अन्तर्राष्ट्रिय

चीनसँग खुलेर वार्ता गर्ने भारतको प्रस्ताव

बेइजिङ – भारतले एकआपसमा खुलेर वार्ता गर्ने प्रस्ताव चीनसँग राखेको छ। चीनका लागि भारतीय राजदूत गौतम बंबावलेले भारत र चीनले आपसमा खुलेर सम्वाद गर्नुपर्ने बताएका हुन्। भविष्यमा दोक्लमजस्ता सीमा विवाद नआओस भनेर गौतमले वार्तामा जोड दिएका हुन्।

साउथ चाइना मर्निङ पोस्टलाई अन्तर्वार्ता दिँदै उनले गतवर्ष करिब दुई महिनासम्म दोक्लममा दुई देशका सेना आमने सामने हुँदा राजनीतिक स्तरमा दुबै पक्षबीच सम्वाद भएको तर सेनाबीच सम्वाद सुरु नभएकाले वार्तामा जोड दिएका हुन्।

उनले भने– ‘तर मलाई लाग्छ कि दुबै देशका सेनाबीच पनि वार्ता सम्वाद सुरु हुनुपर्छ। अहिलेसम्म पूर्ण रुपले सुरु हुन सकेको छैन्।’ उनले दोक्लममा चीनकै कारण तनाव भएको दाबी गर्दै भारतले सेना खटाएर प्रतिक्रिया दिएको दाबी गरे।

शान्ति, स्थिरता कायम राख्न र दुबैले भविष्यमा यस्तो स्थितीबाट बच्ने प्रयास गर्नुपर्ने उनको भनाई छ।

आगामी जुन ९–१० मा चीनको संघाई कोपरेशन अर्गनाइजेशनको सम्मेलनमा प्रधानमन्त्री नरेन्द्री मोदी सहभागी हुन बेइजिङ आउने तयारी भइरहेका बेला भारतीय राजदूतले वार्ताको प्रस्ताव अघि सारेका हुन्।

सम्मेलनका दौरान मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यक्रम छ।

प्रकाशित: ११ चैत्र २०७४ ११:५४ आइतबार