अन्तर्राष्ट्रिय

बेलायत छाड्दै रुसी कुटनीतिज्ञ

लण्डन – रुसी कुटनीतिज्ञले बेलायत छोड्ने तयारी गरिरहेका छन्। उनीहरूलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो। बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय बेलायतले गरेपछि उनीहरुले बुधबारसम्ममा देश छोड्ने तयारी गरिरहेका बताइएको छ।

विष सेवन गराएर एकजना पूर्वरूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास गरेको आरोपमा बेलायतले २३ जनालाई देश निकालाको निर्णय गरेको हो। यसअघि अमेरिका लगायतका देशले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए।

अघिल्लो बुधबार बेलायती प्रधानमन्त्री टेरेसा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन्। पूर्वगुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध हत्या प्रयासमा रुसी कुटनीतिज्ञको हात रहेको बताइएको छ।

प्रकाशित: ७ चैत्र २०७४ ०२:२५ बुधबार