अन्तर्राष्ट्रिय

दक्षिण र उत्तर कोरियाली नेताबीच प्योङयाङमा शिखर वार्ता

सोल- दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मङ्गलबार वार्ता भएको छ। 

दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको हो। 

वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका सडकमा सवारी हाँक्दै गर्दा सडकका दुई किनारामा बसेका हजारौँ कोरियाली नागरिकले उनीहरूलाई तालीसहित भव्य स्वागत गरेका थिए। 

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गराउँन अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने तयारीका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन्। प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन विमानस्थलमा एकआपसमा अँगालो मार्दै स्नेह र आत्मियताको भाव साटासाट गरेका थिए। 

सडकमा स्वागतका लागि बसेका कोरियालीहरूले हातमा फुलका गुच्छा समातेर एक स्वरमा ‘राष्ट्रको पुनः एकीकरण’ को गीत गाएका थिए। 

वर्कर्स पार्टीको वार्ताको शुरुवात गर्दै दक्षिण कोरियाली नेता मुनले किमसँग भने, “म हामीमाथि रहेको भारबारे पूर्णतया सम्वेदनशील रहेको छु।” उनले थपे, “मलाई भारी जिम्मेवारीपनको बाेध भएको छ।” मुनले भने, “सम्पूर्ण विश्वले हेरिरहेकोे छ। म शान्ति र समृद्धिको नतिजालाई विश्वभर देखाउन चाहन्छु।” मुनका आफ्नै अभिभावक पनि कोरियाली युद्धका समय उत्तर कोरियातर्फ भागेका थिए। 

आफ्ना पाहुनालाई सम्मानपूर्ण भावमा सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत जुन महिनामा ऐतिहासिक सिङ्गापुर शिखर सम्मेलनका लागि मध्यस्थता गरेकोमा मुनको प्रशंसा गरे। यसले यस क्षेत्रलाई स्थायित्वतर्फ लगेको छ। यसले थप गति लिनेछ भन्ने मैले सोचेको छु। दुई घण्टा लामो वार्तामा भएका थप कुराकानीबारे भने तत्काल केही बताइएको छैन। 

मुन र किमबीच अर्को चरणको वार्ता बुधबार पुनः हुनेछ। 

प्रकाशित: २ आश्विन २०७५ १५:४९ मंगलबार

दक्षिण_र_उत्तर_कोरिया मुन_जाय_इन किम_जोङ_उन शिखर_वार्ता