इस्लामावाद – पाकिस्तानको राष्ट्रिय दिवसमा आयोजित परेडमा पहिलोपटक भारत सहभागी भएको छ।
राष्ट्रिय दिवसमा पाकिस्तानका राष्ट्रपति ममनून हुसैनदेखि विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलसम्मले भारतको कडा आलोचना गरेका बेला त्यहाँको सेनाले भने भारतलाई आमन्त्रण गरेर सम्बन्ध सुधारको सन्देश दिएको हो।
पाकिस्तानले हरेक वर्ष २३ मार्चमा नेशनल डे अर्थात राष्ट्रिय दिवस मनाउँदै आएको छ। यसपटक ७८ औं एकता दिवसमा पाकिस्तानी सेनाले दुई देशबीचको सम्बन्ध सुधार्नका लागि परेडमा भारतीय सेनालाई सहभागी गराएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इस्लामाबाद परेड मैदानमा आयोजित पाकिस्तानी सेनाको परेडमा भारतीय उच्च आयोगका राजनीतिक र अन्य अधिकारीलाई पनि आमन्त्रण गरिएको थियो।
पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाको निर्देशनमा भारतीय सेनालाई परेडमा सहभागिताका लागि आमन्त्रित गरिएको थियो।
दुई देशबीच इतिहासमा पहिलो पटक यस्तो सहकार्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाइएको छ। भारतलाई परेडमा सहभागी गराएर पाकिस्तानले आफूले क्षेत्रीय शान्ति चाहेको सन्देश दिन खोजेको टिप्पणी गरिएको छ।
प्रकाशित: ११ चैत्र २०७४ १०:२२ आइतबार