अन्तर्राष्ट्रिय

जहाज उडाइरहेका पाइलटको अाकाशमै मृत्यु

सिरेकस (न्युयोर्क)— अमेरिकन एयरलाइन्सको जहाज उडाएर फोनिक्सबाट बोस्टन लैजादै गरेका एक जना पाइलटको आकाशमै मृत्यु भएको छ। फ्लाइट ५५० जहाजमा १४७ जना यात्रु रहेका थिए।

स्थानीय समयअनुसार बिहान ८ बजे बोस्टन विमानस्थल पुग्ने तालिका अनुसार स्काइ हर्बर अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उडेको थियो। ककपिटमै पाइलटको मृत्यु भएपछि सहायक पाइलटले बिहान ७ बजे न्युयोर्कको सिरेकसमा जहाजलाई सुरक्षित अवतरण गराए।

जोर्डन निवासी ५७ वर्षीय माइकल जोन्स्टोन २५ वर्षदेखि जहाज उडाउँदै आएका थिए। मृतक जोन्स्टोनकी श्रीमतीले हृदयघाटका कारण मृत्यु भएको हुनसक्ने बताएकी छिन्। सन् २००६ मा उनको मुटुको डबलवाइपास सर्जरी गरिएको थियो। त्यसयता उडानका लागि स्वास्थ्य ठिक भए नभएकोबारे ६ घन्टा अघि स्वास्थ्य जाँच गर्दै आएका थिए।

प्रकाशित: १९ आश्विन २०७२ ०१:२२ मंगलबार