अन्तर्राष्ट्रिय

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

टेक्सासको म्याकएलेनमा आफ्नी आमा पक्राउ परेपछि रुँदै एक बालक । तस्बिर : एजेन्सी

वासिङ्टन– अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

आप्रवासी बालबालिकालाई उनीहरुका आमाबाबुबाट छुट्याउने अमेरिकी नीति अत्यन्तै गलत भएको बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनले अमेरिकी नीतिका कारण बालबालिका पिँजडा रूपी जीवन बिताउन बाध्य हुने र त्यो अत्यन्तै कारुणिक हुने बताइन्।

अमेरिकी नीतिको पप फ्रान्सिसले पनि विरोध गरेका छन् । उनले अमेरिकी धर्मगुरुहरुको भनाइमा समर्थन गर्दै आप्रवासी बालबालिकालाई उनीहरुका परिवारबाट छुट्याउनु अनैतिक भएको बताएका छन्।

आप्रवासीका बालबालिकालाई अमेरिकी सीमाबाटै उनीहरुका परिवारबाट छुट्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णय परिवर्तन गराउन रिपब्लिकनको नियन्त्रण रहेको अमेरिकी कंग्रेसलाई दबाब बढिरहेको बिबिसीले जनाएको छ । विश्वभर र देशमै पनि अमेरिकी नीतिको विरोध भएपछि रिपब्लिकनहरुले आप्रवासीका लागि नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।

रिपब्लिकनले ल्याउने जुनै पनि विधेयकको समर्थन आफूले गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले हाउस रिपब्लिकनको समूहलाई आश्वस्त पारेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
अभिभावक र बालबालिकालाई छुट्याउने कार्य निश्चय पनि आकर्षक कार्य नभएको र राम्रो पनि नदेखिएको हाउस रिपब्लिकनको समूहसमक्ष अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको रिपब्लिकन टम कोललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

रिपब्लिकन कोलले यस्तो बताए पनि मंगलबार मात्रै पनि अमेरिकी राष्ट्रपति ट्रम्पले गैरकानुनी सीमापार रोक्नका लागि यस्तो नीति आवश्यक भएको जिकिर गरेका थिए ।‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने अभिभावकलाई तपाईं अभियोग लगाउनु हुन्छ भने तपाईंले बालबालिकालाई कतै लाने पर्ने हुन्छ,’ राष्ट्रपति ट्रम्पले मंगलबार बताएका थिए ।

पिँजडामा सुतिरहेका बालबालिकाका दर्जनौं तस्बिर र अभिभावक पाउन रोइरहेका दर्जनौं बालबालिकाका अडियो पछिल्लो समय बाहिर आएका छन् । तस्बिर र अडियो बाहिरिएपछि विश्वभरबाट अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयको कडा आलोचना भइरहेको बिबिसीले जनाएको छ ।

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले गैरकानुनी आप्रवासीविरुद्ध ‘शून्य सहनशीलता’ ल्याएपछि अमेरिकी सीमामा आप्रवासीका बालबालिका र अभिभावकलाई छुट्याउने नीति ल्याइएको थियो । नीति लागू भएसँगै मे ५ देखि जुन ९ बीचमा दुई हजार दुई सय छ अभिभावकबाट दुई हजार तीन सय ४२ बालबालिका छुट्याइएको अमेरिकी आप्रवासनसम्बन्धी निकायका अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

त्यसरी छुट्याइएका बालबालिकामध्ये शिशु एवं नाबालकहरुलाई तीनवटा ‘टेन्डर एज’ वासस्थानमा पठाइएको समाचार एजेन्सी एसोसियटेड प्रेसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बालबालिका राखिएको त्यस्ता वासस्थान भ्रमण गरेका चिकित्सक र अधिवक्ताहरुको समूहले बालबालिका अनियन्त्रित र रोइरहेको देखिएको एसोसियटेड प्रेसलाई बताएका छन्।

आप्रवासी अभिभावकबाट बालबालिका छुट्याउने अमेरिकी नीतिको विश्वभरबाट निन्दा भइरहेका छन् । मंगलबार नै अमेरिकाको छिमेकी राष्ट्र मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारे कासोले अमेरिकी नीति क्रुर र अमानवीय भएको र त्यसले प्रष्ट रूपमा मानवअधिकारको हनन गरिएको बताएका थिए । अमेरिकाका दुई नेतृत्वदायी व्यापारिक समूह अमेरिकी च्याम्बर अफ कमर्स र बिजनेस राउन्डटेबलले अमेरिकी राष्ट्रपतिको पछिल्लो नीति अमेरिकी मूल्य र मान्यताविरुद्ध भएको बताएका छन् ।

आप्रवासीलाई अमेरिका प्रवेशमा कडाइ गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको यसअघिको निर्णयको खुलेरै समर्थन गरेकी फ्रान्सकी अतिदक्षिणपन्थी नेत्री मरिन ल पेन पनि फ्रान्सेली टेलिभिजनसँग बोल्दै अभिभावकबाट बालबालिका छुट्याउने कदमप्रति आफू सहमत नरहेको बताएकी छन् ।

समाचार एजेन्सी रोयटर्सले गरेको जनमतमा पनि अधिकांश अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो नीतिको विरोध गरेका छन् । मात्र २८ प्रतिशत अमेरिकी नागरिकले भने ट्रम्प नीतिको समर्थन गरेको बिबिसीले जनाएको छ।

ट्रम्प नीतिमा के छ ?

मे महिनामा जारी गरिएको ‘शून्य सहनशीलता’ नीतिअनुसार कागजातविहीन सबै मानिस जसले अमेरिकी सीमा पार गर्छन् उनीहरुलाई आपराधिक मुद्दा चलाइने र जेल पठाइने छ ।

त्यसरी पक्राउ गरिएका आप्रवासीका बालबालिकालाई भने जेल लान नसकिने हुँदा उनीहरुलाई अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले बनाएको बेग्लै सुविधा सम्पन्न ठाउँमा लगिने व्यवस्था नयाँ नीतिमा गरिएको छ ।ट्रम्पअघिको अमेरिकी प्रशासनले भने त्यसरी पक्राउ परेका कागजातविहीन आप्रवासीलाई पहिलो पटक भने अदालतसमक्ष पठाइने गरिएको थियो ।

 

प्रकाशित: ७ असार २०७५ ०२:२५ बिहीबार

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना