निर्वाचन मिति नजिकिएसँगै सबै दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन् । आफ्ना एजेण्डालाई अनुमोदन गराउने दौडमा रहेका नेता कार्यकर्ताको साथ खोज्दै नागरिकको घरमा पुगेर हात जोडिरहेका छन् ।
नेपाली कांग्रेसले सच्चिएर आएको दावी गर्दै कार्यकर्ता र मतदाताको मनोभावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै चुनावी अभियानमा होमिएको छ । यसै सन्दर्भमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, स्थानीय एजेन्डा र समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुराज घिमिरेसँग नागरिककर्मीहरू विनोद सुवेदी र चुमन बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः–
निर्वाचनको तयारी कसरी गरिरहनु भएको छ?
मूलतः निर्वाचनमा उम्मेदवार भएका व्यक्ति र उम्मेदवार बनाउने पार्टीले सकेसम्म धेरै मतदातालाई भेटेर अन्तरक्रिया गर्ने हो। मतदातालाई भेट्ने र अन्तरक्रिया गर्ने कार्यलाई अगाडि बढाइरहेका छौं। पार्टीले निर्धारण गरेका कार्यक्रम र आफूले तय गरेका कार्यक्रममार्फत सकेसम्म धेरैभन्दा धेरै मतदातालाई भेट्ने कोशिश गरिरहेको छु।
देशभरमा नेपाली कांग्रेसको अवस्था कस्तो देखिन्छ?
देशभरबाट प्राप्त विवरण र सूचनाको विश्लेषण गर्दा नेपाली कांग्रेसको पक्षमा माहोल बन्दै गएको देखिन्छ। नेपालमा कांग्रेस मात्रै यस्तो पार्टी हो जसले १ सय ६५ वटै क्षेत्रमा उम्मेदवार उठाएको छ। हालसम्म हाम्रा एक जना उम्मेदवारले निर्वाचन जितिसकेका छन् र कांग्रेसको पक्षमा माहोल बन्दै गएकाले अन्य दलहरूको भन्दा बढी सिट जित्ने विश्वास छ। हाम्रा उम्मेदवारहरूले जित्ने क्षेत्र, जितको नजिक रहेका क्षेत्रबाट मात्रै नभई अन्य क्षेत्रमा पनि प्रगति गरिरहेका छन्। दिनानुदिन हाम्रो पक्षमा जनमत बढिरहेको छ।
स्थानीय एजेन्डाहरू के–के छन्?
खासमा प्रतिनिधिसभा सदस्यहरू कानुन बनाउन र नीति निर्माणका लागि चुनिने हुन्। तर नेपालको अवस्था हेर्दा सांसदहरू विकासका वाहक पनि बन्नुपर्ने अवस्था छ। विकास निश्चित राज्य प्रक्रियाबाट हुनुपर्ने हो, तर हाम्रो नियति यस्तो छ कि जनप्रतिनिधिहरूले पनि विकासको नेतृत्व गर्नुपर्ने अवस्था छ।
चुनाव प्रचारका क्रममा मतदातासँग भेट्दा स्थानीय स्तरका एजेन्डाहरू—बाटोघाटो, पुल, पुलेसा मात्रै नभई खानेपानीका लागि चापाकलसम्मको माग आएको छ। यस क्षेत्रमा कृषि क्षेत्रमा निर्भर जनसंख्या धेरै छ। कृषिमा धेरै समस्या छन्—सिँचाइको समस्या, उन्नत जातको बीउ र मलखादको अभाव। कृषि प्रणाली निर्वाहमुखी र परम्परागत छ, आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था छ। आधुनिक कृषि उपकरणको अभाव छ। उत्पादित वस्तुको बजार र उपयुक्त मूल्यको अभाव छ। लगानीअनुसार प्रतिफल नआउने समस्या छ। बाली बीमाको समस्या पनि रहेको छ।
यी समस्यामा काम गर्नुपर्ने अवस्था छ। कृषिलाई उद्योगका रूपमा परिणत गर्नुपर्ने र कृषिबाटै नागरिकको जीविका चल्ने तथा विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने देखिन्छ। कृषि उपज विदेशबाट आयात गर्ने अवस्थालाई रोकेर निर्यात गर्ने अवस्थामा पुर्याउनुपर्ने छ। यहाँ तटबन्धको समस्या, सुकुम्बासी र भूमिहीनको समस्या, नागरिकताको समस्या छन्। विकास तीव्र गतिमा हुन सकेको छैन। गाउँघरका बाटाहरू कच्ची छन्। कतिपय बाटा खाल्डाखुल्डी छन्। पिच भएका सडकहरू पनि गुणस्तरीय नभएकाले भत्किने अवस्थामा छन्। त्यसैले विकासलाई सुनियोजित रूपमा अघि बढाउनुपर्ने अवस्था छ।
मतदाताहरूको अपेक्षा छ कि केन्द्रीय संसद्ले मात्रै यी विषयहरू सम्बोधन गर्न सक्छ।

मल–बीउको सुनिश्चितता कसरी हुन्छ?
