अन्तर्राष्ट्रिय

सिरियाली सेनालाई महत्वपूर्ण उपलब्धी

क्याप्सन : सरकारी सेनाको आक्रमणमा घाइते भएका व्यक्तिलाई उद्धार गरिँदै । तस्बिर : एजेन्सी

दमास्कस– सिरियाको विद्रोही नियन्त्रित प्रमुख पूर्वी गुटा क्षेत्रलाई आफ्नो नियन्त्रणमा फर्काउने प्रयासमा रहेको सरकारी सेनालाई महत्वपूर्ण उपलब्धी हासिल भएको बताइएको छ।

सार्वजनिक भएका विभिन्न रिपोर्टअनुसार सरकारी सेनाले विद्रोही नियन्त्रण रहेको राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटाको दोमा क्षेत्रलाई आफ्नो कब्जामा लिन सफल भएको छ।

त्यसैगरी उसले अर्को महत्वपूर्ण क्षेत्रलाई एक्ल्याउन पनि सफल भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स नामक संस्थालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सरकारी सेनाको प्रयासले अब पूर्वी गुटा क्षेत्रलाई तीन भागमा विभाजन गर्ने निश्चित भएको पनि उक्त संस्थाले बताएको छ । राजधानी दमास्कस नजिकै रहेको विद्रोही नियन्त्रित क्षेत्र, पूर्वी गुटालाई आफ्नो नियन्त्रण ल्याउने उद्देश्यसहित सिरियाली सेनाले गत महिनाबाट आक्रमण थालेको थियो।

सरकारी सेनाले कारबाही सुरु गरेदेखि हालसम्म उसले उक्त क्षेत्रका आधा जति भूभाग विद्रोहीको नियन्त्रणबाट फिर्ता लिइसकेको रिपोर्टहरु सार्वजनिक भएका छन् । करिब एक महिनाभन्दा कम समयमा उक्त क्षेत्रमा सरकारी आक्रमणका काराण अधिकांश बालबालिकासहित नौ सय भन्दा बढी सर्वसाधारण नागरिकले ज्यान गुमाइसकेको बताइएको छ।
पूर्वी गुटामा के भइरहेको छ?
विद्रोही नियन्त्रणमा रहेको पूर्वी गुटा क्षेत्रलाई आफ्नो मातहतमा पुनः फर्काउनका लागि प्रयासरत सरकारी सेनाको मुख्य रणनीति नै उत्तर क्षेत्रलाई अलग अलग गरी विद्रोहीको समर्थन र ढुवानी गर्ने सञ्जाल तोड्नु रहेको छ । बिबिसीका अनुसार उक्त कदममा सरकार अहिले सफल हुँदै गइरहेको छ । सिरियाली सेनाले पूर्वी गुटा कै मिस्राबा सहरलाई पनि विद्रोहीको नियन्त्रणबाट आफ्नो कब्जामा लिइसकेको छ।

मिस्राबा सहर उत्तरमा रहेको दोमा सहर र पश्चिमा रहेको हराष्ट्रा सहर जाने अधिकांश बाटोको सञ्जाल भएको सहर हो । यदि सिरियन अब्जर्भेटरी नामक संस्थाले भने जस्तै सरकारी सेनालाई महत्वपूर्ण उपलब्धी हासिल भएको हो भने विद्रोही नियन्त्रणमा रहेको पूर्वी गुटा सहर तीन भागमा विभाजन भएको छ । उत्तरमा रहेको दोमा र त्यसको वरिपरि, पश्चिमी हराष्ट्रा र दक्षिणमा रहेको बाँकी भूभाग।

सिरियाको राज्य सञ्चालित टेलिभिजनले पनि सरकारी सेनाले पूर्वी गुटमा महत्वपूर्ण सफलता हासिल गरेको र सहरलाई विभाजन गर्न सफल भएको बताएको छ । उता, विद्रोही समूहका एक जना प्रवक्ताले भने समाचार एजेन्सी रोयटर्सलाई, न हराष्ट्रा न त दोमा सहर नै एक्ल्याइएको बताएका छन् । सिरियाली विपक्षीको आधिकारिक वेबसाइटका अनुसार जिहादी हायात ताहरिर अल–सातका लडाकुहरु पूर्वी गुटाबाट केन्द्रीय हामा प्रान्त आइपुगेका छन्।

यसैबीच शुक्रबार संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एउटा समूहका मानिसले पूर्वी गुटामा सहायता सामग्री हस्तान्तरण गर्न सफल भएका छन् । यस अघि उनीहरु सहायता सामग्री हस्तान्तरण गर्न असफल भएका थिए । युद्धग्रस्त पूर्वी गुटा सहरमा करिब चार लाख मानिसको बसोबास रहेको र सात वर्षदेखिको सिरियाली गृहयुद्धका दौरान पहिलो पटक उनीहरुले यस्तो खालको सहायता पाएको बिबिसीले उल्लेख गरेको छ ।
विद्रोही को हुन्?
पूर्वी गुटामा सरकारविरुद्ध लडिरहेको विद्रोही समूह आफैमा भने त्यति सशक्त समूह हैन । उक्त समूहमा जिहादीसहित विभिन्न उससमूहको प्रतिनिधित्व रहेको छ । एक आपसमै लड्न थालेपछि सिरियाली सरकारलाई उनीहरुविरुद्ध लड्न सजिलो भएको अनुमान गरिएको छ । सिरियाली सरकारका विरुद्धमा लडिरहेका दुई ठूला समूहमा जैस अल–इस्लाम र उसको विरोधी फेलाक अल–रहमान रहेका छन्।

उनीहरुले विगतमा हायात ताहरिर अल–सातसहित मिलेर सरकारी सेनाविरुद्ध लडेका थिए । पूर्वी गुटा राजधानी दमास्कस नजिकै रहेको क्षेत्र हो । जसका कारण विद्रोहीले राजधानीको मुटुमा मोटार प्रहार गर्न सकिरहेका थिए । विद्रोहीको मोटार प्रयोगका कारण कैयौं नागरिकको मृत्यु भइसकेको छ ।
 

 

प्रकाशित: २७ फाल्गुन २०७४ ०३:२३ आइतबार