अन्तर्वार्ता

निर्वाचन नभए कांग्रेस संसद् पुनर्स्थापनामा लाग्छ: सहमहामन्त्री राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर हक्की र खरो स्वभावका कारण परिचित छन्। सभापति शेरबहादुर देउवाका हस्ती उनी जारी केन्द्रीय समिति बैठकमा पनि खुलस्त बोलिरहेका छन्। आफू चुनावअघि महाधिवेशन गर्न नहुनेमा रहेको बताउँदै उनी गर्नै परे विशेष महाधिवेशन गरौँ भनिरहेका छन्। यसै सेरोफेरोमा नागरिककर्मी सुभद्रा धितालले राठौरसँग कुराकानी गरेकी छन्। प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:

यसपालि केन्द्रीय कार्यसमिति निकै लम्बियो। के–के छलफल भइरहेको छ? के निर्णय हुन्छ? 

पार्टीमा दुइटा मत आइराखेका छन्। निर्वाचनअगाडि अधिवेशन गर्ने कि निर्वाचन पछाडि अधिवेशन गर्ने भन्ने कुरा मिल्न सकेको छैन। र, फेरि यो विशेष अधिवेशनको माग पनि दर्ता भएको छ। त्यही कुरामा नमिलेका कारण पार्टी बैठक लम्बिइरहेको छ। यसलाई मिलाउन कार्यवाहक सभापति(पूर्णबहादुर खड्का) लागिराख्नुभएको छ। बोल्ने क्रम सकिएको छ, अब निर्णय लिने कुरामा अझै पनि मिलाउने नै प्रयत्नमा उहाँ हुनुहुन्छ। छिट्टै निर्णय दिएर केन्द्रीय समिति बैठक सम्पन्न हुन्छ।

अहिले नियमित महाधिवेशनको चर्चा भइरहँदा ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन्। यो विषयले कुन रूपमा निकास पाउँछ?

मैले १३ औँ अधिवेशनदेखि नै पार्टीभित्रको आन्तरिक निर्वाचनले पार्टी कमजोर भयो। पार्टी एकले अर्कालाई स्विकार्न नसक्ने परिस्थिति भयो। त्यही भएर पार्टीमा वडादेखि केन्द्रसम्म सर्वसम्मत गरौँ भनेको हुँ। किनभने हामी आफूले आफूलाई लोकतन्त्रवादी भन्छौँ, तर हामीसँग लोकतान्त्रिक संस्कार भएन। लोकतान्त्रिक संस्कार नभएकै कारण यो परिस्थिति आएको छ। हाम्रो छिमेकी देश भारतमा पनि बिजेपीको केन्द्रीय अध्यक्षमा चुनाव हुन्न, घोषणा हुन्छ। त्यहाँ त चलिराखेको छ त पार्टी। तिनीहरू पार्टीहरू लोकतन्त्रवादी पार्टी नै छन्। त्यसैले नेपाली कांग्रेस यत्रो लामो इतिहास भएको, देशको जिम्मेवार, जनताप्रति उत्तरदायी, परिवर्तनकारी पार्टी भएको हुनाले वडादेखि केन्द्रसम्म सहमति गरौँ भन्ने कुरा मैले आएको हो। तर न युवा न पुराना नेता कसैले राम्रोसँग त्यो कुरालाई सुनेको छ। कसैले गम्भीर रूपमा लिएका पनि छैनन्। त्यसैले मैले बोल्ने क्रममा पनि अहिले पार्टीभित्रको आन्तरिक निर्वाचन गर्दा आम निर्वाचनमा एकले अर्कालाई स्विकार्न नसक्ने परिस्थिति निर्माण हुन्छ। त्यसैले निर्वाचनपछि पार्टीको अधिवेशन गरौँ भनेर हामी लागिराखेका छौँ। हाम्रा महामन्त्रीहरू निर्वाचन अगाडि महाधिवेशन गरेर पार्टीलाई अगाडि बढाउन कुरा गरिरहनु भएको छ। त्यही कुरा चाहिँ मिल्न सकेको छैन। मिलाउने कोसिस चाहिँ भइरहेको छ।

महाधिवेशन कहिलेसम्म हुन्छ ? यहाँको धारणा के हो? 

