अन्तर्राष्ट्रिय

होन्डुरसमा १९ जनाको हत्या

उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भएको सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएपछि देश फेरि सङ्गठित अपराध र गिरोह हिंसाको चपेटामा परेको छ।

प्रतिद्वन्द्वी सशस्त्र समूहबीच पाम बगान र लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर चर्किएको द्वन्द्वबीच भएको यो नरसंहारले होन्डुरसको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

अधिकारीहरूका अनुसार हत्या बुधबार राति रिगोर्स क्षेत्रमा भएको थियो। उक्त क्षेत्र लामो समयदेखि लागुऔषध तस्कर समूह, सशस्त्र गिरोह र भूमि नियन्त्रणको हिंसात्मक सङ्घर्षका कारण तनावग्रस्त मानिन्छ। स्थानीय बासिन्दाहरूले रातभरि निरन्तर गोलीबारीको आवाज सुनेको बताएका छन्।

होन्डुरसको राष्ट्रिय विधायिकाले देशमा बढ्दो आपराधिक हिंसा नियन्त्रण गर्न कडा सुरक्षा सुधारहरू पारित गरेलगत्तै यो घटना सार्वजनिक भएको हो।

नयाँ कानूनी व्यवस्थाअन्तर्गत सेनालाई सार्वजनिक सुरक्षासम्बन्धी कार्यमा प्रत्यक्ष सहभागी गराउने तथा सङ्गठित अपराध नियन्त्रणका लागि नयाँ विशेष एकाइ गठन गर्ने अधिकार दिइएको छ। साथै गिरोह र लागुऔषध कार्टेललाई आतङ्कवादी समूहका रूपमा वर्गीकृत गर्ने बाटो पनि खुला गरिएको छ।

होन्डुरसका नयाँ कन्जरभेटिभ राष्ट्रपति नास्री असफुराले ल्याटिन अमेरिकामा सङ्गठित अपराधविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको कडा सुरक्षा अभियानसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

बिहीबारकै अर्को हिंसात्मक घटनामा ग्वाटेमालाको सीमाक्षेत्र नजिक एक विशेष गिरोहविरोधी टोलीले लागुऔषध तस्करको घरमा छापा मार्ने प्रयास गर्दा भीषण गोली हानाहान भएको थियो । त्यस क्रममा चार सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रहरीका अनुसार घटनास्थलबाट सबै शव अझै निकाल्न नसकिएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ।

अगुआन उपत्यकामा मारिएका अधिकांश व्यक्ति पाम बगानमा काम गर्ने किसान रहेको स्थानीय ग्रामीण समूहका एक नेताले बताए। सुरक्षा संवेदनशीलताका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका ती नेताका अनुसार उक्त क्षेत्रका बासिन्दाहरू लामो समयदेखि सशस्त्र समूहको धम्की र त्रासमा बाँचिरहेका छन्। उनले स्थानीय अवस्था वर्णन गर्दै मानिसहरू ‘एउटा आँखा खोलेर र अर्को बन्द गरेर सुत्न बाध्य’ भएको बताए।

स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियोहरूमा विशाल पाम बगानभित्र छरिएका र रगतले लतपतिएका शवहरू देखिएका छन्। भिडियोमा कम्तीमा नौ शव खुलेआम खेतभित्र फालिएको अवस्थामा देखाइएको थियो।

होन्डुरसका सुरक्षामन्त्री गर्जोन भेलास्केजले पत्रकारहरूसँग कुरा गर्दै घटनास्थलको दृश्यलाई अत्यन्तै भयावह र नरकजस्तै अवस्था भएको संज्ञा दिए। उनका अनुसार धेरै व्यक्तिलाई उच्च क्षमताका हतियार, सम्भवतः राइफल र सटगन प्रयोग गरेर हत्या गरिएको देखिन्छ।

पछि अभियोजक कार्यालयकी प्रवक्ता युरी मोराले स्थानीय टेलिभिजनसँग कुरा गर्दै अनुसन्धान टोलीहरूले एउटा क्षेत्रमा १३ शव र अर्को क्षेत्रमा थप छ शव फेला पारेको जानकारी दिए।

सुरक्षामन्त्री भेलास्केजले बाजो अगुआन क्षेत्र धेरै वर्षदेखि लागुऔषध तस्करी, पाम तेल कारोबार र सशस्त्र समूहको प्रभावका कारण हिंसात्मक द्वन्द्वमा फसेको बताए। उनका अनुसार घटनाको स्पष्ट कारण अझै नखुले पनि यसको सम्बन्ध आपराधिक सञ्जालसँग जोडिएको देखिन्छ।

नजिकैको ट्रुजिलो क्षेत्रका प्रहरी प्रमुख कार्लोस रोजासले स्थानीय सञ्चारमाध्यमलाई विभिन्न गिरोहहरूले ठूला अफ्रिकी पाम बगानहरू कब्जा गरी अवैध रूपमा सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार त्यही बालीबाट प्राप्त आम्दानी प्रयोग गरेर सशस्त्र समूहहरूले हतियार खरिद गर्ने गरेका छन्।

यद्यपि स्थानीय किसान सङ्गठनहरूले भने अन्तर्राष्ट्रिय कृषि व्यवसाय कम्पनीहरूलाई समेत दोष दिएका छन्। ती समूहहरूले बहुराष्ट्रिय कृषि निगमहरूले आपराधिक समूहलाई संरक्षण दिएको र स्थानीय बासिन्दालाई विवादित जमिन पुनः प्राप्त गर्न नदिएको आरोप लगाएका छन्।

यसबीच एक वरिष्ठ सरकारी अनुसन्धान अधिकारीले नाम नखुलाउने सर्तमा घटनालाई केवल भूमि विवादका रूपमा व्याख्या गर्न नमिल्ने बताए।

उनका अनुसार यो नरसंहार प्रत्यक्ष रूपमा लागुऔषध तस्करीसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रकाशित: ८ जेष्ठ २०८३ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App