रुसले एकजना बेली डान्सरलाई युक्रेनलाई ५१ डलर चन्दा दिएको र देशद्रोहको अभियोगमा १२ वर्षको जेल सजाय दिएको छ।
अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको हो। युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ।
रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई गत फेबु्रअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ।
पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जल्स गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन्। उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन्।
खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभले बताए।
सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीहरूलाई अपराधीकरण गर्ने कानून पारित गरेको छ। त्यसयता रुसले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न निशाना बनाएको भन्दै चिन्ता बढेको छ। रासस
प्रकाशित: ३२ श्रावण २०८१ ०८:१४ शुक्रबार