अन्तर्वार्ता

कोइराला, गान्धी र हसिनाले चलाएजस्तो हैन एमाले : विष्णु रिजाल

‘एमालेमा उत्तराधिकारी भन्ने हुँदैन’

नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टीको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरेर जान कसैलाई पनि समस्या नरहेको बताएका छन्। उनले आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११औं महाधिवेशनमा सर्वसम्मत ढंगले अध्यक्ष बनाउने पहिलो कोसिस हुने उनले बताए। अध्यक्ष पदका लागि ओलीलाई टक्कर दिन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छलफलका लागि फरक प्रतिवेदन पार्टीमा दर्ज गराएका छन्। महाधिवेशनका सन्दर्भमा पार्टीका केन्द्रीय सदस्य रिजालसँग नागरिककर्मी सुभद्रा धितालले कुराकानी गरेकी छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

आगामी एघारौँ महाधिवेशनबाट एमालेले जनतासामु कस्तो राजनीतिक वा वैचारिक सन्देश दिन चाहन्छ र त्यो सन्देशले पार्टीको भविष्यलाई कसरी प्रभावित गर्ने सोच बनाइएको छ ?

हाम्रो पार्टीमा दुई खालको महाधिवेशनको व्यवस्था गरेका छौँ। हाम्रो विचार दृष्टिकोण नीति सिद्धान्त वा तत्कालीन कार्यक्रमको बारेमा र पार्टीको विधानको बारेमा हामीले विधान महाधिवेशन मार्फत छलफल गर्छौँ भने त्यो पारित नीति कार्यक्रम र विचारलाई बोक्नको लागि हामीले राष्ट्रिय महाधिवेशन मार्फत नेतृत्व चयन गर्छौँ।

गत भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो राष्ट्रिय विधान महाधिवेशनले हाम्रो पार्टीको तत्कालीन नीति कस्तो हुने हाम्रा सैद्धान्तिक वैचारिक कुराहरूमा कसरी अध्यावधिक रहने र विधान कस्तो बनाउने यस्ता विषयहरू टुंगो लगाइसकेको छ। यो महाधिवेशन मूल रूपमा नेतृत्व चयनका लागि आयोजना गरिएको महाधिवेशन हो। केही तत्कालीन समस्या समाधान गर्न विधानमा सापेक्ष सुधार गर्नुपर्यो भन्ने बाहेक हामीले सिधै नेतृत्व चयनमा प्रवेश गर्छौँ। हामीले पारित गरेका नीति विचारहरूलाई बोक्नका लागि यो महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने र जुझारु बनाउने गरी हामी नेतृत्व चयन गर्छौँ। एउटा लोकतान्त्रिक अभ्यास गरेको पार्टी र जनताको बहुदलीय जनवादमा विश्वास राख्ने पार्टी भएको हुनाले हामीले सकभर सर्वसम्मतिको कोसिस गर्छौँ। सर्वसम्मत नहुने अवस्था आए प्रक्रियामा सहमत भएर कार्यकर्ताले जे फैसला गर्छन् त्यसमा आधारित भएर एकताबद्ध, बलियो र एउटा राष्ट्रिय शक्तिको रूपमा पार्टीलाई उभ्याउने गरी हामी अगाडि बढ्छौँ।

नेतृत्व चयन गर्दा प्रतिस्पर्धा हुने सम्भावना कति छ वा सर्वसम्मत सहमति हुने देखिन्छ ?

