विचार

इतिहासले चिरिक्क चिमोट्दा

जङ्गबहादुर, रणोद्दीप र वीर समसेर पछाडि नेपालमा चौथो राणा प्रधानमन्त्रीका रुपमा देव समसेर आए। राणा भए पनि असल धारणाका कारण उनी राणाहरुमा अपवादका रुपमा चिनिन्थे। उनी शिक्षाप्रेमी र सुधारवादी थिए। जनता शिक्षित भए मात्र देश विकास सम्भव हुन्छ भन्ने धारणा राख्ने देव समसेरले जय पृथ्वीबहादुर सिंहको सहयोगमा विद्यालयहरु खोले। विभिन्न विषयका पाठ्यपुस्तक लेख्न लगाए। नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षराङ्क शिक्षा (वि.सं. १९५८) जयपृथ्वीबहादुर सिंहले नै लेखे।

राम्रा काम गरेकाले देवशमशेरको चौतर्फी प्रशंसा भयो। उनी नेपाली जनताका प्रिय बने। जनताका छोराछोरीलाई स्वदेशमै पढ्ने व्यवस्था मिलाइदिएकामा मुरीमुरी धन्यवाद पाए। देव समसेर जनतामाझ लोकप्रिय भएको र जनता शिक्षित भई सचेत हुँदै गएको परिवेश एकदमै नजिकैबाट नियालिरहेका थिए उनीपछिको रोलक्रमका चन्द्रशमशेरले। यस्तै अवस्था लम्बिए शिक्षित र सचेत जनताको वृद्धि हुने र आफू सत्तासिन हुन पाउँदिन भन्ने त्रासले भित्रभित्रै काँपिरहेका चन्द्रशमशेरले षडयन्त्रको जालो बुन्न थाले। देव समसेरका हजुरिया फत्यजङ्गलाई अनेकौँ प्रलोभनमा फँसाएर एवं रोलक्रममा रहेका भाइभतिजाहरुलाई समेत उक्साएर देव समसेरलाई सत्ताच्यूत गरी चन्द्र समसेर सत्तासिन हुन सफल भए।

सुधारवादीका रुपमा चर्चित वीर समसेरपछि चन्द्र समसेरले भएका सुधार पनि निमिट्यान्न पार्दा जुन विक्षिप्तता उनी आफैँले भोगे इतिहासको त्यो पाठबाट आजका नेताले सिक्न आवश्यक छ।

सत्तामा पुगेपछि चन्द्र समसेरले शान्ति र चैनको कल्पना गरेका थिए तर त्यसविपरीत उनमा प्रशस्त अशान्ति र बेचैनीका छटपटाहट देखिन थाले। देव समसेरलाई सत्ताच्यूत गर्न आफूलाई सहयोग गर्ने भाइभारदार, भतिज एवं नेपाली जनताका डरले भित्रभित्रै काँपिरहेका चन्द्रशमशेर त्यो डरलाई भित्रभित्रै दबाउन सबैसँगै झर्कोफर्को र रुखो व्यवहार गर्थे। जनता शिक्षित भए भने अन्य देशका व्यवस्था बुझेर आफूलाई च्यूत गर्ने डरले चन्द्र समसेरले खुलिसकेका विद्यालयहरुसमेत बन्द गरिदिए। तापनि उनको मन शान्त हुन सकेन। जसरी फत्यजङ्ग र गेहेन्द्र लगायतका भाइभतिजको सहयोगले देव समसेरको सत्ता उनले ढालेथे पुनः उनीहरुकै सहयोग लिएर अर्कोले आफूलाई पनि ढाल्नसक्ने सम्भावना आँक्दै फत्यजङ्गलाई मुख्तियारबाटै निकालिदिए। गेहेन्द्रलाई दरबारमा आउनै रोक लगाइदिए। पछि यी दुवैको रहस्यमय अवशान भयो। यति हुँदा पनि उनी शान्त हुन सकेनन्। जङ्गबहादुर राणाले आफ्ना भाइभतिजाहरुमा प्रधानमन्त्रीको रोलक्रम राख्नु नै उनको डरको प्रमुख बीज थियो।