समयमै मल र गुणस्तरीय बीउ उपलब्ध गराउन समयमै मल आयात गर्नुपर्ने हुन्छ। हामीसँग रासायनिक मल आयात गर्नेबाहेक तत्काल अन्य विकल्प छैन। कम्पोस्ट मलको व्यापक उत्पादनतर्फ राज्यको पर्याप्त ध्यान गएको देखिँदैन। कृषि क्षेत्रबाट राम्रो प्रतिफल पाउन समयमै मल र गुणस्तरीय बीउको सुनिश्चितता गर्नुपर्छ। किसानलाई प्रोत्साहित गर्नुपर्छ। यसका लागि मेरो पहल र प्रयास सदैव रहनेछ।
पार्टीभित्रको विवाद कसरी समाधान होला?
पार्टीभित्रको विवाद समाधान गर्न कुनै गाह्रो छैन। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भइसकेकाले त्यस विषयमा विवाद छैन। अन्य विषयका विवाद धेरै बाहिर आएका छैनन्। यो निर्वाचनमा पार्टीलाई यथास्थितिबाट अग्रगमनतर्फ लगिएको छ। नेतृत्व मात्रै होइन, नीति पनि परिवर्तन गरिएको छ। ३५ वर्षको राजनीतिक यात्राको समीक्षा गरिएको छ र अगाडि हिँड्ने बाटो तय गरिएको छ।
हामीले घोषणापत्र नभनेर ‘प्रतिज्ञापत्र’ प्रस्तुत गरेका छौं। प्रतिज्ञा गरेका विषय निर्धारित समयमा पूरा गरेरै छाड्छौं। विगतमा जस्तो घोषणा गरेर काम नगर्ने होइन, अनिवार्य रूपमा काम गर्ने प्रतिबद्धतासहित प्रतिज्ञापत्र सार्वजनिक गरेका छौं।
नियमित महाधिवेशन कहिले होला?
नियमित महाधिवेशनका लागि एक वर्षभन्दा बढी समय हुँदैन। यो अन्तरिम समिति हो। १४औँ महाधिवेशनले निर्वाचित गरेको समितिले समयमा महाधिवेशन गर्ने रुचि नदेखाएकाले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिएको हो। अहिले यो विषय विवादमा छैन। कसैको मनको कुनामा लुकेर बसेको भए समयक्रममा समाधान हुनेछ। देशले हाम्रो कदम अनुमोदन गरिसकेको छ।
नियमित महाधिवेशन वैशाख महिनामा सम्भव छैन। निर्वाचनको परिणाम आएर सरकार बन्ने प्रक्रियामा चैत सकिने भएकाले वैशाखमा महाधिवेशन हुने सम्भावना छैन। २०८३ को पुस मसान्तभित्र नियमित महाधिवेशन हुन्छ।
निर्वाचनपछिको सत्ता समीकरण कस्तो हुन्छ?
अहिले हामी आफ्नै धरातलमा उभिएर निर्वाचनमा होमिएका छौं। कुनै पार्टीसँग गठबन्धन छैन। नेपाली कांग्रेसले नै सबैभन्दा बढी मत ल्याउँछ, सम्भवतः बहुमत पनि ल्याउँछौं। बहुमत आए पनि कुनै समीकरण गर्नुपर्दैन। बहुमत नपुगे सिद्धान्त मिल्ने दलसँग मिलेर सरकार बनाउँछौं।
मतदातालाई के भन्न चाहनुहुन्छ?
यस क्षेत्रको विकास सुनिश्चित गर्न मैले उम्मेदवारी दिएको हुँ। आठ पटक निर्वाचनमा सहभागिता जनाइसकेकाले यस क्षेत्रका समस्या बुझेको छु। सांसदमा निर्वाचित भएपछि जनताकै लागि काम गर्नेछु। बिपी कोइरालाले १५ वर्षभित्र नेपालीलाई आफू सरह बनाउने सपना देख्नुभएको थियो, तर त्यो सपना अझै पूरा भएको छैन। त्यो सपना पूरा गर्न दृढ संकल्पका साथ लाग्नेछौं।
मतदाताहरूलाई आग्रह छ, कुनै पनि कुरा गम्भीरतापूर्वक हेर्नुहोस्। पहिले पार्टीलाई राम्ररी चिन्नुहोस् र उम्मेदवार रोजेर मात्रै मतदान गर्नुहोस्। संसद नीति निर्माण गर्ने थलो भएकाले सक्षम व्यक्तिलाई चयन गर्न ध्यान दिनुहोस्। निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ।
मैले अहिलेसम्म काम गर्ने मौका पाएको छैन। एक पटक काम गर्ने मौका दिनुहोस्। म यो क्षेत्रको प्रतिष्ठा गिराउन दिनेछैन। आम मतदाताको इज्जतमा खेलवाड हुन दिनेछैन। यो क्षेत्रको सही प्रतिनिधि भएर योगदान पुर्याउनेछु। यही मेरो आग्रह हो।
प्रकाशित: १३ फाल्गुन २०८२ २१:०३ बुधबार



