सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि देशभरका स्थानीय तहमा पठाइएको छ । केही स्थानमा औषधि पुर्याउने काम भइरहेको र कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको उनले बताए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा थापाले भिटामिन ‘ए’ वितरणका लागि करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन हुने जानकारी दिए । त्यस्तै, करिब १० हजार स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि पनि कार्यक्रमको अनुगमन र सहजीकरणमा खटिनेछन् ।
राष्ट्रिय कार्यक्रम भएकाले देशभरका ७५३ वटै स्थानीय तहमा औषधि वितरण गरिनेछ । बालबालिकाको सङ्ख्याका आधारमा स्थानीय तहमा आवश्यक औषधि पठाइएको छ । वितरण केन्द्र कहाँ राख्ने र कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने निर्णय भने स्थानीय तहले आफ्नो आवश्यकता र अनुकूलताअनुसार गर्नेछन् ।
थापाका अनुसार स्थानीय तहले विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सङ्घसंस्थाका भवन तथा अन्य सार्वजनिक स्थानमा वितरण केन्द्र निर्धारण गर्न सक्नेछन् । लक्षित बालबालिकाको सङ्ख्याभन्दा केही बढी भिटामिन ‘ए’ पठाइएको छ । बसाइँसराइका कारण बालबालिकाको सङ्ख्या परिवर्तन हुन सक्ने र वितरणका क्रममा औषधि अपुग हुन सक्ने अवस्थालाई ध्यानमा राखेर थप औषधिको व्यवस्था गरिएको उनले बताए ।
छुटेका बालबालिकाले पनि औषधि पाउने
निर्धारित दुई दिनमा कुनै कारणले औषधि खुवाउन छुटेका बालबालिका पनि सेवाबाट वञ्चित नहुने थापाले बताए । वितरणका क्रममा बाँकी रहेका भिटामिन ‘ए’ नजिकका स्वास्थ्य संस्थामा राखिने र छुटेका बालबालिकालाई त्यहाँबाट औषधि खुवाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।
विशेषगरी सहरी क्षेत्रमा बालबालिकाको वास्तविक सङ्ख्या यकिन गर्न कठिन हुने भएकाले आवश्यकताअनुसार थप औषधि पठाइएको उनको भनाइ छ । ग्रामीण क्षेत्रमा भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई आफ्नो टोलमा रहेका बालबालिकाको सङ्ख्याबारे जानकारी हुने भएकाले औषधि वितरण व्यवस्थापन सहज हुने उनले बताए ।
थापाले अभिभावकलाई आफ्ना बालबालिकाको उमेरअनुसार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन नजिकको वितरण केन्द्रमा लैजान आग्रह गरे ।
पोषण शाखा प्रमुख थापाका अनुसार बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिनु, आँखाको स्वास्थ्य जोगाउनु र कुपोषणसँग सम्बन्धित समस्याको जोखिम घटाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।
विगतमा गरिएको सूक्ष्म पोषण तत्त्वसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा बालबालिकामा भिटामिन ‘ए’ को कमी तथा रतन्धोको समस्या देखिएपछि पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको उनले बताए ।
भिटामिन ‘ए’ आँखालाई स्वस्थ राख्न आवश्यक महत्त्वपूर्ण पोषक तत्त्व हो । यसको कमीले रतन्धोजस्ता समस्या निम्त्याउन सक्छ । त्यसैले बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउँदा यस्ता समस्या रोकथाम गर्न सहयोग पुग्ने थापाको भनाइ छ ।
उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार पाँच वर्षमुनिका बालबालिकालाई वर्षमा दुई पटक भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरिँदै आएको छ । नेपालमा पनि यो कार्यक्रम लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको छ ।
सरकारले बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिमा सूक्ष्म पोषण तत्त्वको वर्तमान अवस्था पत्ता लगाउन राष्ट्रियस्तरको सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको पनि थापाले जानकारी दिए ।
उनका अनुसार सर्वेक्षणमा भिटामिन ‘ए’, आइरन, आयोडिन, जिंक तथा भिटामिन बी–१२ लगायतका सूक्ष्म पोषण तत्त्वको अवस्थाबारे अध्ययन गरिनेछ । रगत तथा पिसाबको परीक्षणमार्फत पोषणको अवस्था पहिचान गर्ने लक्ष्य राखिएको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाले आगामी वर्षमा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न तथा नीतिगत निर्णय लिन सहयोग पुग्ने थापाले बताए ।
बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले अभिभावकलाई निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेको छ ।
प्रकाशित: ९ कार्तिक २०८३ १७:०८ सोमबार