जलन भएपछि तत्काल अपनाइने सही प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन्। नेपालमा जलनसम्बन्धी पर्याप्त जनचेतनाको अभावका कारण धेरै अवस्थामा प्राथमिक उपचार नै गलत हुने गरेको भन्दै विज्ञहरूले वैज्ञानिक विधिअनुसार उपचार गर्न आग्रह गरेका छन्।
इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउनु र त्यसपछि छिटोभन्दा छिटो सही प्राथमिक उपचार गर्नु अत्यावश्यक हुन्छ।
उनका अनुसार शरीरमा आगो लागेको अवस्थामा व्यक्ति एक्लै भए ‘स्टप, ड्रप एन्ड रोल’ (रोकिने, भुइँमा पल्टिने र लडिबुडी गर्ने) विधि अपनाएर आगो निभाउन सकिन्छ। साथै, बाक्लो कपडा, जुटको सामग्री वा सजिलै आगो नलाग्ने ब्ल्यांकेटलाई पानीमा भिजाएर आगो निभाउन सकिने भए पनि त्यसक्रममा थप जलन नहोस् भन्नेमा सावधानी अपनाउनुपर्ने उनले बताए।
चिसो बग्ने पानीले तत्काल शीतल बनाउनुहोस्
आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा भए जलेको भागमा कम्तीमा २० देखि ३० मिनेटसम्म सामान्य तापक्रमको बगिरहेको चिसो पानी हाल्न चिकित्सकको सुझाव छ। जलेको भागलाई पानीमा डुबाउनेभन्दा माथिबाट पानी बगाउनु उपयुक्त हुने डा. धिताल बताउँछन्। यदि धारा उपलब्ध नभए माथिबाट पानी खन्याएर पनि प्राथमिक उपचार गर्न सकिन्छ।
चिकित्सकका अनुसार फ्रिजको अत्यधिक चिसो पानी, तातो पानी वा बरफ भने प्रयोग गर्नु हुँदैन, किनकि यसले छालामा थप क्षति पुर्याउन सक्छ।
जलेको भाग सफा राखेर छोप्नुहोस्
यदि जलेको स्थानमा फोका नउठेको छ भने हल्का साबुन र पानीले बिस्तारै सफा गर्न सकिन्छ। त्यसपछि जलेको भागलाई सफा, टाँसिने नहुने (स्टेराइल, नन–स्टिक) पट्टी वा सफा कपडाले छोप्नुपर्छ। यसले संक्रमणको जोखिम कम गर्न सहयोग गर्छ।
तर शरीरमा जलेर टाँसिएका कपडा भने जबरजस्ती निकाल्न नहुने डा. धितालको भनाइ छ। त्यसो गर्दा छाला थप च्यातिने र घाउ गहिरिने जोखिम रहन्छ।
बिरामी सचेत भए पानी खुवाउनुहोस्
जलनपछि शरीरबाट तरल पदार्थको मात्रा तीव्र रूपमा घट्ने भएकाले बिरामी सचेत छ र खान–पिउन सक्ने अवस्थामा छ भने विस्तारै पानी खुवाउन चिकित्सकको सुझाव छ।
डा. धितालका अनुसार छालाले शरीरभित्रको पानी र तरल पदार्थ जोगाउने प्राकृतिक सुरक्षा कवचको काम गर्छ। जलनका कारण छाला क्षतिग्रस्त भएपछि शरीरमा पानीको कमी हुन थाल्ने भएकाले पर्याप्त तरल पदार्थ आवश्यक पर्छ।
कहिले तुरुन्त अस्पताल जाने ?
जलेको भाग ठूलो छ, अनुहार, हात, खुट्टा वा संवेदनशील अंगमा जलन भएको छ, बिरामी बेहोस छ, वा संक्रमणका लक्षण देखिएका छन् भने ढिलाइ नगरी स्वास्थ्य संस्था वा अस्पताल पुग्न चिकित्सकले आग्रह गरेका छन्। प्राथमिक उपचारपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो उपचारका लागि लैजानुपर्छ।
यी गल्ती कहिल्यै नगर्नुहोस्
चिकित्सकहरूले जलन भएको स्थानमा घिउ, तेल, मलम, टूथपेस्ट, विभिन्न घरेलु पदार्थ वा बरफ सिधै लगाउने चलन वैज्ञानिक नभएको र यसले संक्रमण तथा थप क्षति निम्त्याउन सक्ने चेतावनी दिएका छन्। साथै, फोका उठेको छ भने त्यसलाई फुटाउनु पनि हुँदैन।
डा. धितालका अनुसार प्राथमिक उपचारले प्रारम्भिक क्षति कम गर्न मद्दत गरे पनि गम्भीर जलनको अन्तिम उपचार भने चिकित्सकीय सेवामै सम्भव हुन्छ।
हालै आत्मदाहका क्रममा गम्भीर घाइते भएका राइड शेयरिङ श्रमिक गणेश नेपालीको घटनामा पनि जलनपछि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचारबारे जनचेतनाको अभाव देखिएको भन्दै विशेषज्ञहरूले सही प्राथमिक उपचारबारे व्यापक जनसचेतना आवश्यक रहेको बताएका छन्।
प्रकाशित: २६ असार २०८३ २०:३५ शुक्रबार