दुईवटै बाटो हामीले खुला राखेका छौँ। लोकतन्त्रको अर्थ भनेको मतदान मात्रै पनि होइन र जबर्जस्ती सहमति गर्ने पनि होइन सहमति हुन सक्ने सम्भव विषयहरूमा हामी सहमत भएर जान्छौँ। सहमत हुन नसक्ने विषयमा हामी प्रक्रियामा सहमत हुन्छौँ अर्थात हामी निर्वाचनको प्रक्रियामा सहमत भएर जान्छौँ। त्यो निर्वाचनको प्रक्रियाले जे परिणाम दिन्छ कार्यकर्ताले जे फैसला गर्छन् त्यसलाई एकताको आधार बनाएर आगामी पाँच वर्षको लागि पार्टी अगाडि बढ्छ। अहिले हाम्रो पार्टीमा यही अवस्था छ। यस्तै, हामीले पार्टी प्रणालीलाई बलियो बनाउनुपर्छ। हामीले पार्टीलाई संस्थागत बनाउनुपर्छ र पार्टीले अवलम्बन गरेको संस्थात्मक सिद्धान्तलाई बलियो गरी फक्रिनुपर्छ। त्यो भनेको सम्भव हुने विषयमा हामीले सर्वसम्मति कायम गर्नुपर्छ। नेतृत्वको सवालमा अहिले पनि सर्वसमतिको गुन्जायस छ। सर्वसम्मतिको ढोका बन्द भइसकेको छैन। यदि सर्वसम्मति हुन सकेन भने प्रक्रियामा सहमत हुनुपर्छ प्रक्रियामा सहमत भनेको निर्वाचन प्रक्रिया हो र त्यो निर्वाचनको प्रक्रिया मार्फत कार्यकर्ताले गर्ने फैसला हामी सबै नेताकार्यकर्ताले निसर्त रूपमा स्वीकार गर्नुपर्छ। हाम्रो पार्टीको विगत हेर्दा महाधिवेशनपछिका दिनहरू त्यति सुखद हुने गरेका छैनन्। त्यो नकारात्मक अभ्यासबाट पाठ सिकेर नै पार्टीका नेताहरूले एकचोटी जोडतोडका साथ भनिरहनु भएको छ निर्वाचनबाट जे परिणाम आए पनि हामी एकताबद्ध र बलियो एमाले बनाउँछौँ र कार्यकर्ताले राखिदिएको स्थानमा हामी बसेर आफ्नो भूमिका निर्वाह गर्छौँ। सञ्चार माध्यमबाट सार्वजनिक पनि भएको छ। हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली यो महाधिवेशनबाट अध्यक्षमा निरन्तर हुन चाहनुहुन्छ भने हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि त्यसमा आकांक्षा राख्नु भएको छ। दुवै जना नेताका सार्वजनिक अभिव्यक्ति यहाँहरूले हेर्नुभयो भने उहाँहरूले के भन्नु भएको छ भने कार्यकर्ताले राखिदिएको स्थानमा हामी बस्छौँ। र, अध्यक्षले दशौँ केन्द्रीय कमिटीको बैठक समापनका क्रममा भने जस्तै उहाँले म महाधिवेशमा गएर यदि कार्यकर्ताले मलाई घर पठायो भने म फेरि अनिर्वाचित दोस्रो बरियताको नेता भएर छेउमा आएर बसेर भागबण्ड खोज्दिनँ म घरमा थुपुक्क लाएर बस्छु भन्नुभएको छ भने हाम्रो पार्टीको वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक रूपमा निर्वाचनबाट आउने परिणाम जे सुकै भए पनि मेरो विपक्षमा आएछ भने पनि म पार्टीको संगठित सदस्य भएर पार्टीमा योगदान गर्छु। नेकपा एमालेको प्रतिबद्ध कार्यकर्ता हुनबाट मलाई कसैले रोक्न सक्दैन र मैले त्यो योगदान गर्छु भन्नुभएको छ। त्यसले गर्दा त्यो आन्दोलनको सुरुवातदेखिका हाम्रा दुवै नेताहरू परिपक्व र दुवै यो पार्टीको एक र दुई नम्बरमा भएको नेताहरू भएको हुनाले उहाँहरूले सुविचारित ढंगले यो निर्णय लिनुहुन्छ र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्नुहुन्छ त्यो भन्दा बाहेक पार्टीमा विभाजन आउने, पार्टीमा दरार आउने, पार्टीमा असन्तुष्टी प्रकट हुने र निर्वाचन परिणाम आइसकेपछि त्यसलाई लिएर रोष प्रकट गर्ने काम हुने छैन भन्नेमा म चाहिँ पूर्ण विश्वस्त छु।

भनेपछि उत्तराधिकारी नेतृत्वबारे स्पष्ट दृष्टिकोण बनिसकेको छैन ?

