दमास्कस – सिरियाको पूर्वी गुटामा नेतृत्व गरिरहेको देशको दक्षिणी क्षेत्रको मुख्य विद्रोही समूहले युद्धविरामबारे संयुक्त राष्ट्रसंघसँग वार्ता गरिरहेको बताएको छ।
उसले आइतबार समाचार एजेन्सी रोयटर्सलाई युद्धविराम, सहायता र तत्काल स्वास्थ्य उपचार आवश्यक पर्ने मानिसलाई युद्धग्रस्त क्षेत्रबाट बाहिर जान दिने विषयमा संयुक्त राष्ट्रसंघीय प्रतिनिधिसँग वार्ता गरिरहेको बताएको छ।
‘सर्वसाधारण नागरिकलाई सुरक्षाको ग्यारेन्टी गर्नेबारेमा हामीहरु गम्भीर वार्ताको तयारी गरिरहेका छौं,’ पूर्वी गुटा क्षेत्रमा सरकारी फौजसँग लडिरहेको इस्तानबुल आधारित विद्रोहीको एउटा घटक फैलाक अल–रहमानका प्रवक्ता वाइल अल्वानले जारी गरेको अडियो विज्ञप्तिमा जनाइएको छ।
‘वार्ताको महत्वपूर्ण बुँदामा युद्धविराम, सर्वसाधारण नागरिकका लागि सहायता र घाइते र स्वास्थ्य उपचार आवश्यक रहेका सर्वसाधारण नागरिकलाई गुटा बाहिर जान दिने विषय रहेका छन्,’ अडियो विज्ञप्तिमा जनाइएको छ। प्रवक्ता अल्वानले गुटाबाट बाहिर जान दिने वा जाने विषय भने अझै वार्ताको टेबलमा पेश नभइसेको पनि बताएका छन्।
सिरियामा विगत एक महिनादेखि जारी सरकार समर्थित फौज र विद्रोही नियन्त्रणमा रहेको राजधानी दमास्कस नजिकैको पूर्वी गुटामा अझै पनि भीषण संघर्ष चलिरहेको छ। पछिल्ला आक्रमणका कारण सरकारी सेनाले विद्रोही नियन्त्रणमा रहेको पूर्वी गुटाको अधिकांश भूभागमा कब्जा जमाइसकेको बताइएको छ। सात वर्ष लामो गृहयुद्धमा सबैभन्दा बढी हताहती भएको गुटालाई सरकारी फौजले तीन भागमा विभाजन गरेर नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। सरकारी सेना र विद्रोहीबीच जारी युद्धका कारण घाइते भएका र तत्काल स्वास्थ्य उपचार आवश्यक भएका केही बिरामीलाई उक्त क्षेत्रबाट बाहिर ल्याइएको छ भने संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले केही सहायता सामग्री पूर्वी गुटाको उत्तरी क्षेत्रमा पु-याउन सफल भए पनि दक्षिणी क्षेत्रमा भने अझैसम्मसहायता सामग्री पु-याउन सकेका छैनन्।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी मामिला समन्वय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिका अनुसार पछिल्लो साता मात्रै करिब २० हजारभन्दा बढी सर्वसाधारण नागरिकले पूर्वी गुटा क्षेत्र छोडेका थिए। जसमध्ये अधिकांश विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी गुटाको दक्षिणी क्षेत्रका रहेका थिए। सिरियाली सेनाले दक्षिणी क्षेत्र नजिकै रहेको हाम्माओरिए नजिकैको कोरिडोर गत साता खोलेका थिए जसले गर्दा सर्वसाधारण नागरिक सामानसहित खाली खुट्टा उक्त क्षेत्र हुँदै युद्धग्रस्त क्षेत्रबाट बाहिरिएका थिए। संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी मामिला समन्वय कार्यालयका अनुसार पूर्वी गुटमा बाँकी रहेका सर्वसाधारण नागरिकको अवस्था अत्यन्तै दयनीय रहेको छ। ‘पूर्वी गुटामा सीमित खाद्यन्नको मौज्जात रहेको छ। साता वा १० दिनदेखि प्रत्येक दिन एउटा पाउरोटीको भरमा सर्वसाधारण नागरिक बाँच्न बाध्य रहेका छन्। त्यसैगरी अपर्याप्त सरसफाई र स्वास्थ्यसम्बन्धी चेतनाका कारण सरुवा रोगको खतरासमेत रहेको छ,’ उक्त कार्यालयले जनाएको छ।
प्रकाशित: ५ चैत्र २०७४ ०६:४९ सोमबार