अन्तर्राष्ट्रिय

चिनियाँ सामानमा थप कर लागू

वासिङ्टन – विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासकाबीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्त राज्य अमेरिकाले आइतबारदेखि लागू हुने गरी चिनियाँ सामानको आयातमा थप कर लागू भएको घोषणा गरेको छ।  
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब तीन सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत कर वृद्धि हुनेछ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाइ गर्न नसकिने बताएका थिए।   ‘घोषित कर वृद्धि लागू हुन्छ, यो रोकिँदैन,’ उनले संवाददातालाई बताएका थिए।   घोषणाअनुसार खाद्य सामग्री, खेलकूदका सामान, संगीत सामग्री र फर्निचरसमेतका दैनिक उपभोगका सामानमा कर वृद्धि गरिएको छ।  वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्युटका अर्थशास्त्रीहरुले अमेरिकाको पछिल्लो कदमले करीब एक सय १२ अर्ब अमेरिकी डलरबराबरका सामानमा असर पार्नेछ।

चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धि सँगसँगै चीनसँगको वार्तालाई पनि निरन्तरता दिने बताएका छन्।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गत साता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए।  अमेरिकातर्फ निकासी हुने कूल पाँच सय ४० अर्ब डलरबराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ।

ट्रम्पको घोषणापछि यसै महिननाको सुरुमा बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो।  सेप्टेम्बर १ देखि लागू हुने गरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो। सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए।  कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरिद गर्ने सामान महंगो हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए।  तर गत शुक्रबार राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताएका थिए। 

‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन्।  उनीहरुको व्यवस्थापन पनि कमजोर छ,’ ट्रम्पलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।   चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धि सँगसँगै चीनसँगको वार्तालाई पनि निरन्तरता दिने बताएका छन्।  ‘हामीले चीनसँग कुराकानी गरिरहेका छौं।  वार्ताका लागि मिति तोकिएको छ।  एक अर्काबीच फोनमा संवाद भएका छन्।  मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ।  वार्ताहरु रद्द भएका छैनन्।  हेरौं के हुन्छ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। 

ट्रम्पले सन् २०१८ को मार्च महिनाबाट चीनसँगको व्यापार युद्ध आरम्भ गरेका थिए।  उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन्। 

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको भने पनि वासिङ्टन र बेइजिङबीच कुनै सम्झौता भएको छैन।  अमेरिकी कूल गाहस्र्थ उत्पादनमा उपभोग्य वस्तुले ७५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ। 

प्रकाशित: १६ भाद्र २०७६ ०३:२९ सोमबार

अमेरिका–चीन व्यापार_युद्ध कर