पहिलो कुरा हाम्रो पार्टी कम्युनिस्ट पार्टी हो। हामी सामूहिकतामा विश्वास गर्छौँ। हाम्रो पार्टीको अध्यक्ष भनेको नेताहरूको पनि नेता हो। हामी अध्यक्षको नेतृत्वमा गोलबन्द्ध छौँ। अहिले अध्यक्षसँग प्रतिस्पर्धा गर्न चाहनु भएका कमरेडहरूले नै यो पहल गरेर केपी ओलीलाई अध्यक्षमा स्थापित गर्नु भएको हो। यस कारण अध्यक्षको योग्यता उहाँको नेतृत्व क्षमताप्रति मेरो विचारमा एमालेमा कुनै पनि विवाद छ जस्तो लाग्दैन। अब जहाँसम्म उत्तराधिकार भन्ने प्रश्न छ कम्युनिस्ट पार्टीमा उत्तराधिकारी भन्ने हुन्न किनभने यो कुनै बुर्जुवा पार्टी होइन कुनै परिवारवादमा चल्ने पार्टी होइन। भारतको गान्धी परिवार भने जस्तो नेपालको कोइराला परिवार भने जस्तो वा बंगलादेशको परिवार भने जस्तो अरू कुनै श्रीलंकामा बन्द्रा नायक परिवार भने जस्तो त्यस्तो खालको राजनीति नेकपा एमालेमा चल्दैन। नेकपा एमाले समता र प्रतिस्पर्धामा विश्वस्त छ। पहलमा विश्वस्थ छ जबजको अनुवायी पार्टी र यसको कार्यान्वयनकर्ता पार्टी भएको हुनाले कार्यकर्ताको बिचबाट आउने नेतृत्व जन्मिने कुरामा यसले विश्वास गर्छ। त्यसले गर्दा अहिले केपी ओली बाहेकको उत्तराधिकारी भन्ने कुनै बहसको विषय पनि छैन एमालेमा र एमालेले त्यो विषयमा अनावश्यक ढंगले आफ्नो समय पनि खर्च गर्दैन। कार्यकर्ताले जिम्मेवारी दिन्छन् र हामीले एउटा लोकतान्त्रिक प्रक्रियाबाट निकास दिन्छौँ।

नेतृत्वमा पुस्तान्तरणबारे पार्टीभित्र कस्तो सोच र धारणा बनिरहेको छ, नयाँ पुस्तालाई कसरी अवसर दिने तयारी छ ?

यो कुरा महत्वपूर्ण हो। मैले पनि यो कुरा पार्टीमा उठाउने गरेको छु। पार्टीको मूल नेतृत्वका लागि उमेर क्षेत्र लिङ्, वर्ण जस्ता विषयहरू कुनै आरक्षणका विषय हुन सक्दैनन्। यो हजारौँमा, लाखौँमा र अझ करोडौँबाट एक जना छानिने विषय हो। त्यसलाई खुला नै राख्नुपर्छ तर त्यो बाहेकको बाँकी नेतृत्व कसरी विकास गर्ने पहिलो पुस्ता दोस्रो पुस्ता र तेस्रो पुस्ताको बिचमा संवेदन कसरी कायम गर्ने जस्ता विषयहरूमा हामीले सचेत हुनै पर्छ र त्यसमा अलिकति सुविचारित ढंगले हामीले पहिलो दोस्रो र तेस्रो पुस्ता बिचमा हामीले संयोजन गर्नुपर्छ। उदाहरणका लागि अहिले हाम्रो पार्टीको मूल नेतृत्वमा हाम्रो पार्टीको शीर्ष नेतृत्वमा जति पनि नेताहरू हुनुहुन्छ उहाँहरू नेकपा मालेका नेताहरू हुनुहुन्छ। त्यो इतिहास नभएको भए, बिरासत नभएको भए, नेकपा एमाले अवश्य पनि आजको अवस्थामा आइपुग्न सक्ने थिएन। त्यसले मात्रै थेग्दैन केही पुरानाको अनुभव पनि लिउ र केही नयाँलाई पनि संयोजन गरेर हामीले तीनै पुस्ताको संयोजनबाट पार्टी अगाडि बढाउन सक्यौँ भने हामी इतिहासको विरासतलाई पनि कायम गर्न सक्छौँ। समयको आवाजलाई पनि सुन्न सक्छौँ। त्यसका लागि लामो इतिहास र भविष्य भएका नेताहरू दुवैको संयोजन हुनुपर्छ नेतृत्वमा।

