नेपालमा पछिल्लो समय मानिसहरूमा ‘भिटामिन डी’ को कमी एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ।
शरीर दुख्ने, मांसपेसी गलेको महसुस हुने वा थकान लाग्ने समस्या लिएर अस्पताल पुग्ने अधिकांश बिरामीमा परीक्षण गर्दा ‘भिटामिन डी’ को कमी पाइएको चिकित्सकहरूले बताएका छन्।
सामान्यतया जीउ वा जोर्नी दुखेपछि मात्र अस्पताल पुग्ने बानी परेका नेपालीहरूमा भिटामिन डीको कमीले निम्त्याउने दीर्घकालीन र जटिल रोगबारे भने कमै जानकारी रहेको पाइन्छ।
समयमै पहिचान भएमा औषधिको प्रयोग र जीवनशैली सुधारबाट यो समस्या निको हुन्छ, तर बेवास्ता गर्दा यसले हड्डी र प्रतिरक्षा प्रणालीमा गम्भीर असर पुर्याइरहेको छ।
९० प्रतिशत बिरामीमा भिटामिन डीको कमी
चिकित्सकहरूका अनुसार अस्पतालमा अन्य रोगको शंकामा परीक्षण गराउन आउने बिरामीहरूमा पनि भिटामिन डीको कमी देखिनु सामान्य भइसकेको छ।
बाथरोग विशेषज्ञ डा. अन्जल बिष्टका अनुसार जीउ दुख्यो वा थकाइ लाग्यो भन्दै जचाउन आउने धेरैजसो बिरामीमा अन्य रोगसँगै भिटामिन डीको कमी पनि देखिएको छ।
‘हामीले थाइराइड वा मधुमेह जस्ता रोगको शंकामा परीक्षण गराउँछौँ,’ डा. बिष्टले भने, ‘तर परीक्षण गराएकामध्ये करिब ९० प्रतिशतमा भिटामिन डीको कमी भएको समस्या भेटिन्छ।’
यस्तै, सिभिल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. अंकित निरौला पनि परीक्षण गराउनेहरूमा भिटामिन डीको कमी साझा समस्याको रूपमा देखिएको बताउँछन्।
‘सुरुवाती चरणमा सामान्य लाग्ने यो समस्याको लामो समय उपचार नगर्दा पछि गएर खुट्टा बाङ्गो हुने, हड्डी खिइने जस्ता जटिल समस्या लिएर बिरामीहरू आउने गरेका छन्,’ डा. निरौलाले भने।
नेसनल बाथरोग सेन्टरले सन् २०२०/२१ मा गरेको एक अध्ययनले नेपालीहरूमा भिटामिन डीको अवस्था चिन्ताजनक रहेको देखाएको छ।
सेन्टरका बाथरोग विशेषज्ञ डा. सुधिर कर्मचार्यका अनुसार सामान्यतः स्वस्थ व्यक्तिको शरीरमा भिटामिन डीको मात्रा ३० (एनजी/एमएल) भन्दा माथि हुनुपर्छ। तर, अध्ययनका क्रममा अधिकांश नेपालीमा यो मात्रा १६, १७ देखि २० को हाराहारीमा मात्र देखिएको छ।
कतिपयमा त यो मात्रा १० भन्दा पनि कम पाइएको डा. कर्मचार्यले जानकारी दिए।
‘नेपालीमा देखिएको भिटामिन डीको यो स्तर अत्यन्त न्यून हो,’ डा. कर्मचार्यले भने, ‘अहिले नेपालमा बाथरोगका बिरामी बढ्नुको एउटा मुख्य कारण भिटामिन डीको कमी पनि हो।’
असर : हड्डी मक्किनेदेखि प्रतिरक्षा प्रणाली कमजोर हुनेसम्म
भिटामिन डीको मुख्य काम शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राख्नु हो। यसको कमी हुँदा बाथरोग लाग्ने मात्र नभई हड्डी मक्किने, हड्डी बाङ्गो हुने र सामान्य चोटपटकमा पनि हड्डी टुक्रिने जोखिम रहन्छ।
बालबालिकामा भिटामिन डीको कमीले उनीहरूको शारीरिक विकास रोकिने, रिकेट्स (खुट्टा ओ वा एक्स आकारको हुने) र दाँत ढिला आउने जस्ता समस्या देखिन्छन्।
यस्तै, भिटामिन डीको कमीले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउँछ। प्रतिरक्षा प्रणाली कमजोर हुँदा शरीरले बाह्य संक्रमणसँग लड्न सक्दैन भने कहिलेकाहीँ आफ्नै शरीरको प्रणालीलाई नचिनेर आक्रमण गर्न थाल्छ, जसले बाथरोग निम्त्याउँछ।
प्रतिरक्षा कमजोर हुँदा रुघाखोकी, पटक–पटक फ्लु लाग्ने र अन्य संक्रमणजन्य रोगले छिटो आक्रमण गर्ने जोखिम बढ्छ।
किन हुन्छ भिटामिन डीको कमी ?
