स्वास्थ्य

टिचिङमा भेण्डर प्रिन्ट मेसिनले दिन थाल्यो बिरामीको रिपोर्ट

एकसाता अघिसम्म टिचिङ अस्पताल महाराजगञ्जमा सेवा लिने बिरामीले स्वास्थ्य परिक्षणको रिपोर्ट लिँदा घण्टौं लाइन बस्नु पर्थ्यो। अस्पतालले नयाँ प्रविधिबाट बिरामी आफैंले रिपोर्ट हेर्न र छाप्न मिल्ने मेसिन राखेपछि लाइन वस्नु पर्ने झन्झट सकिएको छ। एकसाता अघिदेखि अस्पतालले बहिरंग विभागका बिभिन्न ठाउँमा भेण्डर प्रिन्ट मेसिन राखेर यो सेवा सुरु गरेको हो।  

काठमाडौं उपत्यकामा बिरामी आफैेले रिपोर्ट हेर्न र प्रिन्ट गर्न मिल्ने मेसिन राख्ने टिचिङ पहिलो सरकारी अस्पताल हो। बिरामीले विभिन्न परिक्षणका लागि तिरेको बिलमा बिरामीको आइडी नम्वर र प्रयोगशालाको क्युआर कोर्ड हुन्छ। मेसिनमा त्यो विल देखाएपछि रिपोर्ट देखाउँछ र प्रिन्टको माग गरेमा प्रिन्ट गर्छ। हाल यो सेवा अस्पतालको बहिरंग विभागका चार ठाउँमा राखिएको अस्पतालका निर्देशक डा.सुवाश आचार्यले जानकारी दिए । यो मेसिनले एक मिनेटमा औसतमा तीन वटा रिपोर्ट प्रिन्ट गर्न सक्छ।  

अस्पतालमा बिरामीको अत्यधिक चापको कारण सेवालाई सहज बनाउन भेण्डर प्रिन्ट सेवा प्रदान गरेको निर्देशक आचार्यले बताए । ‘रिपोर्ट लिन लामो लाइन हुँदा घण्टौ लाइन लाउनु पर्थ्यो, नयाँ मेसिनमा त्यो झंझट पर्दैन’ उनले भने। अस्पतालमा बढ्दो बिरामीको चापलाई  सहज सेवा दिने उद्देश्यले क्यास काउन्टर, रिपोर्टदेखि टिकट काउन्टरको विस्तार र सुधार कार्यक्रम अन्तर्गत दुई वर्षअघि नै प्रस्तावित भेण्डर प्रिन्ट सेवा योजना यो वर्ष मात्र पूरा भएको निर्देशक आचार्यले बताए ।  

उनका अनुसार यो कार्यक्रम सरकारको गत वर्षको बजेटअन्तर्गत यो वर्षदेखि सुरु गर्न सफल भएको हो। हाल चार ठाउँमा राखी नमूना कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेको र आवश्यकता अनुसार थप मेसिन जडान गर्ने योजना रहेको आचार्यले बताए। यसको साथै क्यासलेस काउन्टर पनि प्रविधिमार्फत् काउन्टरको भीडलाई कम गर्ने र सहज सेवा प्रदान गर्ने उद्देश्यले क्यासलेस भुक्तानी सेवा पनि दिने गरी केही दिनमै मेसिन जडान गर्न लागेको अस्पतालका आइटी शाखामा प्रमुख राजन लामिछानेले जानकारी दिए।  

लामिछानेका अनुसार अस्पतालमा भर्ना हुने सात सय जना बिरामीका लागि बिरामीको डिपोजिट संकलन गर्ने उद्देश्यले यो सेवा विस्तार गर्न लागिएको हो। यो सेवाको लागि पनि मेसिनमा बिरामीको आइडी देखाएपछि बैकिङ सेवामार्फत् पैसा संकलन गर्न मिल्नेछ। यो मेसिनको सफ्टवेयर अस्पतालको बैकसँग जडान गरिएको हुन्छ। यी दुवै सेवा दिएमा सेवा लिन आउने बिरामीले प्रत्येक सेवामा लाइन बस्नु पर्ने समस्याबाट मुक्त हुने लामिछाने बताउँछन्। अस्पतालले यस्तो मेसिन थप १६ वटा जडान गर्ने तयारी गरेको छ। अस्पतालको आन्तरिक बजेटबाट सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए। ‘बिरामीलाई धेरैबेर लाइन बस्नु पर्दैन, अस्पताल छरितो सेवा दिन सक्छ,’ उनले भने।  

यस्तो मेसिन हालसम्म भरतपुर क्यान्सर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा चालु रहेको छ । यो अस्पतालमा दैनिक औसत तीन हजार भन्दा बढी बिरामी सेवा लिन आउँछन । अस्पतालले अस्पतालको बिभिन्न भागमा क्यास काउन्टर राखी सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित: ९ कार्तिक २०८२ १७:१४ आइतबार