पछिल्ला वर्षमा संगठन कमजोर भएको भन्दै आलोचना पनि भइरहेको छ, महाधिवेशनले यसलाई कसरी सम्बोधन गर्ने योजना बनाएको छ ?

हामीले विधान महाधिवेशनमा संगठनात्मक प्रश्नहरूमाथि प्रशस्त बहस गरेका छौँ। हाम्रो पार्टीका महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नु भएको संगठनात्मक प्रस्ताव र उपाध्यक्ष बिष्णु पौडेलले प्रस्तुत गर्नु भएको विधान संशोधनसम्बन्धी प्रस्ताव एक अर्कासँग अन्तर सम्बन्धित छन् र यी दुवै प्रस्तावमा छलफल गर्दा आजका संगठनका समस्याहरू के हुन्, तिनीहरूलाई समाधान कसरी गर्न सकिन्छ, पार्टी संरचनाका समस्याहरू के हुन्, तिनलाई कसरी छरितो बनाउन सकिन्छ भन्ने बारेमा हामीले बहस गरेका छौँ र हामीले केही निष्कर्षहरू पनि निकाले छौँ। एकातिर आर्थिक सामाजिक परिवर्तन र सुधारको मार्गलाई अगाडि बढाउँदै सम्वृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय गन्तव्य छ भने अर्को त्यो गन्तव्यमा पुग्नको लागि बलियो राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्न बलियो संगठनात्मक र क्रियाशील संरचना हामीलाई आवश्यक छ। यो आवश्यकतालाई महसुस गरेर हामीले केही निष्कर्षहरू निकालेका छौँ। त्यो निष्कर्ष बोक्न सक्ने नेतृत्व गर्छौँ। नेकपा एमाले महाधिवेशन सकिएको भोलिपल्टबाट पूर्ण गति र ऊर्जाका साथ कार्यक्षेत्रमा खटिन्छ।

जेनजी आन्दोलनपछि युवा र नयाँ मतदातालाई आकर्षित गर्न र समेट्न पार्टीले के–कस्ता रणनीति बनाएको छ ? 