महाधिवेशनको मितिको कुरामा मैले अब सहमति गरौँ भनेको हुँ। यदि सहमति नहुने हो भने विशेष महाधिवेशनमा पनि जान हामी तयार छौँ। विशेष महाधिवेशनको लागि हिजो १४औँ महाधिवेशनमा हारेकाहरू धेरै बाहिर चिच्याइरहेको जस्तो लागिरहेको छ। हामी चाहिँ जितेर आएको मान्छे, हामी भिलेनजस्तो, हामीले अधिवेशन गर्न नचाहेको जस्तो देखिएको छ। त्यसैले यदि सहमति भएन भने विशेष महाधिवेशन गर्नुपर्छ भन्ने कुरा हो। 

विशेष अधिवेशन मैले किन भनिराखेको छु भने नियमित अधिवेशन गरेमा वडादेखि केन्द्रसम्म विवाद हुन्छ। विशेष महाधिवेशन गरे महाधिवेशन प्रतिनिधि त पहिले १४औँ महाधिवेशनबाटै चयन भएका हुन्, अलि विवाद कम हुन्छ। 

हुन त हाम्रो चार वर्षको कार्यकाल हो, विशेष महाधिवेशनको कुरा चार वर्ष कार्यकालभित्र ल्याउनु पर्ने हो, मंसिरमा हाम्रो अवधि सकिँदै छ, अवधि सकिन लागेको बेला विशेष महाधिवेशन गरा भनेर ल्याउने प्रस्ताव नै ठिक होइन–व्यवहारिक, राजनीतिक कुनै हिसाबले पनि ठिक होइन। तैपनि महामन्त्रीहरूकै आह्वानमा, महामन्त्रीहरूकै सक्रियतामा विशेष महाधिवेशनको प्रस्ताव आयो। अब जाने भए जाउँ। हामी विशेष महाधिवेशन पनि फेस गरेर जान तयार छौँ।

नियमित वा विशेष महाधिवेशन भनेर भइरहेको बहसले संगठन चलायमान बनाउने, मुलुकको समस्या समाधान गर्ने र हाल देखिएका चुनौती सामना गर्नेमा केन्द्रित छ कि नेतृत्वको छनोटका लागि मात्र?

अहिले मुलुकमा देखिएको परिस्थितिलाई सामना गर्न हामी अहिले पनि सक्षम नै छौँ। सभापतिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइसक्नुभएको छ। उहाँ कांग्रेसको ५० वर्षभन्दा लामो राजनीतिमा निष्कलंकित व्यक्ति हो। कुनै दोष, आरोपसम्म लागेको छैन। उहाँ किशुनजी(कृष्णप्रसाद भट्टराई)को अनुयायी पनि हो। त्यसैले उहाँजस्तो नेताले कार्यवाहक सभापति पाइसकेपछि लिडरसिपमा धेरै ठुलो समस्या नै रहेन। अर्को कुरा मैले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै भनेको थिएँ–कि शेरबहादुर देउवाको नाममा भोट आउँदैन भने कसको नाममा भोट आउँछ? कांग्रेस सबैभन्दा ठुलो पार्टी हो। शेरबहादुर देउवाले नै बनाउनुभएको हो। कसको नाममा ‘लार्जेस्ट पार्टी’ हुन्छ ? वा कसको नाममा बहुमत आउँछ? त्यो विषयमा पनि केन्द्रीय समितिमा छलफल गरौँ। होइन भने यसमा धेरै विवाद गर्न जरुरी पनि छैन।

हिजो २०५६ को चुनावमा गिरिजाप्रसाद कोइराला पावर फूल सभापति हुनुहुन्थ्यो। उहाँले किसुनजीलाई अगाडि सारेर चुनावमा कांग्रेस गएको हो। त्यसै गरेर अहिले पनि अहिलेको नेतृत्वको नाममा मत आउँदैन भने कसको नाममा मत आउँछ छलफल गरौँ केन्द्रीय समितिमा। र, फागुन २१ को निर्वाचनमा जाउँ। प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पनि जान सकिन्छ निर्वाचनमा। महामन्त्रीहरूको जिद्दी यो पनि हुँदैन भन्ने छ। विकल्प त दिन सक्नुपर्छ नि, हामीले विकल्प दिइराखेका छौँ। अधिवेशन र निर्वाचन सँगसँगै तयारी गरौँ, यदि फागुनमा निर्वाचन भएन भने अधिवेशन गरौँ, फागुनमा निर्वाचन भए वैशाखमा अधिवेशन गरौँ भनेर हामी विभिन्न ढंगले कुरा गरिराखेका छौँ। तर हाम्रा महामन्त्रीहरू चार वर्षसम्म पाएको जिम्मेवारी पूरा नगर्ने, अहिले तुरुन्तका तुरुन्त एक महिनामा अधिवेशन गरौँ र नेतृत्व हत्याउजस्ता कुरा गर्छन्। कांग्रेस देशको जिम्मेवार पार्टी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले हेरिरहेको छ। त्यसैले छिटो निर्णय गरेर निर्वाचनमा जाऔँ भन्ने हो। तर पार्टी भित्रको विवादले अलमल्याइरहेको छ, निकास छिट्टै निस्किन्छ। 

