मुख्य समाचार

फुपूको स्वर्ण बुबालाई

सिलोङ- भारतीय खेलाडी सुनीवाला देवीलाई हराएपछि जुडोकी फुपूल्हामु खत्री भावविह्वल हुँदै एकछिन तातामीमै घोप्टिइन्। उनको यो जित १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि दोस्रो स्वर्णपदक थियो। आफ्नो स्वर्णजित स्वर्गीय बुबाप्रति समर्पित गरेर मात्र उनी खुसी साट्न उफ्रँदै प्रशिक्षकतिर दौडिइन्।भारत, सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियमको इन्डोर हलमा सोमबार फुपूले महिला ६३ केजी तौलसमूहबाट स्वर्ण जितेकी हुन्। श्रीलंकाका डिवाइएल वाजेबर्देने, बंगलादेशकी कान्ता र पाकिस्तानी अब्रिन मसिहलाई इप्पोन (जुडोमा नकआउट) बाट हराएपछि उनी स्वर्णका लागि अन्तिम स्पर्धामा देवीसँग पूरा ४ मिनेटै भिडिन्। ओजारीका आधारमा उनले भारतीय प्रतिद्वन्द्वीलाई हराइन्।

'बुबाको ठूलो सपना थियो, देशका लागि जित्नुपर्छ भन्नुहन्थ्यो। त्यो आज पूरा गरेकी छु,' फुपूल्हामुले भनिन्, 'म यो स्वर्ण मेरो बुबाप्रति समर्पित गर्न चाहन्छु।'

टे्रकिङ पेसामा आबद्ध उनका बुबा दोर्जे लामा खत्रीको दुई वर्षअघि सगरमाथा हिमपहिरोमा निधन भएको थियो।

२१ वर्षीया फुपूल्हामु हंगेरीमा झन्डै एक महिना विशेष प्रशिक्षण गरेर साग खेल्न सिधै सिलोङ पुगेकी थिइन्। रियो ओलम्पिकका लागि आइओसीको छात्रवृत्तिमा प्रशिक्षण गरिरहेकी उनी त्यताबाट हंगेरी लाग्नेछिन्।

'त्यहाँ (हंगेरी) २२ दिनजति प्रशिक्षण गरेँ। छोटो भए पनि राम्रो भयो। टेक्निकका कारण आफ्नो मुभमेन्ट सुधार्न सकेँ,' फुपूले भनिन्, 'अझै राम्रो गर्ने लक्ष्य छ।'

उनले देशले गरेको लगानी र मिहिनेतको फल पाएको बताइन्। प्रशिक्षकहरु (धर्मकुमार श्रेष्ठ, रमेश मगर, दीपक श्रेष्ठ) प्रति आभारी हुँदै फुपूले भनिन्, 'जति सफलता पाएको छु, उहाँहरुको योगदान छ।'

पछिल्लो समय उनी देवु थापाको निगरानीमा हंगेरी गएकी हुन्। देवु उनै प्रशिक्षक हुन्, जसले ११ औं ढाका सागमा लिफ्ट दुर्घटनामा पर्नुका बाबजुद कांस्य दिलाएकी थिइन्।

१० औं सागकी रजत विजेता देवु पनि आफूले पूरा गर्न नसकेको सपना आफ्नै चेलीले पूरा गरेकोमा निकै उत्साहित थिइन्। भनिन्, 'खुसीको सीमा छैन, सागमा स्वर्ण जित्ने सपना थियो, मैले पूरा गर्न सकिनँ, आज चेलीले पूरा गरिदिएकी छिन्।'

देवुले फुपूलाई आठ महिनायता प्रशिक्षण दिँदै आएकी छिन्।

नेपाली जुडो टोलीले तीन साताअघि नै भूपालमा आएर प्रशिक्षण गरेको हो। त्यहाँ भारतीय टोलीसँग प्रशिक्षण गरेकाले उनीहरुको खेल्ने तरिकाबारे देवु जानकार थिइन्। प्रशिक्षक देवुले सुनीवालाको खेलबारे फुपूलाई सिकाएर त्यहीअनुरुप खेल्न लगाएकी थिइन्।

'फुपूले त्यहीअनुरुप खेलिन्, एकदमै खुसी लागेको छ,' देवु भन्दै थिइन्। आफ्नो पनि अझै खेल्ने धोको रहेको उनले सुनाइन्। भनिन्, 'अर्को साग खेल्छु होला।'

जारी दक्षिण एसियाली खेलकुदमा फुपूले जितेको स्वर्ण नेपालका लागि दोस्रो हो। यसअघि उसुकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन्।

ताप्लेजुङ, लेलेप स्थायी घर भएकी फुपू बिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन्। उनले यसअघि मकाउ र हङकङमा भएको ओलम्पिक र्यानकिङ जुडोमा रजत जितेकी थिइन्। हंगेरीमै भएको बर्थ डे कप जुडोमा पनि कांस्य जितेकी छन् उनले।

जुडोको पहिलो दिन नेपालले १ स्वर्णसहित २ रजत र तीन कांस्यपदक जितेको छ। रजत जित्नेमा महिला ५२ केजीमुनि लीला अधिकारी र ५७ केजीमुनि ममता श्रेष्ठ प्रधान छन्। उनीहरु भारतीय खेलाडीसँग पराजित भएका थिए। लीला आर्मी र ममता पाम (प्रिजनस असिस्टेन्ट मिसन) का खेलाडी हुन्।

कांस्य जित्ने महिला ४८ केजीमुनि सरिता चौधरी, पुरुष ६० केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६६ केजीमा रमेश मगर थिए। सोमबार प्रतिस्पर्धा गरेका नेपाली खेलाडी सञ्जित डंगोल र पवनकुमार श्रेष्ठमात्र पदक जित्न असफल भए। सागको अन्तिम दिन पनि जुडोको प्रतिस्पर्धा बाँकी छ।

साग जुडोका प्रशिक्षक दलबहादुर गुरुङले भूपालको प्रशिक्षणले खेलाडीको प्रदर्शनमा धेरै सुधार आएको बताए। उनले भने, 'दक्षिण एसियाली जुडोको सशक्त टोली भनेको भारत नै हो। हामीले साग पूर्वसन्ध्यामा उनीहरुसँगै टे्रनिङ गर्यौं , यसले हाम्रा खेलाडीको प्रदर्शनमा सुधार आएको छ।'

जुडोले मद्रास साफपछि पहिल्लोपल्ट स्वर्ण जितेको हो। महिलामा भने स्वर्ण जित्ने फुपू नै पहिलो हुन्। १९९५ मा मद्रासमा जुडोले स्वर्ण र रजत ३–३ तथा कांस्य २ वटा पदक जितेको थियो। स्वर्ण जित्नेमा रमेश बस्नेत, वीरबहादुर राना र जितबहादुर चौधरी थिए। १० आंै सागमा देवु थापा र रञ्जु राईले रजतपदक तथा ११ औंमा देवु थापा, राधादेवी राई, राजन जोशी र दीपककृष्ण श्रेष्ठले कांस्य पदक जितेका थिए।

प्रकाशित: ३ फाल्गुन २०७२ २०:०८ सोमबार