नेकपा एमाले स्वयंमा आजको भाषामा भन्दा जेनजी पुस्ताले निर्माण गरेको पार्टी हो। २०३५ सालको पुष ११ गते नेकपा मालेको स्थापना हुँदा यसका १२ जना संस्थापकहरूको उमेर विश्लेषण गर्नुभयो भने औसतमा २८ वर्ष छ। त्यो बेलाका संस्थापक महासचिव सिपी मैनाली जम्मा २६ वर्षको हुनुहुन्थ्यो। युवाहरूले स्थापना गरेर र मूल प्रवाह बनाएर ल्याएको पार्टी भएको हुनाले युवाहरूको आवाज सुन्ने युवाहरूको ढुकढुकीलाई महसुस गर्ने र युवाहरूलाई महत्व दिने कुरामा नेकपा एमाले जहिले पनि अरूभन्दा अगाडि छ। उदाहरणका लागि म तपाईँसँग अहिले कुरा गरिरहेको छु। म ४० वर्षमुनि हुँदा नै पार्टीको केन्द्रीय कमिटीमा पुगेको थिएँ। मैले अहिले दोस्रो कार्यकाल पूरा गर्दै छु। मुलुकको लोकप्रिय पहिलो पार्टीको केन्द्रीय कमिटीमा ४० वर्षको उमेरभन्दा कममा पुग्नु सानो कुरा होइन। म जस्ता थुप्रै साथीहरू हुनुहुन्छ। मभन्दा कम उमेरका साथीहरू पनि थुप्रै अहिले पार्टीको केन्द्रीय कमिटीमा हुनुहुन्छ। मैले एउटा देखेको समस्या भनौँ अहिले देखेको प्रश्न के छ भन्दा युवाहरूलाई जिम्मेवारी दिने कुरामा हामी अलि उदार हुनुपर्छ। तर जिम्मेवारी पुराना र वरिष्ठताको आधारमा मात्रै दिनुहुन्छ भने नयाँले आफ्नो क्षमता देखाउन पाउदैन। त्यसले गर्दा युवालाई कमिटीमा लैजाने र कमिटीमा कार्यकारी जिम्मेवारी दिने कुरामा पार्टीले सोच्नुपर्छ। यसतर्फ हामी ध्यानाकर्षण गराउँछौँ र गराई पनि रहेका छौँ।

आगामी संघ, प्रदेश र स्थानीय चुनावलाई ध्यानमा राखी एमालेले कुन नीतिगत एजेन्डा अघि सार्नेछ र जनतालाई विश्वास दिलाउने मुख्य मुद्दा के हुनेछ ?

नेकपा एमाले जनताको बिचमा निरन्तर छ जसरी माछा पानीसँग सधैँ रहन्छ नेकपा एमाले त्यसैगरी जनतासँगै छ। भदौ २३ र २४ गतेको जेनजी उपद्रोहपछि हेर्नुभयो भने फिल्डमा नेकपा एमाले मात्रै छ। हामीले देशका वडा तथा ७५३ पालिकामै कार्यक्रम गर्यौँ। ७७ जिल्लामा र मंसिरको ६ गते काठमाडौंमा पनि हामीले प्रदर्शन गर्यौँ। मंसिरको २७ गते हाम्रो उद्घाटन सत्रमा हामीले जनताको विशाल उपस्थितिको अपेक्षा राखेका छौँ। फिल्डमा अरू कुनै पार्टी नै छैन। फिल्डमा नेकपा एमाले मात्र। त्यही भएर नेकपा एमाले र यसको नेतृत्वमाथि आक्रमण र आलोचना भएको  छ। त्यो अरू कुनै कारणले होइन। एमाले यसको अध्यक्ष सबैभन्दा क्रियाशील भएको र यसको कार्यकर्ता पंक्ति क्रियाशील भएकै हुनाले नै नेकपा एमालेमाथि बढी आक्रमण भएको हामी देख्दछौँ। अरू कुनै पार्टीले सभाजुलुस गरेको छैन। कुनै एउटा सामान्य कार्यक्रम पनि गर्न सकेको छैन तर नेकपा एमाले देशैभरि यसका जनसंगठन, कमिटी, नेताकार्यकर्ताहरू परिचालित भएका छन्। हाम्रो चुनावको तयारी नै यही हो हामी जतिबेला पनि चुनावका लागि तयार नै रहन्छौँ तर यो असंवैधानिक र यो गैर गैरकानुनी सरकारले चुनाव गराउन सक्दैन भन्ने हाम्रो मान्यता छ। त्यसका बाबजुद हामी हाम्रा एजेन्डालाई जनताको बिचमा स्थापित गरेर जाने कुरामा सचेत छौँ।

'जनताको बहुदलीय जनवाद' (जबज) लाई अहिलेको सन्दर्भमा कसरी अद्यावधिक गर्ने तयारी छ र नयाँ पुस्तालाई बुझाउन के–कस्तो व्याख्या ल्याइनेछ ? 