विधानको व्यवस्थाले सभापति शेरबहादुर देउवा फेरि लड्नुहुन्न।  अबको नेतृत्व कसको हातमा र कसरी जान्छ?

पार्टी सभापति शेरबहादुर देउवा तीन वर्ष अगाडिदेखि म अब १५औँ अधिवेशनमा सभापति लड्दिनँ भनिराख्नुभएको छ।  विधानतः पनि उहाँ लड्न नपाउने परिस्थिति हो। अहिले भदौ २३ र २४को घटनापछि कार्यवाहक सभापति दिएर उहाँ उपचार गर्न बाहिर जानुभयो। हाम्रो टिमभित्र धेरै नेता हामीभन्दा पनि सिनियर हुनुहुन्छ। अर्को टिममा महामन्त्रीको पनि इच्छा गरिरहेको परिस्थिति छ। अर्को टिममा शेखर दाइ(डा.शेखर कोइराला)को पनि इच्छा देखिन्छ।  अब सकेसम्म हाम्रो टिमबाट एउटा उम्मेदवार बनाएर जानुपर्छ भन्ने मेरो भनाई हो। नेताहरूलाई मैले के भनेको छु भने तपाईँहरू सहमति गरेर एउटा उम्मेदवार दिन सक्ने भए दिनुस्, मान्न तयार छौँ। यदि सहमति गर्न सक्नु भएन भने म तयार छु भनेको छु। म त्रिचन्द्रको सभापति हुँदा गगनजी सदस्य हुनुहुन्थ्यो। उहाँ महामन्त्री भइसक्नुभयो सभापतिको दाबी गरिराख्नुभएको छ भने, म पनि सक्षम छु। त्यसैले तपाईँहरूले मलाई सहयोग गर्नुपर्‍यो मैले भनिरहेको छु। 

जोकोही नेता भए पनि अब कांग्रेसलाई एक बनाएर लैजान सहज छैन भनिन्छ? तपाईँलाई के लाग्छ? 

त्यस्तो होइन, नेपाली कांग्रेस देशको जिम्मेवार लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक पार्टीमा मतभिन्नता हुनुलाई स्वाभाविक रूपमा लिनुपर्छ। यो कम्युनिस्ट पार्टी होइन। कम्युनिस्टमा असहमत भएपछि अर्को पार्टी खोलिहाल्छन्। तर कांग्रेसमा त्यसो हुन्न।  विगतमा कांग्रेस पनि फुटेको छ। तर यहाँ भित्र वादविवाद हुनु, छलफल हुनु, सहमति हुनु असहमति हुनु सामान्य हो। यहाँ नेतृत्वको बारेमा पनि विरोध गरिराखेका हुन्छन्। महामन्त्रीहरूले नै सभापतिको विषयमा विरोध गरिराख्नुभएको हुन्छ। त्यसैले स्वाभाविक रूपमा एउटा लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक प्रक्रियाको रूपमा हामीले यसलाई लिने गर्छौँ। त्यसैले कांग्रेसभित्रको वादविवादलाई धेरै इस्यु बनाउनुपर्ने जरुरी छैन। तर कांग्रेसले के निर्णय गर्‍यो भन्ने सबैले हेर्न जरुरी छ। कांग्रेसले के निर्णय गर्दै छ भनेर अहिले संसारले पनि कुरिरहेको छ।

कांग्रेस सबैभन्दा ठुलो दल रहेको प्रतिनिधिसभा जेनजी आन्दोलनपछि विघटन भएको छ। फागुन २१ का लागि निर्वाचन तोकिएको छ, कांग्रेस चुनावका लागि तयार छ? 