एकातिर भाइभतिजाहरुको डर, अर्कातिर अङ्ग्रेजहरुले कलेज खोल्न दिएको दबाब। चन्द्र समसेरले दबाबमा परेरै भए पनि बाध्य भएर वि.सं. १९७५ मा त्रिभुवन चन्द्र कलेज खोले। त्यस कलेजको उद्घाटन समारोहमा कलेज खोलेर मैले आफ्नो खुट्टामा आफैँले बञ्चरो हानेँ भनेर भाषण गरेका थिए रे! त्यही कलेजको नामाकरण्ण वि.सं. १९८० मा त्रिचन्द्र कलेज भनी गरिएको थियो।

कलेज खोलेपछि त झन् चन्द्र समसेरमा छटपटी बढ्दै गयो। उनमा रातमा निद न दिनमा भोक भयो। अब त झन् उनलाई बाँचेकाहरुसँग भन्दा मरेकाहरुसँग डर लाग्न थाल्यो। रातमा निदाउन खोज्थे तर उनको षडयन्त्रमा परेर मृत्युवरण गरेकाहरु औँलो ठड्याउँदै उनलाई तर्साउँथे। उनी दुब्लाएर अत्यन्त कमजोर र शिथिल भए। त्यसैले मानिसहरुले उनलाई फिस्टे महाराजको व्यङ्ग्य उपाधिसमेत दिए।

बाँचुञ्जेल सत्ता, शक्ति र स्वार्थलाई सर्वोपरि मानेर आफन्त, मान्यजन, असल नागरिक कसैलाई नछोडी निरङ्कुश बनेका चन्द्र समसेरका आतङ्कका प्रमुख कारण उनका विगतका करतुत नै थिए। एकपछि अर्को तँछाडमछाड गर्दै स्मृति पटलमा पुनरावृत्त हुँदा प्रायश्चित हुन नसक्ने गरी मानसिक दलदलमा फँसे।

इतिहास पढ्दाको यो एउटा घटनाले आज मेरो मन चिरिकचिरिक चिमोटिरहेको छ। यो घटना मैले देखेेकी होइन तर पाठ्यपुस्तकहरुमा पढेकी अवश्य हुँ। २००७ सालमा राणा शासन पतन त भयो तर सत्ता र शक्तिका लागि त्यही परम्परा संस्कृति बनेर मौलाइरहेको छ। इतिहासका धेरै कुरा म जान्दिनँ, राजनीति त झनै बु‰िदनँ। कुनै दलप्रति मेरो समर्थन र विरोध दुवै छैन। म त निष्पक्ष चक्षुले देश र जनताको भोगाई हेर्ने सर्वसाधारण मात्र हुँ। मलाई यस्तो कहिल्यै भएको थिएन तर यस पटकको देशको पछिल्ला घटनाक्रमले मेरो मुटु चसक्क घोचेको छ। वास्तवमा मेरो मन इतिहासले चिरिक्क चिमोट्यो। मलाई लाग्छ, मजस्ता थुप्रै सर्वसाधरणको मन यसैगरी चिमोटिएको छ। स्थापित अधिकार चन्द्रशमशेरले खोसेजस्तै वर्तमानमा सत्ता हस्तान्तरणको नाममा अघिल्लो सरकारले दिएका अधिकार नयाँ बन्ने सरकारले नखोसोस्। पाइएका सुविधा र हक कसैद्वारा अपहरित नहोस्। देश र जनताको सदैव भलो चाहने व्यक्ति सत्तासिन होऊन्। जुनसुकै दलका जुनसुकै व्यक्ति भए पनि व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताको कल्याण गरून्। सानो र सुन्दर हाम्रो देश नेपाललाई स्वर्गको टुक्रा बनाउन खोज्ने व्यक्ति नै शक्तिशाली पदमा पुगून्।

शिक्षिका, नेराउच्चमावि, हरैया–१, बारा

प्रकाशित: १७ भाद्र २०७३ ०५:०६ शुक्रबार

इतिहासले चिरिक्क चिमोट्दा