जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ।
सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेका छन्।
‘टोकियो एनमुसुबी’ नामक यो एप सेप्टेम्बर २०२४ मा सञ्चालनमा आएको थियो। विवाह गर्न इच्छुक करिब ७० प्रतिशत व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी नभएको सरकारी सर्वेक्षणपछि उनीहरूलाई सहज रूपमा जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।
एपमा सहभागी हुन इच्छुक व्यक्तिले आफू कानूनी रूपमा अविवाहित रहेको प्रमाण पेश गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसबाट विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिमात्र सहभागी हुने वातावरण बनाइएको सरकारको भनाइ छ।
यस वर्ष जुन ३० सम्म एपमा करिब ३६ हजार आवेदनमध्ये १६ हजार सदस्य दर्ता भएका छन्। सरकारी तथ्याङ्कअनुसार हाल ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा छन् भने २६५ जोडीले विवाह गरिसकेका छन्।
सरकारले सार्वजनिक गरेको अनुभवमा ‘टर्टल’ नामबाट चिनिएकी एक महिलाले आफ्नो ४०औँ जन्मदिन नजिकिँदै गर्दा यसलाई ‘अन्तिम अवसर’ ठानेर एप प्रयोग गरेको बताए।
उनका अनुसार धेरै ब्लाइन्ड डेटपछि अगस्टको अन्त्यतिर वर्तमान पतिसँग भेट भएको, सेप्टेम्बरको मध्यदेखि गम्भीर सम्बन्ध सुरु भएको र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरिएको थियो।
एपमार्फत जीवनसाथी भेट्टाउन सफल अर्का एक प्रयोगकर्ता ‘स्काइट्री’ ले एआईले सम्भावित जोडीसँगको अनुकूलता चरणबद्ध रूपमा देखाउने भएकाले भेट गर्ने निर्णय लिन सहज भएको बताए।
उनका अनुसार आफ्नी प्रेमिकासँगको एआई अनुकूलता मूल्याङ्कन अत्यन्त उच्च रहेको थियो।
यसबीच, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको सङ्ख्या घटेर छ लाख ७१ हजार २३६ मा पुगेको छ।
यो सङ्ख्या लगातार दशौँ वर्षको वार्षिक गिरावट हो। सोही अवधिमा मृत्यु सङ्ख्या १६ लाखभन्दा बढी पुगेको छ भने प्रजनन दर १.१५ बाट घटेर १.१४ मा झरेको छ।
यद्यपि विवाहको सङ्ख्या भने केही बढेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: १२ श्रावण २०८३ १४:२७ मंगलबार