चिकित्सकहरूका अनुसार भिटामिन डीको सबैभन्दा प्रमुख र प्राकृतिक स्रोत बिहानको सूर्यको किरण हो। जब घामको किरण हाम्रो छालामा पर्छ, शरीरले स्वतः भिटामिन डी उत्पादन गर्छ। तर, बदलिँदो आधुनिक जीवनशैलीका कारण मानिसहरू यो प्राकृतिक स्रोतबाट वञ्चित हुँदै गएका छन्।
प्राचीन समयमा मानिसहरू बिहान घाम ताप्ने गर्थे र खेतीपाती वा बाहिरी काममा बढी सक्रिय हुन्थे। तर, अहिले सहरीकरण, व्यस्त जीवनशैली र इन्डोर (कोठाभित्र बसेर गरिने) पेसाका कारण मानिसहरू घाममा बस्न पाउँदैनन्।
घरभित्रै रहने र घाममा निस्किँदा पनि पूरै शरीर ढाक्ने कपडा लगाउने बानीले छाला घामको सम्पर्कमा आउन पाउँदैन, जसले गर्दा भिटामिन डी बन्न पाउँदैन।
यसबाहेक खानपानमा सन्तुलन नहुनु पनि यसको अर्को कारण हो। भिटामिन डी पाइने खानेकुराहरू जस्तै– पनिर, चिज, पशुपंक्षीको कलेजो, मिर्गौला, अण्डा, माछा, सागसब्जी र काजु–बदामको सेवन पर्याप्त मात्रामा नहुँदा पनि नेपालीमा यसको कमी देखिएको चिकित्सकहरूको भनाइ छ।
यद्यपि, खानेकुराबाट प्राप्त हुने भिटामिन डी घामको तुलनामा निकै कम हुन्छ।
लक्षणहरू
भिटामिन डीको कमी हुँदा सुरुवाती चरणमा सामान्य र पछि जटिल लक्षणहरू देखिन्छन्:
शरीरको मांसपेशी दुख्नु।
खुट्टाको मांसपेशी दुख्नु वा बाउँडिनु।
अत्यधिक थकाइ लाग्नु र आलस्य हुनु।
एकाग्रता घट्नु र मुड परिवर्तन (डिप्रेसनको लक्षण) हुनु।
छिटो–छिटो चिसो लाग्नु वा बिरामी पर्नु।
ढाड, कम्मर र कुम दुख्नु।
गम्भीर अवस्थामा उठ्न/हिँड्न गाह्रो हुने र हड्डी टुक्रिने।
उपचार र बच्ने उपाय
यी लक्षणहरू देखिएमा चिकित्सकको सल्लाहमा रगत परीक्षण गराउनुपर्छ। परीक्षणमा कमी देखिएमा चिकित्सकले निश्चित समयका लागि ‘भिटामिन डी’ को ट्याब्लेट वा क्याप्सुल खाने सल्लाह दिन्छन्।
औषधि उपचारसँगै प्राकृतिक रूपमा भिटामिन डी प्राप्त गर्न चिकित्सकहरूले निम्न सुझाव दिएका छन्:
बिहानको घाम: हरेक दिन बिहानको घाममा २० देखि २५ मिनेट बस्नुपर्छ। घाम ताप्दा शरीरका भागहरू (ढाड, खुट्टा, पेट, छाती) कपडाले नढाकी छालामा सिधै घाम पर्ने गरी बस्नु प्रभावकारी हुन्छ।
खानपान: नियमित खानामा दूधजन्य परिकार (चिज, पनिर), माछा, कलेजो, अण्डाको पहेलो भाग, च्याउ, र हरियो सागपात समावेश गर्नुपर्छ।
सावधानी: चिकित्सकहरूले दिउँसोको चर्को घाममा भने सकेसम्म नबस्न सुझाएका छन्। दिउँसोको घाममा हुने हानिकारक विकिरणले छालाको क्यान्सर हुने जोखिम बढाउँछ। त्यसैले बिहानको कलिलो घाम नै भिटामिन डीका लागि उपयुक्त हुन्छ।
प्रकाशित: ११ मंसिर २०८२ २२:०७ बिहीबार



-1200x560-600x400.jpg)