यसैबीच टर्केली नागरिकलाई युरोपभर भिसाबिनै यात्रा गर्न दिइने निर्णयबाट युरोपेली संघ पछि हटेको छ । ग्रिसमार्फत् युरोप छिर्न आतुर शरणार्थीलाई टर्कीले रोक्ने र त्यसबापत टर्केलीहरूलाई युरोप भ्रमणमा सहज पार्ने पक्षमा यसअघि युरोपेली संघ सकारात्मक थियो। यस मामिलामा अझै युरोपेली संसद र सदस्य राष्ट्रले स्वीकृति जनाउनुपर्ने देखिएको भन्दै युरोपेली परिषदले निर्णय गर्न ढिलाइ गरिरहेको छ । यदि टर्कीलाई स्वतन्त्र भिसा नदिइए उसले शरणार्थी नियन्त्रणमा खुकुलो नीति ल्याइ युरोपेली संघलाई नै अप्ठेरोमा पार्ने आशंका युरोपेली राष्ट्रको छ।
युरोपेली संघले तीन महिने भिसा पर्यटन र व्यवसायिक यात्राका लागि मात्र दिन सकिने तर टर्केलीहरूले युरोपमा काम गर्न नपाउने पक्षमा सहमत हुन नसकिने पछिल्लो समय टर्कीलाई सहमत गराउने बिन्दु हुन सक्ने विज्ञहरू बताउँछन्। बेलायत, आयरल्यान्ड र साइप्रसलाई भने टर्केलीलाई यात्रा गर्न दिने बाध्यात्मक अवस्था छैन । पछिल्लो समय टर्कीले ग्रिस पुगिसकेका शरणार्थीलाई आफूले स्वीकार नगर्ने अडान लिँदै यदि त्यसो गर्नुपरे इयुले भिसा स्वतन्त्रताको सुविधा दिनुपर्ने माग राख्दै आएको छ।
टर्की र उत्तरी अफ्रिकाबाट हुलका हुल छिरेका शरणार्थीले युरोपेली संघ (इयु) सम्बद्ध देशलाई राजनीतिक अप्ठेरोमा पारेको छ ।
उता टर्कीमाथि इयुले भने वाक स्वतन्त्रता, राजनीतिक आस्थाका बन्दीमाथि भेदभावबिना सुनुवाइ, अल्पसंख्यकको अधिकार रक्षाका लागि आतंकवादसम्बन्धी नीतिमा संशोधनजस्ता परिवर्तन भए स्वतन्त्र भिसा दिने वा छोटो अवधिको यात्रामा अवरोध नपु¥याउने बताएको छ । यस विषयमा भने टर्कीले कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन । राजनीतिक अस्थिरता बढेसँगै यहाँ धरपकड बढेको छ ।
उता भिसाको मुद्दाले भने इयु टर्कीलाई अझै पनि इयुभित्र समेट्न आनाकानी गरिरहेको र यसले टर्केली आत्मसम्मानमा चोट पु¥याइरहेको केहीको धारणा छ ।
अंकमा टर्की
७.८७ करोड जनसंख्या
११.१% बेरोजगार
२७.५ लाख सिरियाली शरणार्थी दर्ता
१८० देशमध्ये १५१ औं नम्बरमा स्वतन्त्र प्रेस सूचीमा
शरणार्थी घट्दै
१२,३२५ शरणार्थीले मेडिटेरियन क्षेत्र पार गरे
यो संख्या २०१५ को अप्रिलयता ५७% ले कमी हो ।
सत्ताधारीलाई गाह्रो
उता जर्मनीमा भने शरणार्थीकै कारण शरणार्थीविरोधी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी)को लोकप्रियता बढेपछि सत्ताधारी पार्टीलाई नीति परिवर्तन गर्न दबाब बढ्न थालेको छ । तर जर्मन चान्सलर एन्जेला मर्केलले भने मतदाता लोभ्याउन आफूले दबाबमा रहेर काम नगर्ने बताएकी छन् । एएफडीको लोकप्रियता तोड्न आफ्नो पार्टी सिडियुले कडा मिहिनेत गर्नुपर्ने मंगलबार पार्टी बैठकमा बताएको स्थानीय अखबार बिल्डले लेखेको छ । जर्मनीमा ४० लाख मुस्लिम छन्, जुन जनसंख्याको ५ प्रतिशत हुन आउँछ ।
यसरी बढ्दै छन् युरोपमा शरणार्थी
साढे २७ लाख शरणार्थीलाई व्यवस्थापन गरिरहेको टर्कीमा शरणार्थीबारे तनाबको खबर त्यति आउँदैन जति युरोप तातिने गरेको छ। २०१५ मा मात्र १० लाखभन्दा बढी शरणार्थी युरोप छिर्दा त्यहाँ तनावको स्थिति आएको छ । शरणार्थीको बाढीलाई कसरी नियन्त्रण गर्ने र आइपुगेकालाई कसरी पुनर्बास गर्ने भन्ने समस्या युरोपभर देखिएको छ।
युरोपमा शरणार्थीको बाढी समुद्रको बाटो हुँदै आउनेले ल्याएका छन् । टर्की र अल्बानियाको बाटो हुँदै छिर्नेको संख्या बढी छ । गएको डिसेम्बरदेखि फेब्रुअरीसम्मको चिसोले समेत साढे १३ लाख शरणार्थीलाई रोक्न सकेन ।
कुन देशका बढी ?