हामी निर्वाचनमा जानका लागि तयार छौँ।

कांग्रेससँग सत्ता सहकार्य गरेको, सरकारको नेतृत्व नै गरेको नेकपा एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएको छ। यो मुद्दामा यहाँहरूको पार्टी कहाँनिर छ?

नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएको हुनाले हामीले निर्वाचनलाई बहिस्कार गर्न मिल्दैन। हिजो राजाले २०३६ सालमा धाँधली गरेरै गराएको जनमत सङ्ग्रहलाई पनि हामीले एक्सेप्ट गरेका थियौँ। बिपी कोइरालाले २००७ सालको क्रान्तिपछि संविधान सभाबाट संविधान बन्नुपर्छ भनेर भन्नुभएको थियो तर राजाले संविधान सभाबाट संविधान बन्न दिएनन्। २०१५ सालमा राजाले घोषणा गरेको संविधानमा पनि हामीले चुनाव लडेर दुई तिहाइ बहुमत ल्याएको पार्टी हौँ। त्यसैले निर्वाचनलाई बहिस्कार गर्ने, निर्वाचन छाड्ने काम गर्दैनौँ। तर पार्टीभित्र संसद् पुनर्स्थापना गरेर जानुपर्छ भन्ने सांसद र नेताहरूले भनिरहेको परिस्थिति पनि छ। तर हामीले एमालेको जस्तो पुनर्स्थापना हुनुपर्छ भनेरै हिँडेका छैनौँ।  राष्ट्रिय सहमति गरेर, संविधान संशोधनको एजेन्डा तयार गरेर, जेनजीहरूका भावनालाई सम्बोधन गरेर संसद् पुनर्स्थापना गरेर जान पनि सकिन्छ भन्ने कुरा हाम्रो पार्टीभित्र उठिराखेको छ। एउटा कुरा के बुझ्नुस् भने एमालेले भनेको जस्तो पुनर्स्थापना हामीले खोजेका होइनौँ। 

तर यदि फागुन २१ गते निर्वाचन भएन भने त हामी संसद् पुनर्स्थापना त जानै पर्छ। यो संविधान धेरै दुःख र संघर्ष गरेर ७० वर्ष लडेर ल्याएको हो नि त। त्यतिकै आएको होइन। 

यदि महाधिवेशन भएको खण्डमा कस्तो अवस्था आउँछ ?

मैले केन्द्रीय समितिमा पनि भने ठुला तथा क्रान्तिकारी कुरा गरेर हुँदैन। परिवर्तन गर्छौँ अधिवेशनले मात्र परिवर्तन हुँदैन अनुहार यीनै आउने हो। अहिले केन्द्रीय समितिमै भएका र १४ औँ अधिवेशनमा हारेका मान्छे आउने हुन्, अरू केही हुने वाला छैन। जबसम्म हामीले हाम्रो सोच, कार्यशैलीमा र जीवनशैलीमा आमूल परिवर्तन गर्दैनौँ हामीले चाहेकोजस्तो समाज, पार्टी र देश बनाउन सक्दैनौँ। नेपालीलाई युरोप अमेरिका जस्तो चाहिएको छ देश। युरोप अमेरिका कसरी बनेको छ? दक्षिण एसियामा बसेर युरोप अमेरिकाको कुरा गर्ने हामीले त दक्षिण एसियासँग हामीलाई तुलना गर्ने हो नि। अब विकासको कुरा गर्नुहुन्छ भने हाम्रो पूर्वी नेपाल बिहारसँग जोडिएको छ। पूर्वी नेपालका र बिहारका जनताको जीवनस्तर हेर्नुस्। बिहारका जनता अहिले पनि खाली खुट्टा हिँड्छन्। पश्चिम नेपाल युपीसँग जोडिएको छ। युपीका गाउँ र पश्चिम नेपालको हाम्रो गाउँ हेर्नुपर्‍यो। त्यसैले समाजको क्यारेक्टर परिवर्तन नभएसम्म केही हुनेवाला छैन। किनभने त्यही समाजबाट नेता हुने हो। त्यही समाजबाट पत्रकार हुने हो त्यही समाजबाट कर्मचारी हुने हो।

आन्दोलनरत जेनजीले उठाएका मुद्दालाई कांग्रेसले कसरी लिएको छ? भ्रष्टाचारको अन्त्य, सुशासन त्यो कसरी पूरा हुन्छ? त्यसका प्रक्रिया के हुन?

