अन्तर्राष्ट्रिय

हमासको कब्जामा अझै ७९ बन्धक, विपिनको अवस्था पनि अझै अज्ञात

हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिनापछि गाजामा अझै पनि एक सय २० जनालाई राखिएको छ। यद्यपि कति मानिस अझै जीवित छन् भन्ने स्पष्ट छैन।

‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न प्यालेस्टिनी क्षेत्रमा ल्याउँदा मूल दुई सय ५१ मध्ये केही पहिला नै मरिसकेका थिए। अहिलेसम्म एक सय १२ बन्धकलाई जीवितै रिहा गरिएको छ।

इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो।

इजराइली सेनाले हमास लडाकू सम्झेर मारेका तीन बन्धकसहित १९ मृत बन्धकको शवलाई इजराइलले फिर्ता गरेको छ।

इजराइली सेनाका अनुसार गाजामा पछिल्लो समय ४१ बन्धक मारिएका छन्। तीमध्ये अक्टोबर ७ को आक्रमणमा मारिएका २५ मानिस संलग्न छन्। उनीहरूको शवलाई ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न गाजा पट्टी लगिएको इजराइलको भनाइ छ।

यसले गाजामा अझै पनि ७९ बन्धक जीवित रहेको हुनसक्ने देखिन्छ। ती मध्ये ७२ इजराइली, ६ थाई नागरिक र एक नेपाली रहेका छन्। रासस

प्रकाशित: २३ जेष्ठ २०८१ १०:२३ बुधबार

#isrel #gaza #bipin_joshi #humas