अन्तर्राष्ट्रिय

ऋण लागेपछि एक व्यक्तिले पत्नी बिक्रीको सूचना फेसबुकमा राखे

इन्दोर— पूर्वी सभ्यतालाई विवाहलाई जीवनसाथीको औपचारिक समारोह मानिन्छ। विवाहपछि पतीपत्नी रथ रुपि जीवनको दुई पाङ्ग्राको रुपमा हेरिन्छन्। तर अब जमाना त्यस्तो रहेन। भारतमा एक ३० वर्षीय पतिले त्यही पवित्र सम्बन्धलाई लत्याउँदै आफ्नी पत्नी बिक्रीको सूचना फेसबुकमा पोष्ट गरेका छन्।मध्य प्रदेशको खरगोन जिल्लाका स्थायी बासिन्दा ती व्यक्तिविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ। एरोड्रम प्रहरी कार्यालयका प्रहरी अधिकारीका अनुसार फेसबुकमा पत्नी बिक्रीको सूचना राख्ने व्यक्ति दिलीप माली हुन्। उनकी पत्नीको उजुरीमा प्रहरीले महिलालाई अनादर नियतले गरिएको कार्यविरुद्ध मुद्दा उठाएको छ। पत्नीको उजुरीपछि पति दिलीप फरार छन्।

मालीले फेसबुकमा आफ्नी पत्नी तथा दुई वर्षकी छोरीको फोटो अपलोड गर्दै लेखेका थिए, 'मैले जसको पैसा खाएको छु त्यो फिर्ता गर्न चाहन्छु। त्यसैले म मेरी पत्नीलाई एक लाख रुपैयाँमा बेच्न चाहन्छु। यदि कसैलाई किन्नु छ भने मेरो मोबाइल नम्बरमा सम्पर्क गर्नुहोला।' दिलीपले पत्नीको फोटो राखिएको पोष्टसँगै आफ्नो मोबाइल नम्बर पनि दिएका थिए।

दिलीपकी पत्नीले ६ मार्चमा एक नातेदारबाट आफ्ना पतिको हर्कत थाहा पाएकी थिइन्। पतिको व्यवहारबाट आक्रोतिस बनेकी उनले त्यसपछि प्रहरीमा उजुरी दिएकी थिइन्। उनले आफू र आफ्नी छोरीको बद्नाम गर्दै फेसबुकमा आपत्तिजनक पोस्ट गरेको उजुरीमा उल्लेख गरेकी छन्। प्रहरीमा दिएको उजुरीअनुसार दिलीप र ती महिलाबीच तीन वर्षअघि विवाह भएको थियो। विवाहपछि दुवै इन्दोर बस्दै आएका थिए। दिलीपले यो क्रममा केही व्यक्तिबाट ऋण लिएका थिए। साहुको डरले दिलीप इन्दोर छोडेर आफ्नो स्थायी गाउँ खरगोन गएका थिए। त्यसपछि श्रीमतीले पनि इन्दोरको भाडाको घर खाली गरिदिएकी थिइन्। उनी आफ्नी दुई वर्षे छोरीका साथ मायकेमा बस्दै आएकी थिइन्।

प्रकाशित: २४ फाल्गुन २०७२ ०७:१० सोमबार