अन्तर्राष्ट्रिय

नोबेल पुरस्कार पाए लगतै हानको पुस्तकको माग बढ्यो, साता दिनमै १० लाख प्रति बिक्री

साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान काङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै बिक्री भएको छ।

कोरियाली पुस्तक विक्रेताका अनुसार लघु कथाकार र उपन्यासकार हानकोे म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि उनी विदेशमा परिचित छिन्। उनको ‘द भेजिटेरियन’ अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो।

नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका समेत बनेकी ५३ वर्षीया लेखिकालाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले गत साता जनाएको थियो।

हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उनका कृति र उनको लेखन शैलीबारे सनसनी मच्चिएको छ।

नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूको वेबसाइटहरूमा उनका कृतिहरूको माग ह्वात्तै बढेको थियो। दशौं हजार मानिसहरूले उनका कृतिको माग गर्न थालेपछि बजारमा उनका कृतिहरूको अभाव देखिएको छ।

गत बिहीवारको नोबेल घोषणापछि बुधवार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा बिक्रेता क्योबो, अलादिन र येस २४ ले बताएका छन्।

अनलाइन पुस्तक पसल अलादिनका अनुसार हानले नोबेल पुरस्कार विजयपछि गत वर्षको अब्टुबर १५ सम्मको तुलनामा उनका पुस्तकको बिक्रीमा एक हजार २०० गुणाले वृद्धि भएको छ, साथै, समग्र दक्षिण कोरियाली साहित्यको बिक्रीमा नाटकीय रूपमा वृद्धि भएको छ।

उनलाई सहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणासँगै कोरियाली साहित्यको समग्र बिक्री अघिल्लो वर्षको तुलनामा १२ गुणाले वृद्धि भएको छ।

हालसालै हानले पढेको उल्लेख गरेका जुडिथ शालान्स्कीको ‘इन्भेन्ट्री अफ लस’ र ज्याँ ज्याक रुसोको ‘एटलस डे बोटानिक एलेनटेरियल’ नामक दुई पुस्तकको बिक्री पनि बढेको अलादिनले बताएको छ।

क्योबो बुक सेन्टरले आफूसँग यकिन तथ्याङ्क नभए पनि हानका पुस्तकहरू अन्य नोबेल पुरस्कार विजेताहरूको तुलनामा नाटकीय रूपमा बढी बिक्री भएको जनाएको छ।

हानका पुस्तकहरूको माग पूरा गर्न केही छापाखानाहरूले सप्ताहन्तमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको स्थानीय रिपोर्टहरूले जनाएका छन्। रासस

प्रकाशित: ३० आश्विन २०८१ १४:०१ बुधबार

#nobel prize #han kang