जबज मूल रूपमा हाम्रो मार्गदर्शन सिद्धान्त हो। मार्गदर्शन सिद्धान्त हरेक दिन राजनीतिक रूपमा परिवर्तन भैरहने विषय हुँदैन। त्यसले एउटा नेपाली समाजको आमूल रुपान्तरण र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकीकरणले हामीलाई दिशा निर्देश गरेको छ। आज हामीले त्यो अंगीकार गरेको पनि ३३ वर्ष पुगेको छ र त्यसले सही दिशा देखाएको हुनाले नै हामी एउटा लोकप्रिय शक्तिको रूपमा यहाँसम्म स्थापित भएका छौँ। त्यसमा परिमार्जन तथा संशोधन गर्नुपर्ने नयाँ केही छैनन्। त्यसलाई हामीले समृद्ध पार्ने व्यवहारबाट अगाडि बढाउने कुरा मात्रै हामीसँग छ, जस्तो जनताको बहुदलीय जनवादले समाजवाद तर्फ जान हामीलाई निर्देशन गर्छ भने त्यो समाजवादमा जाने कार्यक्रमको रूपमा हामीले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अगाडि सारेका छौँ। जननेता मदन भण्डारीले अगाडि सारेको जबजलाई कार्यान्वयन गर्नका लागि केपी ओलीले अगाडि सार्नु भएको समृद्ध नेपाल सुखी नेपाली नै यतिबेला नेकपा एमालेको कार्यनीतिक नारा हो।

आर्थिक नीति, संघीयता, सुशासन र परराष्ट्र नीतिमा एमालेले के नयाँ व्याख्या ल्याउनेछ र जनताले प्रत्यक्ष अनुभव गर्ने सुधार के हुनेछन् ?

हामीले आफ्ना नीतिहरू विधान महाधिवेशन मार्फत स्पष्ट पारेका छौँ। ति सार्वजनिक जानकारी केही पनि छन्। यतिबेला हामी नेतृत्व चयनको प्रक्रियामा छौँ। नेतृत्व चयन भन्ने बित्तिकै त्यहाँ नेतृत्वमा रहने व्यक्ति, त्यो प्रक्रिया महत्वपूर्ण हुन्छ। त्यसैले यो महाधिवेशनमा हामीले नेतृत्व चयनमा नै आफूलाई केन्द्रित गर्छौँ।

बढ्दो भ्रष्टाचार र सरकारमा सहभागी हुँदा उठेका आरोपबारे महाधिवेशनमा कुनै आत्ममूल्यांकन हुने छरु त्यसबाट पार्टीले के सिक्ने अपेक्षा गरिएको छ ?

आत्ममूल्यांकन भएन र आत्म समीक्षा गरेन भने कुनै पनि लोकतान्त्रिक पार्टी बच्न सक्दैन। जनताको विश्वास प्राप्त गर्ने पार्टी त्यसबाट बाच्न सक्दैन। नेकपा एमाले आफूबाट भएका कमजोरीलाई हृदय खुला र खुला हात फैलाएर जनताका सामु स्वीकार गर्न सधैँ तयार रहँदै आएको छ। हामीले आफ्नो अनुभवबाट आफ्ना कमीकमजोरीबाट सिकेर नै आफूलाई सुधार गर्न सक्छौँ। त्यसले गर्दा हामीले कुनै कमजोरी गर्दा त्यसलाई नस्वीकार्ने भन्ने हुन्न हामी स्वीकार्छौँ। तर, अहिलेको अवस्थामा हामीले कमजोरी स्वीकार्नु पर्ने त्यस्तो गर्नुपर्ने गरी हामीले कुनै गल्ती गरेका छैनौँ। भदौ २३ र २४ गते भएको घटना होइन यो त राज्यका विरुद्धको एउटा संगठित अपराध र सुविचारित आक्रमण हो। त्यसले गर्दा अहिलेको स्थितिमा हामीले आफूलाई अझ बढी संगठित बनाउने, अझ बढी प्रतिरोधी बनाउने र अझ बढी संगठन बनाउने गरी हामी अगाडि जान्छौँ।

प्रकाशित: २३ मंसिर २०८२ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App