहकार्यका कारण विद्यार्थीहरूसँग घरमा आफैँ, नयाँ कुरा सिक्न समय हुँदैन। 

बालबालिकाहरू स्वभावैले नै चञ्चल हुन्छन्। उनीहरूलाई किताबको पाठ घोकाउनुभन्दा कतिपय कुरा प्रयोगात्मक गराउँदा उनीहरूको दिमागमा सधैँ ताजा रहन्छ। कुनै पाठ एकैदिनमा कण्ठ पार्ने गृहकार्य दिँदा विद्यार्थीहरू सकी नसकी कण्ठ पार्न कोसिस गर्छन्। तर त्यो कोसिस कसैको सार्थक हुन्छ, कसैको हुँदैन। कण्ठ पार्न नसक्ने विद्यार्थीहरू अर्का दिन विद्यालय नै जान डर मान्ने गर्छन्। शिक्षकले दिने गरेको गृहकार्य पूरा गर्न नसकेकै कारण कतिपय विद्यार्थी विद्यालय जान छाड्ने गरेको उदाहरण पनि हामीकहाँ धेरै छन्। त्यसैले बच्चालाई दिनहुँ धेरै गृहकार्य दिएर विद्यार्थीको दिमाग बोझिलो बनाउनुभन्दा जसरी हुन्छ, विद्यार्थीलाई बुझाएर पढाउन सके शिक्षकहरू सफल र असल बन्नेछन् । हामी पनि नभनौँ- मेरो बच्चालाई धेरै होमवर्क दिनू।

प्रकाशित: १२ श्रावण २०७४ ०२:५९ बिहीबार

गृहकार्यले थिचिएका नानी