स्वास्थ्य

सुत्केरी र नवजात शिशुलाई स्ट्रेचरमै बोकेर जब स्वास्थ्यकर्मी दौडिए...

बाटोमै सुत्केरी स्याहार्दै सिनियर अनमी तृपना पुनमगर लगायतका महिलाहरु । तस्बिरः सिनियर अनमी तृपना पुनमगर ।

थवाङ १ बिवाङकि ३५ वर्षीया जुनकुमारी बिकलाई बिहान उज्यालो नहुँदै पेट दुख्न थाल्यो । उनले साथी गुहारिन् । छिमेकीले एम्बुलेन्स बोलाउन खोजे तर अन्य बिरामी लिएर एम्बुलेन्स बाहिर गएकाले त्यो सम्भव थिएन। थवाङ आसपासमा तत्काल अन्य सवारी साधन उपलब्ध भएनन् । अस्पताल उनको घरबाट अलि टाढै थियो ।

त्यतिन्जेल उनलाई सुत्केरी व्यथा लाग्न थालिसकेको थियो । थवाङ कै ठुलो गाउँमा रहेको अस्पताल पुग्न एकडेढ घण्टा पैदल हिड्नुको विकल्प थिएन । ‘बिहान ६ बजे देखि पेट दुख्न थालेको थियो । हिँडेर भए पनि अस्पताल पुग्ने भनेर ७ बजेतिर साथीहरू सँग निस्के ।’ नागरिकसँग कुरा गर्दै सुत्केरी जुनकुमारीले भनिन् ‘एक घण्टा पनि हिँडेको थिएनौ बाटैमा बच्चा जन्मिहाल्यो ।’

उता थवाङ ठुलो गाउँमा रहेको अस्पतालमा सुत्केरी ल्याउने साधन नभएका कारण हिँडेर आउन थालेको खबर पुगिसकेको थियो । थबाङ आधारभूत अस्पतालका इन्चार्ज राजकुमार बुढा मगर र सिनियर अनमी तृपना पुनमगर स्ट्रेचर बोकेर सुनकुमारी लिन दौडिए । तर आधि बाटो पुग्न नपाउँदै बिचमै बच्चा जन्मी सकेको थियो । 

‘हामी आधि बाटो पुगेका थियौ । बच्चा जन्मिसकेको रैछ ।’ सिनियर अनमी तृपना पुनमगरले भनिन् ‘बाटो मै नाभि काटेर स्टेचरमा राखी अस्पताल ल्यायौ ।’ उनका अनुसार व्यथा लागेको एक डेढ घण्टा मै बच्चा जन्मिएको थियो । थबाङ आधारभूत अस्पतालका इन्चार्ज राजकुमार बुढामगर र सुनकुमारीका साथीहरू स्टेचरमा सुत्केरी बोकेर अस्पताल दौडिए । अलि तल आउँदा स्थानीय युवाले पनि उनीहरूलाई स्ट्रेचर बोक्न सहयोग गरे ।

सुत्केरीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजादै स्वास्थ्यकर्मी राजकुमार लगायतका स्थानिय महिलाहरु । तस्बिरः सिनियर अनमी तृपना पुनमगर ।

‘बिरामी हिँडेर आउँदै हुनुहुन्छ भनेर बिहान कार्यपालिका सदस्य बन्दना बिकको फोन आयो । नर्सिङ स्टाफलाई फोनबाट डेलिभरीका सामाग्री प्याक गर्न लगाए । घर देखि बाइकमा अस्पताल आएर अलि पर सम्म सिनियर अनमि र म बाइक मै गयौ ।’ थबाङ आधारभूत अस्पताल इन्चार्ज राजकुमार बुढाले नागरिकसँग भने ‘बाइक अगाडी नजाने भएका कारण सुत्केरी सामाग्री र स्ट्रेचर बोकेर पैदल दौडियौ ।’

२० मिनेट जति पैदल हिँडे पछि सुत्केरी भेटिइन् । वरपरका आमा समूहका महिलाहरु जम्मा भइसकेका थिए । ‘आमा बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो थियो । नाभि काटेर त्यही पहिलो स्तनपान गरायौ । अब अस्पताल जानै पर्ने थियो । सबै महिला मात्र । सुत्केरीलाई स्टेचरमा राखेर मैले अगाडी तिर बोके अरु महिलाले पछाडि तिर बोकेर हिँड्यौ ।’ 

बाटो मै छिमेकी महिला सुत्केरी भएको हल्ला चलेपछि स्थानीय पुरुषहरू दौडिएर स्वास्थ्यकर्मीलाई भेट्न आएछन् । ‘ढिला नगरौँ भन्ने सोच राखेर म आफै बोकेर हिँडिहाले । गाह्रो भएर खोला छेउमा बिसाएका थियौ स्थानीय पुरुषहरू आइपुग्नु भयो,’ राजकुमारले भने ‘अहिले आमा बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । थवाङमा कहिले काँही यस्ता घटना हुन्छन् र यस्ता सेवा हामीले गरिरहन्छौ ।’

सुत्केरीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजादै स्वास्थ्यकर्मी राजकुमार लगायतका स्थानिय महिलाहरु । तस्बिरः सिनियर अनमी तृपना पुनमगर ।

उनका अनुसार यो वडामा घरमै सुत्केरी गराउनेको संख्या शून्य छ । ‘गत वर्ष एउटा होम डेलीभरि थियो । अहिले छैन । हामी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने तयारीमा छौ । त्यसैले हामी टोल टोलमा पुगिरहेका छौ । जानकारी दिएका छौ ।’ सिनियर अनमि तृपनाका अनुसार सुनकुमारीले गर्भजाँच लगायतका सबै सेवा लिनुभएको थियो तर बाध्यताले यदाकदा घरमा हुने गरेको छ । सुनकुमारीका योभन्दा अगाडी १ छोरा र २ छोरी छन् । सोमबार उनले अर्को छोरालाई जन्म दिएकी हुन् । 

आज पनि दुर्गममा स्वास्थ्य संस्थाको सहज पहुँच नहुनु, सडक सञ्जालले गाउँ छोए पनि दीर्घकालीन सञ्चालनमा नआउनुले धेरै सुत्केरीले समस्या झेल्ने गर्दछन् । थवाङको यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटनाहरू समय/समयमा भइरहन्छन् । यद्यपि रोल्पामा संस्थागत सुत्केरीको अवस्था सन्तोषजनक छ ।

प्रकाशित: ३० असार २०८२ १५:४१ सोमबार

#NagarikNews #NepaliNews #HealthNews