मैले भने नि पहिलो कुरा परिवर्तन आफूबाट खोज्नु पर्छ। हाम्रो देशका नेता हिजो सशस्त्र क्रान्ति गरेर आएको माओवादीका नेता, उनीहरू बसेको सोफा, घर, जीवनशैली होइन। मलाई के लाग्या थियो भने बहुदलीय व्यवस्था आइसकेपछि गिरिजाप्रसाद कोइराला मोस्ट पावर फुल हुनुभयो। उहाँसँग मैले असहमति राखेर राजनीति गरेँ। तीन वटा कुरा मेरो विशेष असहमति हो। पहिलो कुरा मैले बुझेको राजनीति मूल्यमान्यता हो, निष्ठा र आदर्श हो भन्ने कुरा बुझेको छु। तर उहाँ प्रधानमन्त्री भएपछि के गर्नुभयो भने राजनीति भनेको पद, पैसा, पावर प्राप्ति हो। त्यसको लागि जे गरे पनि हुन्छ जसरी भए पनि हुनुपर्छ भन्ने कुरा स्थापित गर्नुभयो। त्यसमा मेरो असहमति हो। मैले केही पाउनको लागि राजनीति गरेको होइन। अहिलेका नयाँ पार्टीहरूमा संसार घुमेर केही गर्न नसकेकाहरू यहाँ आएर ठुला कुरा गरिरहेका छन्। म सल्यानमा जन्मेको भए पनि काठमाडौंमा पढेको, हुर्केको, यहीँ राजनीति गरेको हुँ। कहीँ जान नसकेर, केही गर्न नसकेर राजनीतिमा लागेको होइन। मलाई दुःख छ, समस्या छ तर म दुखी छैन। किन दुखी छैन?  मलाई केले प्रेरित गरिरहेको छ? भन्दा राजनीति गदा कसैको समस्या समाधान गरे मलाई आनन्द आउँछ। त्यही कुराले मलाई राजनीतिमा प्रेरित गरिरहेको छ। 

दोस्रो कुरा गिरिजाप्रसाद कोइरालाले २०५० सालमा किशुनजी चुनाव लड्दा घात अन्तर्घात सुरु गरिदिनुभयो। पार्टीमा त्यसलाई हामीले अहिलेसम्म पनि साम्य गराउन सकेका छैनौँ। सुशील कोइरालाको नेतृत्वले पनि गराउन सकेन। शेरबहादुर देउवाको नेतृत्वले पनि गराउन सकेन। तेस्रो कुरा २०५१ को मध्यावधि नभएको भए देश अर्को ठाउँमा हुन्थ्यो। २०५१ को मध्यावधिले देश यहाँ पुग्यो भन्ने मेरो धारणा हो। त्यसैले मलाई के लाग्या थियो भने यो देश जसले बनाए पनि हुन्छ। हामी यो देश बन्यो भनेपछि तपाईँले बैंकमा पैसा राख्नु पर्दैन, तपाईँले ठुलो घर बनाउनु पर्दैन, देशले ग्यारेन्टी गर्छ। यदि देश कमजोर भयो भने बैंकमा राखेको पैसा पनि कागज हुन्छ। नेपाली जनताले यो कुरा बुझेकै छैनन् बुझ्न तयारै छैनन्।

जेनजीहरूले उठाएका मुद्दाहरू ठिक छन्। म ४० वर्षदेखि त्यसैको लागि लडिरहेको छु। तर उनीहरूले अरूलाई प्रश्न गर्नुभन्दा पहिला उनीहरूले आफ्नो बाबुआमालाई प्रश्न गर्नुपर्‍यो। आफूलाई प्रश्न गर्नुपर्‍यो। हाम्रो समाज कस्तो हो भने आफूले जे पनि गर्ने अरूले राम्रो गरे पनि हिरो आफैँ बन्ने? राजनीतिमा हिरो हुँदैन। त्यो फिल्ममा हुन्छ। राजनीतिमा हिरो बन्नका लागि नेता इमानदार, नैतिकवान् हुनुपर्‍यो, दृष्टिकोण हुनुपर्‍यो। अनि मात्र देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सकिन्छ।

प्रकाशित: ३० कार्तिक २०८२ २१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App