सिरियाका तर अफगानिस्तान, इराक र इरिट्रियामा बढ्दो संकटका कारण तुलनात्मक रुपमा विकसित युरोपेली मुलुकमा शरणार्थी छिर्ने क्रम बढेको छ । कोसोभोमा व्याप्त गरिबीले समेत त्यहाँका सर्वसाधारण विकसित मुलुक छिर्ने गरेका छन् ।
शरणार्थी कहाँ गइरहेका छन् ?
शरण खोज्दै सजिलो मुलुक छिर्ने क्रम बढ्दो छ । जर्मनीले २०१५ मा सबैभन्दा बढी शरणार्थीलाई अपनायो । त्यहाँ यतिबेला ४ लाख ७६ हजार शरणार्थी छन् । जर्मनीमा सजिलो नीतिका कारण १० लाख बढीले शरणको आवेदन दिएका छन् । दोस्रो बढी शरणार्थी थुप्रिने देशमा हंगेरी पर्छ । उसकहाँ गएको डिसेम्बरसम्म १ लाख ७७ हजार १ सय ३० निवेदन थुप्रिएको छ ।
कसरी आउँछन् ?
इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) ले १० लाख ११ हजार ७ सय समुद्रको बाटो हुँदै युरोप छिरे भने ३४ हजार ९ सय जमिनको बाटो हुँदै युरोप पुगे । यसअघि २०१४ मा २ लाख ८० हजार समुद्रबाट आएका थिए । टर्कीबाट युरोप छिर्ने बाटो ग्रिस हो । अधिकांशले काठ र प्लास्टिकका असुरक्षित साना नाउमार्फत् ग्रिस छिरेका थिए । सोही कारणले केही दुर्घटनासमेत हुन पुग्यो ।
कति खतरनाक छ शरणार्थीको यात्रा ?
आइओएमका अनुसार २०१५ मा मेडिटेरियन समुद्र छिचोल्ने क्रममा ३ हजार ७ सय ७० शरणार्थीको मृत्यु भइसकेको छ । एउटै घटनामा ८ सय जनासम्मको ज्यान गएको अधिकारी बताउँछन् ।
कुन युरोपेली मुलुक सबैभन्दा बढी प्रभावित छ ?
२०१५ मा दिइएको आवेदनअनुसार जर्मनीमा बढी शरणार्थी थुप्रिएको देखिए पनि जनसंख्याको हिसाबले हंगेरीमा बढी शरणार्थी थुप्रिएका छन् । उसले क्रोएसियासँगको सीमा बन्द गरे पनि थुप्रिने क्रम घटेको छैन । तेस्रो नम्बरमा स्विडेन पर्छ, जहाँ प्रति एक लाखमध्ये १,६७७ शरणार्थी थुप्रिएका छन्। जर्मनीमा भने प्रति लाखमा ५८७ र बेलायतमा प्रति एक लाखमा ६० जना शरणार्थीको आवेदन दिनेमा छन् । इयुमा भने औसत २६० शरणार्थी छन् ।
युरोपको प्रतिक्रिया कस्तो छ ?
युरोपेली संघमा तनाब जारी छ । केही देशको जनसंख्या अनुपात नै तलमाथि हुने खतरा बढेको छ । ग्रिस, इटाली र हंगेरीमा यो खतरा देखिएको हो । यही कारण हंगेरीले ५४ हजार शरणार्थी धपाउने योजना बुनिरहेको छ । उता बेलायतले १ हजार सिरियाली शरणार्थीलाई पुनर्बासको योजना २०१५ मा ल्याएको थियो । त्यस्तै आउँदो ५ वर्षमा २० हजार सिरियाली शरणार्थीलाई स्वीकार गर्ने बताइएको छ ।
प्रकाशित: २१ वैशाख २०७३ २२:०५ मंगलबार