अन्तर्राष्ट्रिय

ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए

उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन्।संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ। जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा सर्वसाधारण मारिने गरेका छन्।

सङ्घीय प्रहरीले सोराईस राज्यमा ती शव फेला पारिएको जनाउँदै अनुसन्धान जारी रहेको बताएको छ। यद्यपि प्रहरीले मृतकको परिचय सार्वजनिक गरेको छैन।

संरक्षित क्षेत्र र सुनखानी वरपर अवैध गतिविधि हुने गरेका छन् भने बेलाबेलामा सशस्त्र झडपसमेत हुने गरेका छन्। सुनखोज्नेसँगको झडपमा परी गत सातामा एक जना आदिवासीसहित पाँच जनाको ज्यान गएको थियो।

भेनेजुएलाको सिमानामा रहेको वन क्षेत्रमा आदिवासी यानोमामीमा अवैध उत्खनन रोक्न र त्यहाँबाट अवैध गतिविधि गर्नेलाई हटाउन सेना र प्रहरीले गत फेब्रुवरीदेखि अभियान सञ्चालन गरेको छ।

सुरक्षाकर्मीलाई समेत आक्रमणको निशाना बनाउँदै आएका आक्रमणकारीले यानोमामीमा बलत्कारलगायत जघन्य अपराध गरेको एक स्थानीय अगुवाले बताएका छन्। 

प्रकाशित: २० वैशाख २०८० १०:५६ बुधबार

ब्राजिल ब्राजिलको आदिवासी क्षेत्र आठ जना मृत फेला