सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटामा रहेकाे विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराए।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले दुवै पदाधिकारीलाई शपथ गराउँदै विश्वविद्यालयको नेतृत्वमा शैक्षिक र प्रशासनिक गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरे।
यसअघि बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेस गरेपछि मन्त्री पोखरेलले नियुक्तिको घोषणा गरेका थिए।
मन्त्री पोखरेलले नियुक्ति प्रक्रिया पूर्ण रूपमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगबाट सम्पन्न भएको बताए। मेडिकल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा योग्यताक्रम निर्धारण गरिएको उल्लेख गर्दै उनले नयाँ नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक गतिविधि सुरु हुने विश्वास व्यक्त गरे।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनअनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था छ।
अनुभवी शिक्षाविद् उपकुलपतिमा
नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका शिक्षाविद् हुन्। उनले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विद्यावारिधि गरेका छन् भने स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्यापन र अनुसन्धानमा योगदान दिँदै आएका छन्।
उनी यसअघि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थापक उपकुलपतिका रूपमा कार्यरत थिए। अक्सफोर्ड विश्वविद्यालयसँग समेत आबद्ध रहेका जोशीले एमडी, एमफिल, पीएचडी लगायतका विभिन्न शैक्षिक उपाधि हासिल गरेका छन्।
स्वास्थ्य प्रशासनका अनुभवी व्यक्ति रजिष्ट्रारमा
रजिष्ट्रारमा नियुक्त डा. भीमबहादुर चन्द स्वास्थ्य सेवा र स्वास्थ्य प्रशासन क्षेत्रमा करिब २५ वर्षदेखि सक्रिय छन्। अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर तथा विद्यावारिधि हासिल गरेका चन्द यसअघि विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यका रूपमा पनि कार्यरत थिए।
बैतडीको पाटन नगरपालिका–१ का स्थायी बासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यका रूपमा समेत योगदान दिएका छन्। स्वास्थ्य नीति, संस्थागत विकास र सेवा व्यवस्थापनमा उनको लामो अनुभव रहेको छ।
प्रकाशित: ३१ असार २०८३ १८:१३ बुधबार