पेटको तल्लो दायाँ भागमा हुने अचानकको तीव्र दुखाइलाई धेरैले ग्यास वा सामान्य पेट दुखाइ ठान्छन्। तर यही लक्षण एपेन्डिक्स (Appendicitis) को संकेत पनि हुन सक्छ। समयमै पहिचान र उपचार नगरेमा यो समस्या जटिल बन्न सक्छ।
एपेन्डिक्स के हो?
एपेन्डिक्स ठूलो आन्द्रासँग जोडिएको सानो नलीजस्तो अंग हो। जसलाई वैज्ञानिक रूपमा Appendicitis भनिन्छ जब त्यो सुन्निन्छ। यसको ठ्याक्कै काम के हो भन्नेबारे स्पष्ट निष्कर्ष छैन, तर शरीरको रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित भूमिका हुने विश्वास गरिन्छ।
किन हुन्छ एपेन्डिक्सको समस्या?
एपेन्डिक्स भित्र फोहोर पदार्थ, संक्रमण वा कडा मल (फेकालिथ) अड्किँदा भित्र सुन्निने प्रक्रिया सुरु हुन्छ।
यसका मुख्य कारण
ब्याक्टेरियल संक्रमण
आन्द्रामा अवरोध
कहिलेकाहीँ भाइरल संक्रमण
समयमै उपचार नभएमा एपेन्डिक्स फुट्ने (रप्चर) जोखिम हुन्छ, जसले पेटभित्र गम्भीर संक्रमण फैलाउन सक्छ।
कसरी थाहा पाउने ?
एपेन्डिक्सको लक्षण अचानक देखिन सक्छ। सबैलाई एकै खालको लक्षण नदेखिन पनि सकिन्छ ।
प्रायः देखिने संकेत
पेटको बीच भागमा सुरु भएर दायाँ तल्लो भागमा सर्ने दुखाइ
हिँड्दा, खोकी लाग्दा वा थिच्दा दुखाइ बढ्नु
वाकवाकी लाग्नु वा बान्ता हुनु
ज्वरो आउनु
भोक कम लाग्नु
कब्जियत वा पखाला
दुखाइ ६–२४ घण्टाभित्र तीव्र हुँदै जान सक्छ। विशेषगरी दायाँ तल्लो पेटमा चर्को दुखाइ भए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।
कसरी पुष्टि गरिन्छ?
डाक्टरले शारीरिक परीक्षणपछि आवश्यक परेमा, रगत परीक्षण, अल्ट्रासाउन्ड, सिटी–स्क्यानजस्ता परीक्षणमार्फत पुष्टि गर्छन्।
उपचार के हुन्छ?
एपेन्डिक्सको मुख्य उपचार शल्यक्रिया (अपरेशन) हो। सुन्निएको एपेन्डिक्स हटाउने प्रक्रियालाई Appendectomy भनिन्छ। यो दुई तरिकाले गरिन्छ पहिलो खुला शल्यक्रिया र अर्को ल्याप्रोस्कोपिक (सानो प्वालबाट गरिने आधुनिक प्रविधि)
अधिकांश अवस्थामा अपरेशन सुरक्षित र सफल हुन्छ। सामान्यतया बिरामी केही दिनमै घर फर्कन सक्छन्। प्रारम्भिक अवस्थामा केही केसमा एन्टिबायोटिकबाट पनि नियन्त्रण गर्ने प्रयास गरिए पनि स्थायी समाधान भने शल्यक्रियालाई नै मानिन्छ।
एपेन्डिक्स किन खतरनाक बन्न सक्छ?
एपेन्डिक्स सुन्निँदा भित्र पस जम्मा हुन थाल्छ। उपचार ढिला भएमा यो फुट्न सक्छ। एपेन्डिक्स फुटेपछि पेटभित्र संक्रमण फैलिने खतरा हुन्छ, जसलाई पेरिटोनाइटिस भनिन्छ। यो अवस्था ज्यानका लागि जोखिमपूर्ण मानिन्छ।
अन्य सम्भावित जटिलताहरू:
पेटभित्र फोको (एब्सेस) बन्नु
आन्द्रामा अवरोध
सेप्सिस (रगतमार्फत संक्रमण फैलिनु)
दीर्घकालीन पेट दुखाइ
विशेषगरी बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा जटिलता चाँडो देखिन सक्छ।
एपेन्डिक्सको समस्या प्रायः १० देखि ३० वर्ष उमेर समूहमा बढी देखिन्छ। तर जुनसुकै उमेरमा पनि हुन सक्छ।
अपरेसनपछिको संक्रमण: कति जोखिम हुन्छ?
एपेन्डिक्सको अपरेशन सामान्यतया सुरक्षित मानिए पनि संक्रमणको जोखिम शून्य भने हुँदैन। विशेषगरी एपेन्डिक्स फुटिसकेको अवस्थामा गरिएको शल्यक्रियामा संक्रमणको सम्भावना बढी हुन्छ।
अपरेसनपछिका सम्भावित जोखिम:
घाउको संक्रमण (सर्जिकल साइट इन्फेक्सन)
पेटभित्र पुनः संक्रमण
ज्वरो लामो समयसम्म रहनु
घाउ सुन्निनु, रातो हुनु वा पस बग्नु
दुर्लभ अवस्थामा आन्द्रा टाँसिने समस्या (एड्हिजन)
सामान्य अवस्थामा घाउको संक्रमणको जोखिम कम (करिब २–५ प्रतिशत) हुन्छ। तर एपेन्डिक्स फुटेको अवस्थामा यो जोखिम १० प्रतिशत वा सोभन्दा माथि पुग्न सक्छ।
संक्रमणबाट जोगिन के गर्ने?
चिकित्सकले दिएको एन्टिबायोटिक पूरा मात्रामा सेवन गर्ने
घाउ सुक्खा र सफा राख्ने
अत्यधिक भारी काम केही हप्ता नगर्ने
ज्वरो, अत्यधिक दुखाइ वा पस देखिए तुरुन्त अस्पताल जाने
एपेन्डिक्स सामान्य देखिए पनि ढिला गर्दा गम्भीर बन्न सक्छ। लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउनु नै सुरक्षित उपाय हो। अपरेशनपछि पनि चिकित्सकीय सल्लाह पालना गरेमा संक्रमणको जोखिम न्यून गर्न सकिन्छ।
प्रकाशित: १५ फाल्गुन २०८२ १६:४६ शुक्रबार