अन्तर्राष्ट्रिय

बोत्तलका पानीमा प्लास्टिकका कण

तस्बिर : एजेन्सी

लन्डन -  विश्वका अधिकांश क्षेत्रमा पानीको प्यास लागे मानिसले रोज्ने पहिलो र एक मात्र विकल्प प्लास्टिकको बोत्तलमा रहेको पानी हुन्छ। विशेषगरी सहरी क्षेत्रमा पानी प्यास लागे मानिससँग विकल्प भनेको प्लास्टिकका बोत्तलमा रहेका पानी नै हुन्छन्। अझै, मानिसले शुद्ध पानी भन्दै बोत्तलका पानी आफ्नो रोजाइमा राख्ने गरेका छन् तर, बोत्तलका पानीलाई शुद्ध भनेर मान्ने धारणा भने एउटा अनुसन्धानले परिवर्तन गर्ने भएको छ।
 
विश्वका चर्चित बोत्तलका पानीमा गरिएको परीक्षणमा लगभग सबैमा प्लास्टिकका कण भेटिएका छन्। 

विश्वका अधिकांश बोत्तलका पानी उत्पादन गर्ने ठूला ब्राण्डमा गरिएको एउटा विशाल अनुसन्धानमा प्लास्टिकका कण भेटिएका हुन्। विश्वका नौ देशका करिब दुई सय ५० वटा कम्पनीका पानीमा परीक्षण त्यस्तो अनुसन्धान गरिएको थियो। 

पत्रकारितासम्बन्धी एउटा संस्था अर्ब मिडियाले गरेको उक्त अनुसन्धानमा पानीको एक लिटरको बोत्तलमा मानिसको एउटा कपालको केस्रा जत्रै औसतमा १० प्लास्टिकका कण भेटिएको छ।  त्यसरी परीक्षण गरिएका पानी कम्पनीले भने आफूहरुको बोत्तल प्लान्ट्स उच्च स्तरबाट सञ्चालन हुने गरेको बताएका छन्। बोत्तलमा रहेको पानीको यस्तो परीक्षण अमेरिकाको न्युयोर्कस्थित फ्रेडोनियामा रहेको स्टेट युनिभर्सिटीमा गरिएको थियो। 

‘हामीले बोत्तल र ब्राण्ड नै पिच्छे प्लास्टिकका कण भेटेका छौं,’ परीक्षणमा सहभागी भएका र परीक्षणको विश्लेषण गरेका उक्त विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक सेर्री मासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

‘पानीमा गरिएको परीक्षण कुनै पनि पानी उत्पादन गर्ने ब्राण्डमाथि प्रश्न चिह्न उठाउनु हैन।  हाम्रो परीक्षणले त विश्वभरका सबै बोत्तलका पानीमा प्लास्टिकका कण रहेको देखाएको छ।  त्यत्तिमात्रै नभएर यस परीक्षणले प्लास्टिक हाम्रा समाजको व्यापक बस्तु बनेको प्रष्ट भएको छ।  त्यसैगरी हामीले दैनिक रूपमा प्रयोग गर्ने आधारभूत पानीमा समेत पनी व्याप्त रहेको देखाएको छ,’ उनले बताए। 

बोत्तलका पानीमा प्लास्टिकका कण रहेको पत्ता लागे पनि तत्कालका लागि प्लास्टिकका साना कणले मानव स्वास्थ्यमा के कति हानी गर्छ भन्ने विषयमा भने कुनै प्रमाण फेला परेको छैन तर यसको असरका बारेमा भने विज्ञानमा अत्यन्तै सक्रियतापूर्वक अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको अनुसन्धानकर्ताले बताएका छन्। 

बोत्तलका पानीमा गरिएको परीक्षणमाथि प्रतिक्रिया जनाउँदै प्राध्यापक मासनले भने, ‘हामीले पत्ता लगाएको प्लास्टिकका कण महामारी हैन तर सरोकार राख्नुपर्ने विषय भने पक्कै हो।’ 

खुला धाराबाट आउने पानी जुन प्रदुषित हुनसक्छ, त्यस्तो पानी पिउने विकासोन्मुख देशका जनताले भने प्लास्टिकका बोत्तलकै पानी पिउनु पर्ने विज्ञहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

परीक्षणमा नमूना लिइएका पानी कम्पनीले भने आफ्ना उत्पादनले सुरक्षा र गुणस्तरका लागि उच्चस्तर कायम गरेको प्रतिक्रिया जनाएका छन्।  उनीहरुले अति सानो प्लास्टिकका कण पत्ता लगाउने र निरन्तर रूपमा निरीक्षण गर्ने प्रविधि र उच्च तरिकाको परीक्षण विधिको पनि कमी भएको विषयसमेत उठान गरेका छन्। गत वर्ष प्राध्यापक मासनले धाराबाट आउने पानीमा प्लास्टिकका कणको नमूना भेटेका थिए भने अन्य अनुसन्धानकर्ताले भने सामुद्रिक खाना, बियर, सामुद्रिक नुन र हावामा समेत प्लास्टिकका कण भेटेका थिए। 

विश्वमा प्लास्टिकको बढ्दो प्रयोग र यसका असरका बारेमा चिन्ता बढिरहेका बेला आएको यस्तो परीक्षणले पुनः एकपटक मानव स्वास्थ्यसम्बन्धी चिन्ता बढाएको छ। यस परीक्षणको नतिजा सार्वजनिक भएसँगै प्लास्टिकप्रति विश्वको ध्यान पुनः एक पटक आकर्षित भएको छ। 

प्रकाशित: २ चैत्र २०७४ ०३:४९ शुक्रबार