अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ मा ज्वालामुखि विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाइ उदृत गर्दै एएफपीले जनाएको छ।  

अधिकारीका अनुसार बेपत्ता हुनेहरुमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन्  भने विस्पोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ धुलो फैलिएको छ।  

उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिहरू वारे अझै पुष्टि नभएको बताएका छन्। रिपोर्टका आधारमा बेपत्ता भएका २० जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गरे।

वैज्ञानिकहरूले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिए पछि अप्रिल –१७ देखि यो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको भए ता पनि बेपत्ताहरु सबै पर्वतारोहीहरू रहेको उनले उल्लेख गरे।

इन्डोनेसियको भू–विज्ञान विधागका प्रमुख लाना सारियाले विस्फोटले उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्र सम्म प्रभाव गरेको पुष्टि गरिन्।

विस्पोटको खरानी उत्तरतर्फ धेरै फैलिएको उल्लेख गर्दै यस तर्फका आवासीय क्षेत्रमा  सतर्कता अपनाउनु आवश्यक भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।  

इन्डोनेसिया एक विशाल द्वीपसमूहहरुको राष्ट्र र यसको भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको जनाइएको छ।  

माउन्ट डुकोनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो–उच्च सतर्कता स्तरमा रहेको जनाइएको छ।

गत डिसेम्बर देखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी) ले पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटर भित्रमा नआउन सिफारिस गरेको छ।

प्रकाशित: २५ वैशाख २०८३ १४:१८ शुक्रबार